ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामान्य मानिसलाई समेत सफल सीईओ बनाउने बानी

May 22, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
सानो बालकलाई तिमी ठूलो भएर के बन्छौं भनेर सोध्दा उसले कस्तो उत्तर देला ? कसैले डाक्टर बन्छु भन्लान् अनि कसैले पाइलट । कसैले इञ्जिनियर अनि कसैले शिक्षक । आफूलाई जे गर्दा खुशी लाग्छ त्यही गर्छु भन्ने उत्तर आउँछ । भविष्यमा म कुनै कम्पनी चलाउँछु वा सीईओ बन्छु भनेर बताउनेको सङ्ख्या हाम्रो परिवेशमा अलि कम नै छ । तैपनि, अहिले सफल भएका सबै सीईओले सानै उमेरमा आफू सीईओ नै बन्छु भन्ने ठानेर राम्रो पढाइ गर्छन् भन्ने आम धारणा छ । सीईओ शक्तिशाली र शिष्ट हुन्छन्, हिम्मतिला हुन्छन्, तिनीहरू बहिर्मुखी हुन्छन् र तिनीहरूको बायोडाटामा कतै केही त्रुटि हुँदैन भन्ने सोच हामीमध्ये धेरैको छ । आफूमा यस्ता गुण नपाउँदा म त सीईओ मटेरियल नै होइन रहेछु भन्ने सोच धेरैको हुन सक्छ । तपाईं पनि यस्तै सोच्नुहुन्छ भने तपाईं पूर्णतः गलत हुनुहुन्छ । अहिले सफल भएका सीईओलाई आफू भविष्यमा सीईओ नै बन्छु भन्ने थाहा नै थिएन भन्छन् ‘द सीईओ नेक्ष्ट डोर’ पुस्तकका लेखकद्वय एलेना बोटेल्हो र किम पावेल । साधारण मानिसहरू पनि सीईओ बन्न सक्छन् । तर, यसका लागि केही बानी भने अपनाउनुपर्छ भन्छन् बोटेल्हो र पावेल । सफल सीईओ बन्न केकस्ता बानीव्यवहार हुनुपर्ने रहेछ भनेर यिनीहरूले अनुसन्धाता संस्था जीएचस्मार्टसँग भएका १७ हजार लिडरशीप एसेसमेण्ट तथ्याङ्कको विश्लेषण गरेका थिए । युनिभर्सिटी अफ सिकागो र कोलम्बिया युनिभर्सिटीका प्राध्यापकहरूसँगको सहकार्यमा थप विश्लेषणका लागि तिनीहरूले २ हजार ६ सय सीईओको तथ्याङ्क लिएका थिए । यस क्रममा हामीजस्तो समान्य मानिसलाई समेत सीईओ बनाउन मद्दत गर्ने चार साधारण व्यवहार फेला परे । ती व्यवहार केके होलान् ? १. निर्णय छिट्टै लिने : तथ्याङ्कअनुसार सफल सीईओहरूमा छिट्टो निर्णय लिने बानी हुन्छ । साधारण मानिसको तुलनामा यिनीहरूको हाई पर्फर्म हुने सम्भावना १२ गुणा उच्च हुन्छ । तत्कालै निर्णय लिन सक्ने बानी किन महŒवपूर्ण छ भन्ने राम्रा उदाहरण हुन् ग्रेहाउण्डका पूर्व सीईओ स्टेभ गोर्म्यान । सन् २००३ मा गोर्म्यानले ग्रेहाउण्डको जिम्मेवारी लिएका थिए । त्यतिबेला कम्पनी घाटामा चलिरहेको थियो । टाट पल्टिने स्थितिबाट भर्खरै बाहिर आएको ग्रेहाउण्डको मातृकम्पनीले ग्रेहाउण्ड बन्द गर्ने योजना बनाइरहेको थियो । शुरूमा गोम्र्यानले कम्पनीलाई कसरी राम्रो बनाउने भन्नेबारे आफ्ना शीर्ष कार्यकारीहरूका योजना सुनिरहे । तर, ती कुनै योजना कार्यान्वयनमा आएनन् । ४ महीनासम्म पनि यस्तै क्रम चलिरहेपछि अब त अति भयो भनेर उनी आफै कम्पनी बचाउन लागि परे । यस क्रममा गोम्र्यान र उनको टीमले विभिन्न तथ्याङ्क केलाए । यसमा अमेरिका र क्यानडाको सेटलाइट नक्सा पनि थियो । उक्त नक्साले देशका सर्वाधिक जनघनत्व भएका स्थानहरू देखाएको थियो । उनले तत्कालै ग्रेहाउण्ड बसको रुट बाक्लो बस्ती भएको क्षेत्रतिर सारे । आफ्नो योजनाले काम गर्छ कि गर्दैन भन्नेमा गोर्म्यान आफैं पनि सुनिश्चित थिएनन् । तर, आए आँप गए झटारो भन्ने उनको रणनीति सफल भयो । गोर्म्यानले सन् २००७ मा ग्रेआउण्ड छाडे । त्यतिबेला कम्पनीले ३ करोड डलर मुनाफा कमाएको थियो । अन्ततः कम्पनी सन् २००३ को मूल्यभन्दा दोब्बर मूल्यमा विक्री पनि भयो । गोम्र्यानले आफ्नो योजना अगाडि बढाउनुको कारण भित्री मनमा सो योजनाले काम गर्छ भन्ने थिएन । कुनै निर्णय नै नगर्नुभन्दा खराब नै भएपनि निर्णय गर्नु राम्रो हुन्छ भन्ने सोच थियो । २. आफ्नो ‘आइडिया’प्रति अरूको समर्थन जुटाउने सफल सीईओ बन्न आफ्ना कर्मचारीलाई काममा ‘इनगेज’ गराइरहन सक्ने खूबी हुनुपर्छ । उनीहरूलाई राम्रो नतीजा दिन प्रोत्साहित पनि गर्नुपर्छ । तर, यो भनेको अरूसँग राम्रो व्यवहार गर्नुजत्तिको सजिलो काम भने होइन । कर्मचारीको चित्त नदुखाउने जाती सीईओ बन्दा कम्पनीलाई उल्टै घाटा हुन सक्छ । अनुसन्धाताका अनुसार यस्तो सीईओले कर्मचारीलाई गुणस्तरीय नतीजा दिन लगाउनेभन्दा उनीहरूले जे गरे पनि हो मात्रै भन्छन् । आफ्ना कुरा/आइडियाप्रति अरूको समर्थन पाउन, अरूलाई यसमा विश्वास गर्न प्रेरित गर्न तीनओटा उपाय अपनाउन सकिन्छ : क)आफ्नो दृष्टि र लक्ष्य अरूलाई प्रष्टसँग भन्नुपर्छ । आफ्नो उद्देश्य के हो भन्नेबारे अरूसामु स्पष्ट धारणा राख्नुपर्छ । ख)लक्ष्य प्राप्त गर्न आफू लाई मद्दत गर्ने मानिस/कर्मचारीहरूको भावनात्मक, आर्थिक र भौतिक आवश्यकता राम्ररी बुझ्नुपर्छ । ग)सम्बन्ध विकासलार्ई दैनिक दिनचर्याको भाग र बानी बनाउनुपर्छ । अमेरिकी बहुराष्ट्रिय स्मार्टफोन निर्माता कम्पनी एप्पल इङ्कका स्वर्गीय सीईओ र संस्थापक स्टिभ जब्सको नाम तपाईंले सुन्नु नै भएको छ । सफल सीईओको अग्रपङ्क्तिमा जब्सको नाम आउँछ । एप्पल बजार पूँजीकरणका हिसाबले विश्वकै ठूलो कम्पनी हो । आफ्ना कर्मचारीलाई व्यस्त राख्न मात्रै होइन उनीहरूलाई नयाँनयाँ प्रडक्ट, आइडिया ल्याउन समेत जब्स सधैं प्रेरित गर्थे । कतिपय मामिलामा त जब्स कर्मचारीप्रति निर्दयी नै थिए भन्छन् कोलम्बिया बिजनेश स्कुलमा व्यवस्थापन विषयका प्राध्यापक बिल्ली पिटर्सन । तर, मानिसहरूले उनको यो अवगुण पनि बेवास्ता गर्थे । किनकि, उनी निकै प्रतिभाशाली थिए । जब्ससँग कुनै ‘ब्रिलियण्ट आइडिया’मा काम गरिरहेको छु भन्ने रोमाञ्चकता र उत्साहमा उनको क्रुरतालाई बिर्सिदिन्थे । ३. सधैं समान नतीजा दिने सधैं एउटै खालको नतीजा दिने र हरेक योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने सीईओलाई निकै भरपर्दो सीईओका रूपमा हेरिन्छ । कुनै पनि सीईओमा यस्तो गुण छ भन्ने थाहा भएपछि अन्य कम्पनीमा उनीहरू नियुक्त हुने सम्भावना दोब्बर हुन्छ । सफल सीईओमा अत्यावश्यक चार गुणमध्ये यो सबैभन्दा महŒवपूर्ण हो । यस्तो बानीले व्यक्तिलाई सधैं राम्रो प्रदर्शन गर्न प्रेरित गर्छ । सीईओ बजारमा भरपर्दो र निपुण व्यक्तिको बढी खोजी भइरहन्छ भन्छन् बोटेल्हो र पावेल । यस्ता सीईओलाई विश्वास गरेर कम्पनीमात्र होइन क्लाइण्टहरू पनि जोखीम मोल्न तयार हुन्छन् । तिनीहरूलाई अवसर पनि बढी नै दिन्छन् । भर्जिन ग्रूपका संस्थापक रिचर्ड ब्रान्सनले यस्तै बानी भएका आफ्ना एक कर्मचारीको सल्लाह मानेर नै भर्जिन अष्ट्रेलिया खडा गरेका हुन् । अहिले यो कम्पनी अष्ट्रेलियाको दोस्रो ठूलो विमान सेवा कम्पनी बनेको छ । भर्जिन अष्ट्रेलिया लञ्च गर्ने विचार ब्रेट गडफ्रेको हो । गडफ्रेको कामप्रतिको निष्ठा (वर्कएथिक) देखेर ब्रान्सन यति प्रभावित थिए कि अष्ट्रेलियामा विमान कम्पनी खोल्ने उनको सल्लाह मानिहाले । सन् २००० मा भर्जिन अष्ट्रेलिया खोल्दा गडफ्रे यसका सीईओ थिए । उनले सन् २०१० सम्म उक्त कम्पनीको सीईओका रूपमा काम गरे । आफ्नो पछिल्लो आत्मकथा ‘फाइण्डिङ माई भर्जिनिटी’मा ब्रान्सनले गडफ्रेबारे निकै कुरा लेखेका छन् । पुस्तकमा गडफ्रेलाई उनले आकर्षक, हरेक ससाना कुरामा ध्यान दिने र मिहिनेती व्यक्तिका रूपमा व्याख्या गरेका छन् । ४. परिस्थितिअनुरूप ढल्ने शिखरमा पुग्ने हो भने कहिल्यै नहिँडेको बाटोमा हिड्न जान्नुपर्छ । कोडाक, ब्लकबष्टर र बोर्डर्स कुनै समयका सफल कम्पनी थिए । तर, यी कम्पनीका सीईओहरूमा परिस्थितिअनुरूप ढल्न सक्ने खूबी नहुँदा कम्पनी नै असफल भए । असहज परिस्थितिलाई समेत सहजताका साथ अपनाउने सीईओहरूले अप्ठ्यारो स्थितिमा समेत सहज महसूस गर्छन् । नयाँ चिज अपनाउन, परिवर्तन गर्न असहज भएपनि यसबाट पाठ सिकिन्छ भन्ने कुरा यिनीहरूले राम्ररी बुझेका हुन्छन् । यस्ता सीईओले विगतका कुरालाई उहिलेको कुरा खुइले भन्ने हिसाबमा लिएर भविष्यबारे मात्रै ध्यान केन्द्रित गर्न जानेका हुन्छन् । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस पनि यस्तै थिए । सन् १९९४ मा बेजोसले एमेजन डटकम शुरू गर्दा कम्पनीले पुस्तकमात्रै बेच्थ्यो । त्यसपछि ग्राहकहरूको प्रतिक्रिया बुझेर यसमा बेजोसले गीतसङ्गीत र भिडियो राखे । अहिले यो सूची निकै लामो छ । अहिले कम्पनीले विद्युतीय सामग्रीदेखि लत्ताकपडासम्म हरेक वस्तु बेचिरहेको छ । टेलिभिजन शोसमेत बेच्न थालेको कम्पनीले आफ्नै डेलिभरी सेवा शुरू गर्ने योजना बनाइरहेको छ । दीर्घकालीन सोच राख्ने र नवीन प्रयोग गरिरहने बेजोसको बानीकै कारण एमेजनले यति ठूलो सफलता हात पार्न सकेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)