सिकागो (अमेरिका) । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पागलपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको थियो । अध्ययन किताब वा पत्रपत्रिका पढ्ने, तास खेल्ने लगायत बौद्धिक काम गर्नेमा केन्द्रित थियो । बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने सम्भावना न्यून देखिएको अध्ययनको निष्कर्ष छ । रासस/सिन्ह्वा