ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि उत्पादनमा सवा १ प्रतिशत वृद्धि

Jun 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा प्रमुख कृषिबालीहरू (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला)को कुल उत्पादन १ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको सोही अवधिमा यस्ता बालीको उत्पादन ८ दशमलव ३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आव २०७४/७५ अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । उक्त अवधिमा प्रमुख कृषिबालीले ढाकेको क्षेत्रफल पनि १ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको सो अवधिमा यस्तो क्षेत्रफल ३ दशमलव २ प्रतिशतले बढेको थियो । राष्ट्र बैङ्कले देशभरका ५७ जिल्लामा स्थलगत सर्वेक्षण तथा सरोकारवालाहरूसँग अन्तरक्रियाका आधारमा उक्त प्रतिवेदन तयार पारेको बताएको छ । प्रतिवेदनअनुसार चालू आवमा कृषिक्षेत्रको समग्र अवस्था सकारात्मक देखिएको छ । अध्ययनमा समेटिएका जिल्लाहरूमा कृषि उपजले ढाकेको भूक्षेत्रमा सुधार हुनु यसको मूल कारण रहेको बताइएको छ । पछिल्लो समय सरकारले कृषियोग्य जमीनमा प्लटिङ गरी घडेरीको मूल्यमा बेच्न रोकलगायकाले आगामी दिनमा कृषिक्षेत्रमा थप सुधार हुन सक्ने अपेक्षा बैङ्कको छ । अध्ययनअनुसार यस अवधिमा प्रमुख खाद्यान्न बालीहध्ये मकैको उत्पादन ४ दशमलव ५ प्रतिशत तथा आलुको उत्पादनमा ५ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ भने धानको उत्पादनमा भने १ दशमलव ५ प्रतिशतले कमी आएको छ । तरकारीको उत्पादनमा ६ दशमलव ८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्षको शुरूमा आएको बाढी तथा डुबानका कारण धानको उत्पादनमा केही कमी आए तापनि कृषि आयातको सहज आपूर्ति तथा बढ्दो व्यवसायीकरणका कारण समग्र कृषिक्षेत्रको उत्पादन वृद्धिदर सामान्य रहने अध्ययनले औंल्याएको छ । उक्त अध्ययनको आधारमा मुलुकको समग्र आर्थिक परिदृश्य सकारात्मक रहे तापनि कृषि, उद्योग र सेवाक्षेत्रमा अझै चुनौतीहरू विद्यमान रहेकोे केन्द्रीय बैङ्कको ठहर छ । अध्ययनअनुसार कृषिक्षेत्रमा खासगरी सिँचाइ सुविधाको अभाव, जमीनको अनावश्यक खण्डीकरण, कृषि प्रसार तथा प्राविधिक सेवाको अपर्याप्तता, उन्नत जातका बीउ–बिजन तथा गुणस्तरीय रासायनिक मलको अभाव तथा कृषि कार्यका लागि सहज कर्जाको अभाव, बजार पहुँचजस्ता समस्या छन् । उद्योगको क्षमता उपयोग औसत ५८ प्रतिशत आव २०७४/७५ को पहिलो ६ महीनामा उद्योगको उत्पादन क्षमता उपयोग सीमान्त रूपले बढेको छ । अध्ययनमा समेटिएका उद्योगहरूले कुल उत्पादन क्षमताको औसतमा ५८ प्रतिशत उपयोग गरेका छन् । गतवर्ष त्यस्तो क्षमता उपयोग ५४ दशमलव २ प्रतिशत थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ११ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । विद्युत् आपूर्तिमा सुधार आएको तथा निर्माण गतिविधिमा विस्तार भएसँंगै औद्योगिक क्षेत्रको उत्पादन क्षमता उपयोग वृद्धि भएको राष्ट्र बैङ्कले बताएको छ । कृषि कर्जा ८ दशमलव ८ प्रतिशत वृद्धि समीक्षा अवधिमा कृषिक्षेत्रमा जाने कर्जा ८ दशमलव ८ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । केन्द्रीय बैङ्कले कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेर बैङ्कहरूलाई कुल कर्जाको १० प्रतिशत यस क्षेत्रमा प्रवाह गर्न निर्देशन दिएको छ । यसले गर्दा आगामी दिनमा उक्त क्षेत्रको कर्जा प्रवाह बढ्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि, वित्तीय सेवाको पहुँचमा अभिवृद्धि, वित्तीय साक्षरता अभियानलगायत कार्य चुनौतीपूर्ण रहेको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)