ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा बजार : मोटर बीमाको अंश बढी कृषिको न्यून

Jun 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । निर्जीवन बीमा बजारमा मोटर बीमाको अंश सबैभन्दा उच्च देखिएको छ । बीमा समितिको चैत महीनाको मासिक तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार मोटर बीमाले ४३ प्रतिशत अंश ओगटेको छ । त्यस्तै, कृषिबीमाले सबैभन्दा कम ३ प्रतिशत मात्र अंश ओगटेको उक्त तथ्याङ्कमा उल्लेख छ । सवारी दुर्घटनाबाट हुने नोक्सानीका कारण कुनै पनि पक्षलाई आर्थिक समस्या नहोस् भनेर सरकारले मोटर बीमालाई अनिवार्य लागू गरेको छ । सरकारको निर्देशनअनुसार सवारीधनीले वर्षेनि आफ्नो सवारीसाधनको बीमा गर्नुपर्ने भएकाले यसको अंश अन्यको तुलनामा बढी भएको जानकारहरू बताउँछन् । यस्तै, समितिले कृषिबीमामा आम किसानको आकर्षण बढ्दै गए तापनि बीमाक्षेत्रमा यसको अंश अत्यन्त न्यून देखिएको छ । बीमाविज्ञ रवीन्द्र घिमिरेले बीमा कम्पनीहरू सेवामुखीभन्दा पनि व्यापारमुखी हुँदा कृषिबीमाको दायरा बढ्न नसकेको बताए । अन्य बीमा व्यवसायको तुलनामा कृषिबीमामा व्यापार कम हुने भएकाले कम्पनीहरू यस कार्यक्रमप्रति उत्तरदायी नदेखिएको उनको भनाइ छ । उनले भने, ‘कृषिबीमाको दायरा बढाउन छुट्टै कृषिबीमा कम्पनी नै स्थापना गर्नुपर्छ ।’ यद्यपि, कृषिबीमा व्यवसायको शुरुआत अन्यको तुलनामा ढिलो भएकाले बीमाक्षेत्रमा यसको अंश कम देखिएको बतानेहरु पनि छन् । कृषिबीमामा आम किसानको आकर्षण बढ्दै गएकाले निकट भविष्यमा यसको अंश उच्च विन्दुमा पुग्ने उनीहरूको भनाइ छ । मोटर बीमापछि अग्निबीमा दोस्रो स्थानमा छ । तथ्याङ्कअनुसार अग्निबीमाले १९ प्रतिशत अंश ओगट्न सफल भएको छ । नेपालको मौसमी परिवर्तन र वातावरणअनुसार आगलागीको जोखीम उच्च भएकाले अग्निबीमाको व्यावसायिक कारोबार उच्च रूपमा हुने गरेको कम्पनीहरूको भनाइ छ । चालू आथिर्क वर्ष २०७४/७५ को चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले बीमाशुल्कबापत रू. १४ अर्ब ९७ करोड ३७ लाख ६२ हजार आर्जन गरेका छन् । यसमा मोटर बीमामार्फत रू. ६ अर्ब ५२ करोड ९ लाखभन्दा बढी रकम प्राप्त भएको छ । यसरी निर्जीवन बीमाक्षेत्रमा मोटर बीमाको अंश सबैभन्दा बढी देखिन्छ । कृषिबीमामार्फत रू. ४५ करोड ६ लाखभन्दा बढी बीमा शुल्क प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार अग्निबीमामार्फत भने रू. २ अर्ब ७७ करोड ७९ लाख बीमाशुल्क प्राप्त भएको छ । भौतिक संरचना तथा सम्पत्तिमा भविष्यमा हुन सक्ने नोक्सानीको रक्षावरण गर्न निर्जीवन बीमा गर्ने गरिन्छ । करार गर्दाको सम्झौताअनुसार बीमित सम्पत्तिको मालिकले तोकिएको बीमाशुल्क कम्पनीलाई बुझाउनुपर्ने हुन्छ । यदि बीमा अवधिमा बीमित सम्पत्तिमा कुनै हानिनोक्सानी भएमा कम्पनीले बीमाङ्कको परिधिमा रही वास्तविक हानिनोक्सानीको आधारमा सम्बधित पक्षलाई क्षतिपूर्ति प्रदान गर्छ । नेपालमा हाल १७ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले मोटर, कृषिसहित बीमा समितिबाट स्वीकृति भएका विभिन्न बीमालेखको व्यावसायिक कारोबार गर्दै आएका छन् । यसअतिरिक्त समितिबाट इजाजतप्राप्त अन्य ३ निर्जीवन बीमा कम्पनी पनि सञ्चालनको तयारीमा छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)