‘बचतको प्रभावकारी उपाय’ भन्दै एक चिनियाँ बैङ्कले ल्याएको नयाँ योजना अहिले त्यहाँका पुरूषको तारो बन्न पुगेको छ । चाइना मर्चेण्ट बैङ्क (सीएमबी)ले ल्याएको उक्त योजनामा पुरूष ग्राहक खातामा जम्मा हुने तलबलगायतका सबैजसो आम्दानी उनीहरुका श्रीमतीका खातामा स्वतः स्थानान्तरण हुने उल्लेख छ । शेञ्जेन शहरमा मुख्यालय भएको चीनको एक प्रमुख बैङ्क सीएमबीले यो योजनालाई ‘पूँजी सञ्चय गर्ने प्रभावकारी सेवा’ रहेको दाबी गरेको छ । उक्त योजना विवाहित जोडीहरुका लागि ‘समय र ऊर्जा जोगाउने’ बचतको राम्रो उपाय भएको सीएमबीको जिकीर छ ।
तर, कमाएको सबै रकम श्रीमतीको खातामा जम्मा हुँदा आफ्नो आत्मविश्वास र आर्थिक स्वतन्त्रता गुम्ने भन्दै उक्त योजनाको विरोध पनि शुरु भएको छ । चिनियाँ इण्टरनेट सामाजिक सञ्जालका थुप्रै पुरूष प्रयोगकर्ताहरुले विरोधको नेतृत्व लिएका छन् । ‘सीएमबीले ल्याएको यो योजना घोर आपत्तिजनक छ,’ ट्विटरको चिनियाँ प्रतिरुप मानिएको सिना वेइबो वेबसाइटमा एक जनाले पोष्ट गरेका छन् । उक्त वेबसाइटकै अर्का एक पुरूष प्रयोगकर्ताले आफूले दुःखले कमाएको सबै आम्दानी श्रीमतीलाई सुम्पनुपर्ने उक्त योजना ‘पुरूषविरुद्ध ल्याइएको अहिलेसम्मकै सबैभन्दा नृशंस बैङ्किङ सेवा’ हुन पुगेको भन्दै आक्रोश पोखेका छन् । तर, महिलाले भने त्यसको स्वागत गरेका छन् । सिना वेइबोमा ‘गसिप गर्ल इन फाइनान्स’ उपनाममा पोष्ट गर्ने एक जनाले सीएमबीको योजना महिलाका लागि वरदान भएको र पुरूषका लागि निकै ठूलो धक्का हुन पुगेको लेखेकी छन् । सिना वेइबोमा यो विषयलाई लिएर एक हप्ताभित्र १ लाख ७० हजारभन्दा बढी पोष्ट गरिएका थिए ।
परम्परागत रुपमा चीनमा घरेलु वित्तीय प्रबन्धन महिलाले नै गर्दै आए पनि आधुनिकता र खुलापनसँगै यसमा परिवर्तन आएको छ । विशेषगरी युवा चिनियाँहरु आर्थिक रुपमा स्वतन्त्रता खोज्ने भएकाले सीएमबीको योजना आक्रोशको केन्द्र बन्न पुगेको विश्लेषकहरु बताउँछन् ।