चीनको राजधानी बेइजिङलगायतका केही ठूला शहर अहिले उच्च दरले बढिरहेको वायु प्रदूषणका कारण अन्तरराष्ट्रिय समाचारहरुका प्रमुख शीर्षक बनेका छन् । ती शहरका गतिविधि विषाक्त हावाका कारण ठप्प भएका छन् भने केही हप्तायता श्वासप्रश्वासका बिरामीहरु ह्वात्तै बढेका समाचारहरु आइरहेका छन् । तर, एक चिनियाँ धनाढ्यलाई भने यस्तो जटिल र गम्भीर समस्याले पारेको चिन्ताले सुझेको एक गजबको जुक्ति हाल चर्चाको विषय बनिरहेको छ ।
उद्योगी चेन गुआङबिआओले अहिले बेइजिङलगायतका वायु प्रदूषणले आक्रान्त स्थानमा विक्री गरिरहेका छन् ‘ताजा हावा’ भरिएका क्यानहरु । चेनले विक्री गरिरहेका क्यानहरु खोलेर ताजा हावाको श्वास विस्तारै लिन सकिन्छ । यसबाट ठप्प भएको जनजीवन विस्तारै सामान्य बन्दै जाने चेनको दाबी छ । मात्र ५ युआन मूल्य तोकिएका ती क्यानहरुमा ‘ताइवान’, तिब्बत’ र युनान लेबल टाँसिएको छ भने विभिन्न सुगन्धयुक्त हावामा किन्न सकिने बताइएको छ ।
उनले यी हावा भरिएका क्यानबाट नाफा कमाउन नभई मानिसहरुलाई सहयोग पुर्याउनका लागि उत्पादन गरिरहेको बताएका छन् । यसका साथै ७४ करोड डलरबराबरको नेट वर्थ भएका भनिएका चेनले ताजा हावा भरिएका यी क्यानहरु चीनको खस्किँदो वातावरणीय अवस्थाबारे सामाजिक जागरूकता उत्पन्न गर्न पनि ल्याएको जानाकारी दिएका छन् । ‘यदि हामी अहिले नै वातावरण संरक्षणको दिशामा अग्रसर हुँदैनौं भने २० अथवा ३० वर्षपछि हाम्रा छोराछोरी र नातिनातिना बाहिर हिँड्दा ग्यास मास्कको धारण र आफ्नो पिठ्युँमा अक्सिजनका सिलिण्डर बोक्न बाध्य हुनेछन्,’ उनले चेतावनी दिए । नवीकरणीय ऊर्जा कम्पनीहरु सञ्चालन गर्ने चेन गुआङबिआओ चीनमा एक विख्यात वातावरणीय अभियानकर्ताका रुपमा पनि परिचित छन् । केही अघिमात्रै उनले मानिसहरुलाई कारलगायत निजी गाडीको प्रयोग घटाउन उत्प्रेरित गर्ने उद्देश्यले ५ हजारओटा साइकल वितरण गरेका थिए ।
तर, कतिपयले चेनले वातावरणीय क्षेत्रप्रति देखाइरहेको उच्च चासो लोकप्रियता कमाउने उनको एक तरीका भएको आरोप पनि लगाउने गर्छन् । ‘केही मानिसहरु मलाई लोकप्रियता मन पराउने व्यक्तिका रुपमा चित्रित गर्ने गर्दछन् तर, सामाजिक प्रगतिका लागि लो प्रोफाइलमा बस्नेहरुले केही गर्न सक्लान् जस्तो मलाई लाग्दैन,’ आरोपहरुको प्रतिवाद गर्दै चेन भन्छन् ।