जेठ ६, काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि चाँडो सिफारिस गर्न संवैधानिक परिषद्लाई आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास भएको लामो समयसम्म पनि प्रधानन्यायाधीशका लागि सिफारिस नभएको भन्दै अधिवक्ता सन्तोष भण्डारीले आइतवार रिट निवेदन दायर गरेका हुन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक परिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ । न्याय परिषदले सर्वोच्च अदालतमा काम गरेका न्यायाधीशमध्ये ३ वर्ष अवधि पुगेका ३ जनाको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । जसमा वरिष्ठतम् न्यायाधीश दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र समशेर जबरा रहेका छन् ।