ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेसबूकमा अब ‘सर्च’ पनि

Jan 17, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

एकपछि अर्को विशेषता र सेवा थप्दै गइरहेको इण्टरनेट सामाजिक सञ्जाल फेसबूकमा अब ‘सामाजिक सर्च’ पनि गर्न सकिने भएको छ । फेसबूकले मङ्गलवार सार्वजनिक गरेको ‘ग्राफ सर्च’ नामक विशेषताको उपयोग गर्दै प्रयोगकर्ताहरुले आफ्ना नेटवर्कमा आबद्ध साथीहरुका तस्वीर र जानकारीका साथै रेष्टुराँ र चलचित्रका सुझाव पनि एकै क्लिकमा पाउने छन् । यसरी गरिएका खोजीहरु प्रयोगकर्ताका वालमा सीधै आउने बताइएको छ । विशेषगरी साथीहरुको तस्वीर, स्थान र उनीहरुको रूचि थाहा पाउन ग्राफ सर्च केन्द्रित रहेको देखिन्छ ।

मङ्गलवारदेखि आधिकारिक रुपमा शुरु गरिएको भए पनि ग्राफ सर्चको सुविधा हालका लागि ‘ट्रायल’ संस्करणमा केही लाख प्रयोगकर्ताले मात्र गर्न पाउने जानकारी पनि फेसबूकले दिएको छ । तर, केही समयपछि भने यसलाई सबै प्रयोगकर्ताका लागि खुला गरिने बताइएको छ ।

ग्राफ सर्च फेसबूकको एक प्रमुख परियोजनामध्ये रहेको छ । यसलाई मङ्गलबार फेसबूकका संस्थापक तथा कार्यकारी प्रमुख मार्क जुकरवर्गले सार्वजनिक गरेका थिए । यसबारे जानकारी दिँदै उनले यो सेवाको प्रयोगबाट आफूले खोजेका जिज्ञासाहरुको सटिक उत्तर मिल्ने दाबी गरे । ‘यो अहिलेसम्म उपलब्ध निकै फरक र आधुनिक सुविधा हो,’ जुकरवर्गको भनाइ थियो । उनले यो विशेषता प्रयोग गर्नका लागि फेसबूकभित्रका नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुले आफ्ना ‘कण्टेण्ट’ भने ‘शेयर’ गर्नैपर्ने उल्लेख गरे । प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु दुरूपयोग हुन नदिन र गोप्यता भङ्ग हुन सक्ने समस्या समाधान गर्न यस्तो कडाइ गरिएको उनले बताए । विश्लेषकहरुले इण्टरनेट खोजीको यो विशेषताबाट फेसबूक इण्टरनेट सर्चको विस्तृत बजारमा प्रवेश गर्न लागेको अनुमान गरेका छन् । विश्वको सर्वाधिक लोकप्रिय सर्च इञ्जिन गूगललाई अहिले नै यसबाट चुनौती नभइहाले पनि फेसबूकले भविष्यमा हासिल हुने फाइदालाई आँकलन गर्दै पछि थप विकसित गर्ने हेतुले यस्तो सेवा थपेको उनीहरुको भनाइ छ ।

यसको व्यापक प्रयोग भएमा गूगल र समीक्षा वेबसाइट येल्पलाई केही धक्का पुग्न सक्ने विश्लेषकहरुको कथन छ । ‘यो विशेषताको विकास फेसबूकमा डिस्प्ले गरिने विज्ञापनभन्दा परको लक्ष्यलाई हेरेर गरिएको देखिन्छ,’ सूचनाप्रविधि बजार अनुसन्धान संस्था स्टर्न एग्रीका विश्लेषक अरविन्द भाटियाले भने । उनका अनुसार फेसबूकले अन्ततः ग्राफ सर्चलाई इण्टरनेट खोजी इञ्जिन नै बनाउनेछ, जसबाट गूगललाई चुनौती पुग्नेछ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)