ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ल्ड चाइल्डहूड इण्डेक्समा नेपाल ४ स्थान तल

Jun 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । नेपालमा बालबालिकाको अवस्था खस्किएको छ । बाल मृत्युदर र कुपोषण घटे पनि बाल विवाहमा भएको वृद्धि र विद्यालयको पहुँच घट्दा समग्र स्थिति खस्किएको हो । अन्तरराष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले हालै सार्वजनिक गरेको ‘इण्ड अफ चाइल्डहूड इण्डेक्स, २०१८’ शीर्षकको प्रतिवेदनले गतवर्षको तुलनामा यस वर्ष नेपाल ४ स्थान तल झरेको देखाएको छ । प्रतिवेदनअनुसार यस वर्ष नेपाल उक्त सूचकाङ्कमा १ सय ३८ औं स्थानमा रहेको छ । सन् २०१७ मा नेपाल १ सय ३४ स्थानमा रहेको थियो । गतवर्षको तुलनामा यस वर्ष नेपालको अङ्क पनि घटेको छ । सन् २०१७ मा नेपालले कुल १ हजारमा ६ सय ८० अङ्क पाएको थियो । यस वर्ष भने नेपालले ६ सय ७७ अङ्क मात्रै पाएको छ । गतवर्षको तुलनामा समीक्षा अवधिमा बाल मृत्युदर र कुपोषणमा क्रमशः १ दशमलव ३ प्रतिशत र १ दशमलव ६ प्रतिशतको कमी आएको छ । यद्यपि, जीवनयापन खर्च जुटाउन काम गर्न बाध्य बालबालिकाको सङ्ख्यामा पनि गतवर्षको तुलनामा यस वर्ष कुनै सुधार आएको छैन । किशोरावस्थामै बच्चा जन्माउने र हिंसाको चपेटामा रहेका बालबालिकाको सङ्ख्या यस वर्ष अघिल्लो वर्षकै स्तरमा यथावत् छ । प्रतिवेदनअनुसार नेपालमा बाल विवाह दर २ दशलमव ९ प्रतिशतले बढेको छ । सन् २०१७ मा १५ देखि १९ वर्षका किशोरकिशोरीको कुल जनसङ्ख्यामध्ये बाल विवाह गर्नेको सङ्ख्या २७ दशमलव १ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो दर २४ दशमलव २ प्रतिशत मात्रै थियो । बालविवाहलाई पूर्णरूपमा निर्मूल गर्न सके सन् २०३० देखि नेपाललाई वार्षिक १ अर्ब डलरबराबर अतिरिक्त लाभ हुने प्रक्षेपण विश्व बैङ्क र इण्टरनेशनल सेण्टर फर रिसर्च अन वुमनले गरेका छन् । पछिल्लो समय १ डलरबराबर १ सय ७ नेपाली रुपैयाँको विनिमय दरका आधारमा सो रकम रू. १ खर्ब ७ अर्ब हुन आउँछ । प्रतिवेदनअनुसार धनी देशको तुलनामा नेपालमा गरीब घरपरिवारबाट मजदूरी गर्न बाध्य बालबालिका ५ गुणा धेरै छन् । अघिल्लो वर्ष विद्यालय जाने उमेरका करीब १३ दशमलव ४ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेकोमा गतवर्ष यो दर बढेर १३ दशमलव ८ प्रतिशतमा पुगेको छ । यद्यपि, दक्षिण एशियाका भुटान र पकिस्तानका तुलनामा यस उपसूचकाङ्कमा नेपालको स्थिति निकै राम्रो छ । प्रतिवेदनमा स्वास्थ्य अवस्था, कुपोषण, शैक्षिक पहुँच, बाल मजदूर, बालविवाह, किशोरी आमा र चरम हिंसाका आधारमा देशहरूको वर्गीकरण गरिएको थियो । विश्वका कुलमध्ये आधाभन्दा बढी अर्थात् १ अर्ब २० करोड बालबालिका द्वन्द्व, चरम गरीबी र लैङ्गिक भेदभावका कारण जोखीममा छन् । गतवर्षको तुलनामा यस वर्ष विश्वभर बालबालिकाको स्तर थोरै सुध्रिएको भए पनि प्रगति भने पर्याप्त नभएको सेभ द चिल्ड्रेनका क्षेत्रीय निर्देशक डेभिड राइटले प्रतिवेदनमा उल्लेख गरेका छन् । सन् २०१७ को तुलनामा यस वर्ष १ सय ७५ मध्ये ९५ देशमा बालबालिकाको स्तरमा सुधार आएको छ । तर, ४० देशमा भने स्तर गतवर्षभन्दा खस्किएको छ । सिङ्गापुर र स्लोभेनियाका बालबालिकाको अवस्था विश्वमा सबैभन्दा राम्रो छ । यी देशलाई पछ्याउने क्रममा नर्वे र स्वीडेन क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने फिनल्याण्ड पाँचौं स्थानमा छ । सूचीको पुछारमा भने नाइजर, माली र दक्षिण अफ्रिकी गणतन्त्र रहेका छन् । बालबालिकाको स्थिति नराम्रो भएका शीर्ष १० देशमा पश्चिम र मध्यअफ्रिकी देशको वर्चस्व छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)