ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशीलाई पीआर दिने प्रक्रियानजीक कतार

Jun 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । बहुसङ्ख्यक नेपाली काम गर्न जाने खाडी मुलुक कतार आप्रवासीलाई स्थायी बसोवास (पीआर) अनुमति दिने प्रक्रियाको थप नजीक पुगेको छ । त्यहाँको मन्त्रिपरिषद्ले आफ्नो देशमा भएका विदेशी आप्रवासीहरूलाई पीआर उपलब्ध गराउने कानून पारित गरेको छ । परिषद्ले सोमवार सो कानून पारित गरेको कतार न्यूज एजेन्सीको एक समाचारमा उल्लेख छ । योसँगै राज्यलाई आवश्यक पर्ने विशेष पेशामा आबद्ध विदेशी कर्मचारीका साथै अन्य प्रतिभावान् व्यक्तिले पीआर पाउने निश्चित भएको छ । यसले कतारमा विदेशी लगानी बढ्ने र योसँगै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । विदेशीलाई पीआर दिनेसम्बन्धी कानून अब औपचारिक रूपमा लागू हुन १ चरण मात्रै बाँकी छ । त्यहाँका अमिर शेख तमिम बिन हमाद अल थानीले यसमा हस्ताक्षर गरेसँगै पीआरसम्बन्धी यो प्रस्ताव कानून बन्नेछ । यस कानूनले सबै आर्थिक गतिविधिमा विदेशी लगानीकर्ताको उपस्थिति बढाउने छ । पीआर पाउने आप्रवासीहरूलाई आफ्नै स्वामित्वमा सम्पत्ति राख्न र स्थानीय साझेदारविनै निश्चित प्रकारका व्यावसायिक गतिविधि सञ्चालन गर्ने अधिकार दिइनेछ । त्यसैगरी, त्यहाँको स्टक एक्सचेञ्जमा सूचीकृृत कतारी कम्पनीहरूको ४९ प्रतिशतसम्म शेयर खरीद गर्ने अधिकार पनि पीआरधारी विदेशीले पाउनेछन् । यस कानूनले स्वस्थ लगानीको वातावरण सृजना हुने सुनिश्चित गर्ने कतारका अर्थमन्त्री शेख अहमद बिन जसिम अल थानीले बताएका छन् । खाडी क्षेत्रका छिमेकीहरूले कतारमाथि प्रतिबन्ध लगाएको १ वर्ष पुग्न केही दिन बाँकी रहेका बेला यस्तो कदम चालिएको छ । कानूनअनुसार पीआर पाउनेहरूलाई कतारी नागरिकसरह व्यवहार गरिनेछ । यिनीहरूले राज्यले उपलब्ध गराउँदै आएको शिक्षा, स्वास्थ्योपचारलगायत सबै सामाजिक सुरक्षाका सुविधा पाउनेछन् । कानूनअनुसार सैनिक र निजामती सेवाका रोजगारीमा पनि रैथाने बासिन्दापछि पीआरधारीहरूले बढी अवसर पाउनेछन् । विदेशी कामदारलाई पीआर दिने कतार पहिलो खाडी मुलुक बन्दै छ । यसअघि कुनै पनि खाडी राष्ट्रले विदेशी कामदारलाई यस्तो सुविधा दिएका थिएनन् । गतवर्ष अगष्टको अन्त्यतिर खाडी मुलुकको प्रतिबन्ध भर्खरै शुरू भएका बेला कतारले आप्रवासीलाई पीआर दिने घोषणा गरेको थियो । गतवर्षको जुन ५ मा साउदी अरेबिया, यूएई, बहराइन एवम् इजिप्टले आतङ्कवादी समूहहरूलाई आर्थिक सहयोग गरेको र इरानसँगको नजीकको सम्बन्धतर्फ औंल्याउँदै कतारसँगको सबै सम्बन्ध तोडेका थिए । यस कानूनबाट सबैभन्दा धेरै लाभ भने भारतीयहरूलाई हुनेछ । त्यहाँ करीब ७ लाख भारतीय छन् । त्यस्तै, बङ्गलादेश, फिलिपिन्स इजिप्टका पनि क्रमशः २ लाख ८० हजार, २ लाख ६० हजार र २ लाख आसपास आप्रवासी छन् । नेपालीलाई लाभ कतारमा रहेका आप्रवासी जनसङ्ख्यामा नेपालीको अंश दोस्रो स्थानमा छ । त्यहाँ करीब ४ लाखको हाराहारीमा नेपाली रहेको ‘डेमोग्राफी माइग्रेशन एण्ड द लेबर मार्केट इन कतार शीर्षकको प्रतिवेदनले देखाएको छ । यो त्यहाँको कुल जनसङ्ख्याको साढे १३ प्रतिशत हो । कतारको कुल जनसङ्ख्या २७ लाख आसपास छ । यसमध्ये ३ लाख अर्थात् १२ प्रतिशतभन्दा केही बढी मात्रै रैथाने कतारी नागरिक हुन् । बाँकी ९० प्रतिशत जनसङ्ख्या आप्रवासी हुन् । अहिले पनि हरेक महीना हजारौंको सङ्ख्यामा नेपाली कामका लागि कतार गइरहेका छन् । कतारी सङ्कटका कारण त्यसतर्फ जाने नेपालीको सङ्ख्या शुरूका महीनामा घटे पनि अहिले मासिक ९ हजारको हाराहारीमा त्यसतर्फ गइरहेका छन् । वैदेशिक रोजगार विभागको फागुनदेखि वैशाखसम्म ३ महीनाको तथ्याङ्क केलाउँदा मासिक औसत ९ हजारभन्दा बढी नेपालीले नेपाल सरकारबाट कतारमा गएर काम गर्ने अनुमति पाइरहेका छन् । आप्रवासीलाई पीआर दिने कानूनबाट सबै नेपालीले लाभ नपाए पनि राज्यलाई आवश्यक पर्ने विशेष पेशामा आबद्ध र अन्य प्रतिभावान् नेपाली लाभान्वित हुनेछन् । त्यहाँ व्यवसायीका रूपमा मात्रै होइन, प्रशासनीय क्षेत्रमा पनि नेपालीहरू छन् । इञ्जिनीयरिङ, एकाउण्ट, होटललगायत क्षेत्रमा यिनीहरूले काम गरिरहेका छन् । अधिकांश नेपाली शारीरिक श्रम बढी हुने निर्माणलगायत क्षेत्रमा कार्यरत छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)