ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोटेश्वर–जडीबुटी सुरुङ : बजेटमा प्राथमिकता कार्यान्वयन शून्य

Jun 3, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । दुईओटा बजेट वक्तव्यमा घोषणा भएको कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक प्रक्रियासमेत शुरू गरिएको छैन । एयर ट्राफिक व्यवस्थापन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारका साथै पार्किङ स्थललाई पनि व्यवस्थित गर्ने उद्देश्यले सरकारले ‘कोटेश्वर–जडीबुटी सुरुङमार्ग’ निर्माण गर्ने घोषणा गत वर्ष नै बजेट वक्तव्यमा भएको हो । यस वर्ष पनि त्यसलाई दोहोर्‍याइएको छ तर, सुरुङमार्ग निर्माणका लागि ठोस छलफलसमेत हुन सकेको छैन । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को बजेट वक्तव्यमा ‘कोटेश्वर–जडीबुटी सुरुङमार्ग’ निर्माण प्राथमिकतामा राखिए पनि यस विषयमा सम्बन्धित मन्त्रालयहरू र नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अझैसम्म ठोस निर्णय गर्न सकेका छैनन् । अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारका साथै अन्य प्रक्रियामा पनि महत्त्वपूर्ण मानिएको सुरुङमार्ग निर्माणको कार्यान्वयन शून्य प्रगतिमा देखिएको छ । दुईओटा बजेट वक्तव्यमा यो सुरुङमार्ग निर्माण गर्ने भनिएको छ । चालू आवमा पर्यटन पूर्वाधार शीर्षकमा ‘कोटेश्वर–सूर्यविनायक सुरुङमार्ग’ भनी बुँदा १२१ मा उल्लेख गरिएको छ । आगामी आवको बजेटमा यातायात पूर्वाधार शीर्षकको बुँदा १६९ मा उक्त सुरुङमार्गलाई सूर्यविनायकसम्म नभई कोटेश्वरदेखि जडीबुटीसम्म सर्वेक्षण गरी सुरुङमार्ग निर्माण प्रारम्भ गरिने उल्लेख गरिएको छ । यसरी हेर्दा कुन निकायले कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्ने भन्ने विषयमा पनि ठोस निर्णय हुन सकेको छैन । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले चालू आवको बजेट वक्तव्यमा विमानस्थलसँगै जोडिएको कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गर्ने घोषणा गरेका थिए । यो कार्यलाई अहिले पनि अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटमार्फत नै सार्वजनिक गरेका छन् । विमानस्थलसँग जोडिएकाले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को देखिन्छ । आगामी आर्थिक वर्षको बजेटमा भने यातायात पूर्वाधारमा राखिएको हुँदा यसमा अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पनि प्रत्यक्ष सहभागिता हुने स्पष्ट छ । यी विषयले गर्दा पनि चालू आव सकिनै लाग्दासमेत ठोस रूपमा सुरुङमार्ग निर्माणको कार्य छलफलमै प्रवेश गर्न सकेको छैन । क्यान स्रोत भन्छ, ‘सुरुङमार्ग निर्माणका विषयमा छलफल नै भएको छैन । मन्त्रालयदेखि क्यानका कार्यक्रम तथा योजनामा सुरुङमार्ग निर्माणको न त योजना परेको छ, न त रकम विनियोजन गरिएको छ ।’ सरकारले बजेट कार्यक्रममा कोटेश्वर– सूर्यविनायकसम्म सुरुङमार्ग निर्माण गर्ने घोषणा गरे पनि कुन निकायले कसरी सुरुङमार्गको काम अघि बढाउने भन्ने विषय नै यकिन भएको छैन । अर्काेतर्पm सरकारले पनि वक्तव्यमार्फत बजेट विनियोजन गरेको छैन । बजेट वक्तव्यमा घोषणा भएका कार्यक्रमहरू सोही वर्षमै कार्यान्वयनमा जान नसकेका धेरै उदाहरण छन् । यस्तै, नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सुरुङमार्ग निर्माणका विषयमा ठोस निर्णय नभएको बताए । उनले भने, ‘अहिले यस विषयमा छलफल भएको छ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहकार्य तथा समन्वयमा सम्भाव्यता अध्ययन तथा आवश्यक अन्य प्रक्रियाहरू अघि बढाउँछौं ।’ यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले अख्तियारी कुन निकायलाई दिने भन्ने विषय नै टुङ्गो नलागेको बताउछन् । ‘हाम्रो मन्त्रालयले गर्ने भएमा आगामी आवदेखि नै प्रारम्भिक अध्ययनदेखि सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने, ‘आगामी आर्थिक वर्ष पनि सुरुङमार्ग कसले बनाउने भन्ने विषय स्पष्ट पारिएको छैन ।’ उनका अनुसार कोटेश्वर–जडीबुटीे सुरुङमार्ग निर्माण कसले बनाउने भन्ने निर्णय १/२ दिनमै टुङ्गो लाग्नेछ । विमानस्थलसँगैको कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ वे थप गरी एयर ट्राफिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो सुरुङमार्ग निर्माणको योजना अघि बढाइने भएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)