कलेज विद्यार्थीले दिनमा डेढ सयपटक स्मार्टफोन चेक गर्छन् !
May 22, 2018
 
र यो पनि
भारतीय कलेज विद्यार्थीले औतसमा दिनमा डेढ सयपटक स्मार्टफोन चेक गर्ने एक अध्ययनले देखाएको छ । अलिगढ मुस्लिम युनिभर्सिटी र इण्डियन काउन्सिल अफ सोसियल साइन्स रिसर्च (आईसीएसएसआर)ले सार्वजनिक गरेको ‘स्मार्टफोन डिपेण्डेन्सी, हेडोनिजम र पर्चेज बिहेभियर : इम्प्लिकेशन्स फर डिजिटल इण्डिया इनिसिएटिभ’ शीषर्कको अध्ययन प्रतिवेदनमा यस्तो भनिएको हो । २० ओटा केन्द्रीय विश्वविद्यालयका २ सयजना विद्यार्थीमाझ गरिएको अध्ययनले यस्तो देखाएको हो ।
‘विद्यार्थीहरूले औसतमा दिनमा डेढ सयपटक आफ्नो मोबाइल चेक गर्ने गरेको पाइएको छ, जसले उनीहरूले स्वास्थ्यका साथै पढाइमा पनि नराम्रो असर गर्न सक्छ,’ प्रतिवेदनमा भनिएको छ । सर्वेक्षणमा सहभागीमध्ये २६ प्रतिशतले आफूले फोन गर्न मात्र स्मार्टफोनको प्रयोग गरेको अभिव्यक्ति दिएका छन् ।
बाँकीले भने सामाजिक सञ्जाल, गूगल सर्च र फिल्म हेर्ने जस्ता मनोरञ्जनात्मक गतिविधिमा मोबाइलको प्रयोग गर्ने गरेको प्रोजेक्ट निर्देशक मोहम्मद नाभेद खानले बताएका छन् । त्यस्तै, कम्तीमा पनि १४ प्रतिशत विद्यार्थीले दैनिक ३ घण्टा वा सोभन्दा कम समय स्मार्टफोन चलाउने गरेका छन् भने ६३ प्रतिशतले दैनिक ४ देखि ७ घण्टा स्मार्टफोन चलाउने गरेको अध्ययनमा पाइएको छ । त्यस्तै, २३ प्रतिशतले दैनिक ८ घण्टा स्मार्टफोन चलाउने गरेको नतीजा आउनु हाम्रा लागि आश्चर्यको कुरा भएको खानले अगाडि भने ।
अध्ययनअनुसार ८० प्रतिशत विद्यार्थीसँग आफ्नै मोबाइल फोन भएको र यसमा एप्लिकेशन हाल्न, फिचर र काम गर्न पनि कम्प्युटरभन्दा सजिलो भएका कारण अधिकांशकोे रोजाइमा स्मार्टफोन राम्रो विकल्प बन्न पुगेको छ । रासस/पीटीआई