ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैङ्क : कुल कर्जा १५% बढ्दा निष्क्रिय २२% ले वृद्धि

May 29, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । वाणिज्य बैङ्कहरूको आर्थिक वर्ष २०७४/७५ को ९ महीनाको अन्तरमा निष्क्रिय कर्जा २२ दशमलव २ प्रतिशतले बढेको छ । सोही अवधिमा असल कर्जा भने १५ दशमलव ३ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले कमसल क्षेत्र तथा कर्जा प्रवाहमा लापरबाही नगर्न पटकपटक सुझाव दिँदै आए पनि वाणिज्य बैङ्कहरूबाट प्रवाह भएका कर्जामध्ये ३३ अर्ब रुपैयाँ निष्क्रिय कर्जा रहेको छ । नेपाल राष्ट्र बैङ्कको चैत मसान्तसम्मको तथ्याङ्कले निष्क्रिय कर्जाको आकार यस्तो देखाएको हो । केन्द्रीय बैङ्कले असल र सूक्ष्म निगरानीमा रहेका कर्जालाई ‘सक्रिय कर्जा’ र पुनर्तालिकीकरण/पुनःसंरचना गरेका, कमसल, शङ्कास्पद तथा खराब कर्जालाई ‘निष्क्रिय कर्जा’ भनी परिभाषा गरेको छ । केन्द्रीय बैङ्कको तथ्याङ्कअनुसार २०७४ चैतमसान्तसम्ममा वाणिज्य बैङ्कहरूको औसत निष्क्रिय कर्जा अनुपात १ दशमलव ७ प्रतिशत रहेको छ । गत असार मसान्तसम्ममा यस्तो कर्जा अनुपात १ दशमलव ६ प्रतिशत थियो । नेपाल राष्ट्र बैङ्कले गरेको कर्जा सापटको वर्गीकरणअनुसार ३ महीनादेखि बढीमा ६ महीनासम्म भाखा नाघेका कर्जा तथा सापटलाई कमसल कर्जा भनिन्छ । चैत मसान्तसम्ममा वाणिज्य बैङ्कहरूको यस्तो कर्जा रू. १० अर्ब रहेको छ । शङ्कास्पद कर्जा भनेको ६ महीनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेको कर्जा हो । चालू आर्थिक वर्षको ९ महीनासम्ममा यस्तो कर्जा रू. ७ अर्ब पुगेको छ । सोही अवधिमा १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका खराब कर्जा भने रू. १५ अर्ब पुगेको छ । भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जामा ऋणी टाट पल्टेमा, कर्जा दुरुपयोग भएमा, परियोजना तथा व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा वा नभएमा लगायतलाई खराब कर्जामा परिणत गर्ने व्यवस्था छ । यस्तै, कर्जा असुल हुन नसकी लीलामी प्रक्रिया शुरू भएको १ सय ८० दिन नाघेमा वा असुली प्रक्रियाअन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा, कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई कर्जा प्रदान गरेको अवस्थामा, सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा, खरीद वा डिस्काउण्ट गरेको बिल्सको भुक्तानी मितिले ९० दिनसम्म असुली नभएमा समेत खराब कर्जा मानिने व्यवस्था छ । क्रेडिट कार्ड कर्जा भाखा नाघेको मितिले ९० दिनभित्र अपलेखन नभएमा खराब कर्जामा गणना हुनेछ । केन्द्रीय बैङ्कले असल कर्जाअन्तर्गत भाखा ननाघेका र ३ महीनासम्म भाखा नाघेका कर्जालाई राखेको छ । वाणिज्य बैङ्कहरूले चैत मसान्तसम्म प्रवाह गरेको कर्जामध्ये १९ खर्ब ७० अर्ब रुपैयाँ असल कर्जा रहेका छन् । यसैगरी असल कर्जाअन्तर्गत चैतसम्ममा रू. ८७ अर्ब सूक्ष्म निगरानीका छन् । यस्तो कर्जा साँवा वा ब्याज तोकिएको अवधिभित्र भुक्तान नभई १ महीनाभन्दा बढी अवधिले बक्यौता रहेका, नवीकरण नभई अस्थायी रूपमा भुक्तानी अवधि बढाई कायम रहेका अल्पकालीन वा चालू पूँजीलगायत पर्छन् । केन्द्रीय बैङ्कले मुद्दती रसीदको धितोमा गएका कर्जा तथा सापटहरू, नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैङ्क ऋणपत्रको धितोमा गएका कर्जा तथा सापट तर, अतिरिक्त धितो सुरक्षणबापत मुद्दती रसीद, बढीमा १ वर्षसम्म भुक्तानी अवधि भएको चालू पूँजीलगायतलाई असल कर्जामा समावेश गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)