जेट विमानको लामो यात्रापछि प्रायःजसो यात्रुहरुलाई शारीरिक कठिनाइ हुने गर्छ, जसलाई ‘जेटल्याग’ भन्ने गरिन्छ । तर, अब तपाईं पनि कुनै लामो यात्रापछि यस्तै अनुभव गर्नुहुन्छ भने यसलाई निकै सामान्य उपाय अपनाएर हटाउँदै फेरि फुर्तिलो बन्न सक्नु हुन्छ । बेलायती वैज्ञानिकहरुले यसबारे हालै गरेको एक अध्ययनमा जेट विमानको लामो यात्रापछि यात्रुहरुले आफ्नो शरीरको तापक्रमलाई बाह्य तापमानसँग मिलाउँदा जेटल्याग हट्ने पाइएको छ । डेली मेल पत्रिकामा प्रकाशित उक्त अध्ययनको रिपोर्टमा लामो यात्रापछि न्यानो लुगा लगाउँदा, तातो पेय लिँदा र तापको स्रोतनजिकै गएर उभिँदा जेटल्यागद्वारा उत्पन्न अल्छीपना हट्ने सम्भावना बढी रहेको बताइएको छ । यसका अलावा कुनै जाडो ठाउँको यात्रा गरेर न्यायो स्थानमा फर्किएका यात्रुहरुले चिसो पानीले स्नान गरेको खण्डमा पनि यो समस्या हट्ने रिपोर्टमा उल्लेख छ ।
युनिभर्सिटी अफ लण्डनको क्विन मेरी कलेजका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनअनुसार मानव शरीरभित्र एक प्रकारको ‘जैविक घडी’ हुने गर्दछ । यो घडी तापक्रमका साथै प्रकाशमा आएको परिवर्तनले चल्ने गर्दछ । मानिसको मस्तिष्कको तल्लो भागमा रहने विशेष कोषहरुले यसलाई चलाउने र न्यानो तापक्रममा यो घडीलाई आफै मिलाउने उनीहरुको भनाइ छ । यो अध्ययनका लागि वैज्ञानिकहरुले फलफूलमा पाइने झिंगाहरुलाई प्रयोग गरेका थिए । उनीहरुले ति झिंगालाई केही दिनसम्म लगातार जाडो र न्यानो तापक्रममा राखेका थिए । त्यसक्रममा पृष्ठ भागमा रहने कोषहरु न्यानो तापक्रममा र बाहिर रहने कोषहरुले जैविक घडीलाई चिसो तापक्रममा मिलाउन भूमिका निर्वाह गर्ने तथ्य फेला पारियो । त्यतिमात्र नभई ती कोषहरुले ‘थर्मोमिटर’ जस्तै कार्य गर्ने पनि वैज्ञानिकहरुले जानकारी दिए । प्रयोगमा प्रकाशको अवस्थामा हुने हेरफेरले पनि यो घडीमा परिवर्तन ल्याउने पाइएको उनीहरुको कथन छ ।
झिंगाहरुपछि उक्त प्रयोग मानिसहरुमाथि पनि गरिँदा त्यस्तै नतीजा पाइएको थियो । ‘मानिस र भिंगाहरुमा गरिएको यो प्रयोगले शरीरको घडी प्राकृतिक र मान्छेद्वारा निर्मित समयको अवस्थामा निर्भर हुने देखियो,’ वैज्ञानिकहरुको नेतृत्व गरेका प्राध्यापक राल्फ स्टानेवस्कीले भने । तापक्रम र प्रकाशका साथै ध्वनिप्रदूषणले पनि मानिसको शरीरको तापमानलाई प्रभावित गर्न सक्ने उनले बताए ।