ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोडपतिबाट करोडपति : चाउ छुन्फईको सफलताको रहस्य

May 28, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
चाउ छुन्फईको जीवनकथा त्याग, सफल हुने भोक र दृढताले भरिपूर्ण छ । चीनको हुनान प्रान्तको सियाङसियाङमा गरीब परिवारमा जन्मिएकी चाउ अहिले चीनको सबैभन्दा धनी महिला हुन् । फोब्र्सले केही दिनअघि यस वर्षका अर्बपतिको सूची ‘रिचलिष्ट–२०१८’ सार्वजनिक गरेको थियो । सूचीमा आफ्नै मिहिनेतले अर्बपति बन्ने महिलाहरूमा चाउ विश्वमै सबैभन्दा अगाडि छिन् । कुनै समय के खाऊँ के लाऊँ भन्ने स्थितिमा रहेकी उनी अहिले अर्बौं डलरकी मालिक्नी बनेकी छिन् । टेस्ला, एप्पल र सामसुङलगायत कम्पनीलाई टचस्क्रिन आपूर्ति गर्ने कम्पनी लेन्स टेक्नोलोजी उनले नै खडा गरेकी हुन् । तर, यो स्थितिमा आइपुग्दासम्म उनको यात्रा धेरै सहज भने थिएन । ४८ वर्षीया उनी आफ्नो सफलताको सारा श्रेय ‘दृढता’लाई दिन्छिन् । ‘उद्यमीका रूपमा मैले कैयौं कठिनाइ र बाधाहरूको सामना गरेकी थिएँ,’ सीएनबीसीको मेक इट कार्यक्रममा चाउले केही दिनअघि भनेकी थिइन्, ‘त्यतिबेला मैले दृढता त्यागेकी भए चाउ छुन्फई वा लेन्स टेक्नोलोजी दुवै अहिले हुँदैनथे ।’ उनले सानै उमेरदेखि कठिन परिश्रम गरेकी छिन् । उनी जन्मिनुअगावै उनका पिताले आफू काम गर्ने कारखानामा भएको दुघर्टनामा दृष्टि र एउटा औंला गुमाएका थिए । उनी ५ वर्षकी नहुँदै आमा पनि बितिन् । उनलाई त्यसबेला अहिले खाए भरे के खाने र भरे खाए भोलि के खाने ? कता जाने र के गर्ने होला ? भन्ने चिन्ता हरेक दिन गर्नुपर्ने स्थिति थियो । १६ वर्षको उमेरमा चाउले घडीको लेन्स बनाउने कारखानामा एसेम्बल कामदारको रूपमा काम गर्न थालिन् । काम र पठनपाठनलाई निरन्तरता दिन नसकेपछि उनले हाइस्कूलको पढाइ पनि छाड्नुपर्‍यो । तापनि उनले पढाइ भने चटक्कै छाडिनन् । त्यतिबेला उनले दिनमा १२ घण्टाभन्दा धेरै काम गर्थिन् । दिनमा काम गर्ने र रातमा समय मिलाएर एकाउण्टिङको कक्षा लिन थालिन् । शुरूमा चाउले फेशन डिजाइनर बन्ने सपना देखेकी थिइन् । तर, पछि भने आफ्नै व्यवसाय शुरू गर्ने दृढ निश्चय उनमा आयो । सन् १९९३ मा उक्त कारखाना बन्द भएपछि आफूले जोगाएको २० हजार हङकङ डलर (२ हजार ५ सय अमेरिकी डलर) बाट उनले आफ्नो पहिलो कम्पनी खोलिन् । आफ्नै व्यवसाय शुरू गर्न चाउलाई उनका काका–मामाका छोराछोरीले निकै प्रेरित गरेका थिए । उनीहरूसँग मिलेर चाउले हङकङको तीनओटा बेडरूम भएको अपार्टमेण्टमै काम थालिन् । यो उनको जीवनको पहिलो कम्पनी थियो । यसबीच उनले अरू १० कम्पनी पनि खडा गरिन् । यसको एक दशकपछि चाउले घडीको लेन्स बनाउने कारखाना खोलिन् । यस कारखानामा करीब १ हजार मानिसले रोजगारी पाएका थिए । तर, यही समयमा उनले आफ्नो जीवनकै अन्धकार क्षणको सामना गरिन् । सन् २००३ मा मोटोरोलाले उनको कम्पनीलाई रेजर भीथ्री फोनका लागि ग्लास स्क्रिन बनाउने ठेक्का दियो । उनको यस सफलताप्रति इष्र्यालु एक प्रतिस्पर्धी कम्पनीले मोटोरोलासँगको ठेक्काबाट चाउको कम्पनीलाई हटाउन ठूलै षड्यन्त्र गरेको घटना उनले सीएनबीसीसँग बताएकी थिइन् । त्यो कम्पनीले कच्चा पदार्थ आपूर्तिकर्तासँग मिलेर कच्चा पदार्थ डेलिभर गर्नुअघि पूर्ण भुक्तानी दिन चाउलाई दबाब दियो । आफ्नो जीवनकै ठूलो अर्डर । त्यसै छोड्ने कुरा थिएन । त्यसका लागि आवश्यक पैसा जुटाउन चाउले आफ्नो घर मात्रै होइन, मूल्यवान् सम्पत्तिसमेत बेचिदिइन् । तर, यतिले पनि आवश्यक रकम पुर्‍याउन नसकेपछि चाउ निकै निराश बनिन् । चाउ आत्महत्या नै गर्ने स्थितिमा पुगिसकेकी थिइन् । आफू मरेपछि आफूसँगै सबै समस्या पनि जान्छ भन्ने सोचेर हङकङको हङहोम स्टेशनको प्लेटफर्ममा आत्महत्या गर्न भनेर गइन् । तर, ठ्याक्कै त्यतिबेला उनकी छोरीले उनलाई फोन गरिन् । छोरीको त्यो फोनले आफूलाई वास्तविक संसारमा ल्याएको थियो । त्यो फोन नआइदिएको भए सायद चाउले त्यतिबेलै आत्महत्या गरिसकेकी हुन्थिन् । ‘त्यतिबेला मैले आफ्नो परिवार र कर्मचारीका लागि भए पनि हरेश खानु हुन्न भन्ने महसुस गरें, मैले निरन्तरता दिनै पथ्र्यो,’ उनी भन्छिन् । यस्तो विचार गरेर चाउले मोटोरोलालाई ९११ इमेल (इमर्जेन्सी इमेल) पठाइन् । मोटोरोलाको मद्दतले उनले सबै सङ्कटको डटेर सामना गरिन् । यो सफलतासँगै उनले लेन्स टेक्नोलोजी नामक टच स्क्रिन बनाउने कम्पनी स्थापना गरिन् । उक्त कम्पनीले एचटीसी, नोकिया र सामसुङबाट पनि अर्डरहरू पाउन थाल्यो । सन् २००७ मा एप्पलको आइफोनका लागि समेत कम्पनीले टचस्क्रिन बनायो । सन् २०१५ मा चाउको लेन्स टेक्नोलोजिज पब्लिक कम्पनी बन्यो । अहिले उक्त कम्पनीको बजार पूँजीकरण ११ अर्ब ४० करोड डलर छ । कम्पनीले चीनभर ८२ हजारलाई रोजगारी दिइरहेको फोब्र्सले बताएको छ । फोब्र्सका अनुसार मे २७ मा चाउको नेटवर्थ ७ अर्ब ७ अर्ब ६० करोड डलर रहेको छ । ‘जति गर्दा पनि अप्ठ्यारा र बाधा फुकाउन नसकेपछि जसले पनि हरेश खान्छ । यस्तो स्थितिको सामना तपाई हामी सबैले जीवनको कुनै न कुनै क्षणमा गरेका हुन्छौं तर सफलताको साँचो भने दृढता नै हो विशेषगरी सबैभन्दा कठिन समयको,’ चाउ भन्छिन् । लेन्स उद्योगका मानिसले चाउलाई ‘ब्रदर फेई’ निकनेम दिएका छन् । महिलालाई कोमल हृदय भएको व्यक्तिको रूपमा चित्रित गरिन्छ भने पुरुषलाई कठोर हृदय भएको व्यक्ति । यस्तो प्रवृत्ति नेपालमा मात्रै होइन, संसारभर छ । तर, चाउ पुरुषजत्तिकै कठोर भएकाले उनलाई ‘ब्रदर फेई’ निकनेम दिइएको हो । चाउको दृढताबारे एउटा उदाहरण पनि छ । २० कार्यकारीहरूलाई ‘एक टिम बिल्डिङ’ क्रियाकलापका क्रममा चीनको तावेई हिमाल चढ्न भनेर उनले लगेकी थिइन् । तावेई हिमाल समुद्री सतहदेखि ५ हजार मिटरभन्दा माथि छ । सो हिमाल आरोहणका क्रममा समूहका केही सदस्यले बीचबाटोमै हरेश खाएर आरोहण त्याग्न खोजेका थिए । तर, चाउले यसरी बीचमा आरोहण छोड्न नहुने भन्दै सबैलाई अघि बढ्न प्रेरणा दिइन् । यसबारे उनको आफ्नै तर्क पनि छ, ‘कसैले बीचबाटोमै केही काम छोडिदिन्छ भने त्यस्तो व्यक्तिसँग पुनः फर्केर आएर शून्यबाटै शुरू गर्ने ताकत नै हुँदैन ।’ कुनै पनि काम गर्ने वा बाटो हिँड्ने क्रममा स–साना अवरोध त उत्पन्न भइहाल्छन् । ‘हामी दृढ रह्यौं भने मात्रै सफल हुन सक्छौं, स–साना बाधासँग डराएर गरिरहेको काम बीचमै छाड्नुहुँदैन’ भन्ने धारणा चाउको छ । अहिले पनि चाउको कार्यालयमा मात्रै होइन, कारखानामा पनि उनका लागि छुट्टै बस्ने क्वार्टर छ । उनी हरेक दिन १८ घण्टा काम गर्छिन् । कहिलेकाहीँ त अबेर रातसम्म पनि काम गरिरहेकी हुन्छिन् । सन् २०१६ मा फोच्र्यूनले उनलाई एशिया प्यासिफिककै सबैभन्दा शक्तिशाली महिलाको रूपमा चित्रित गरेको थियो । उनको सफलताको कथाले अहिले पनि चीनमा मात्रै होइन, चीनबाहिरका लाखौं करोडौं महिलालाई उद्यमशील बन्ने प्रेरणा दिएको छ । उनले आफ्नो सफलताको सारा श्रेय दृढ निश्चयलाई दिए पनि कोसिस गरेर कहिल्यै नथाक्ने उनको बानी, अवसरहरूको खोजी गरिरहने प्रयास र हरेक जोखीमका लागि तम्तयार रहने प्रवृत्तिले उनलाई यहाँसम्म ल्याइ पुर्‍याएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)