वातावरणमन्त्री कसको गाडीमा धूवाँ आइरा’छ भनेर निरीक्षण गर्न व्यस्त छन् । गृहमन्त्री ठेकेदारहरुलाई समाउँदै थुन्दै छन् । आपूर्तिमन्त्री किसानको पैसा तिर् भन्दै चिनी मिल मालिकलाई थर्काउँदै छन् । अर्थमन्त्री बढी कर कसरी उठाउने योजना बुन्दै छन्, आयोग बनाउँदै छन् । यसरी मन्त्रीहरु जनताका काममा खटिइनै रहेका छन् । त्यसो त जनताका लागि भनेर नेताहरु दशकौंदेखि लडिरहेका छन् । दिनरात मेहनत गरिरहेका छन् । कहिले क्रान्ति गरे, कहिले शान्ति छरे । कुनै बेला जनवादी गीत गाउँदै हिँडे । अहिले विकास, समृद्धि अनि धनवादी गीत गुनगुनाइरहेका छन् कहिले प्रतिपक्षमा, कहिले सरकारमा बसेर । अब भोक र रोगले कोही मर्दैन । मर्छ त आफ्नै कालगतिले कि बाटोले, गाडीले वा बाढीले । झाडापखाला, विफर, टीबी उहिल्यै उन्मूलन भइसकेको घोषणा भइसक्यो । त्यस्ता रोगबाट मर्न पाइँदैन ।
यस्तो लाग्छ, नेता मन्त्री नहुने हो भने जनताको कस्तो हालत हुन्थ्यो होला । हुँदा त यस्तो छ, नेता नहुँदा हुन् त जनताका लागि कसले लडिदिन्थ्यो ? कसले शिक्षा दिन्थ्यो ? कसले काम र माम दिन्थ्यो ? कसले दिन्थ्यो सुरक्षा र शान्ति ? कसले खोजिदिन्थ्यो विदेशमा जागीर ? कसले भथ्र्यो जीवनमा आशा ? कसले देखाउँथ्यो रेल र पानीजहाजको सपना ? कसले उठाइदिन्थ्यो कर र त्यो कर जनताका खातिर खर्च गरिदिन्थ्यो ? कसले सिकाउँथ्यो वातावरण दिवसको दिन गमलामा फूल रोप्न ? कसले रोक्थ्यो सिण्डिकेट ? कसले समात्थ्यो सुन तस्करहरुलाई ? कसले बनाउँथ्यो आयोग र आयोजना ?
जब कुनै नेता प्रतिपक्षबाट सत्तामा पुगेर मन्त्री, प्रधानमन्त्री बन्छ, उसको मनोदशा वा मनस्थिति परिवर्तन भइहाल्छ । त्यसपछि उसको परिस्थिति पनि फेरिन्छ । मन्त्री, प्रधानमन्त्री हुनेबित्तिकै टुकुचा समुद्रजस्तो देखिन थाल्छ, अनि समुद्रमा पानीजहाज कुदाउने सपना पनि शुरु हुन्छ ।
तत्व ज्ञान नभएका कारण धेरै जनतामा अज्ञान र दृष्टिभ्रम छ । त्यसैले उनीहरु प्रायः सबै कुरा नराम्रो, बिग्रिएको, भत्किएको मात्र देख्छन् । मन्त्री, नेताहरुका योजना र भाषण शब्दजाल मात्र ठान्छन् । नेताहरुलाई लुटेरा, चोर, डाका र भ्रष्टाचारी देख्छन् । मन्त्री, नेताले जनताका खातिर दिनरात नभनी अर्थात् अहोरात्र विकास र समृद्धिका लागि लडेको देख्दैनन् । त्यसैले नेपाली जनताले अब आफ्नो दृष्टि र दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । भनिन्छ नि मनस्थिति परिवर्तन नभएसम्म परिस्थिति परिवर्तन हुँदैन । मनस्थिति परिवर्तन हुनेबित्तिकै सबै कुरा राम्रैराम्रा देखिन थाल्छन् । जस्तै, जब कुनै नेता प्रतिपक्षबाट सत्तामा पुगेर मन्त्री, प्रधानमन्त्री बन्छ, उसको मनोदशा वा मनस्थिति परिवर्तन भइहाल्छ । त्यसपछि उसको परिस्थिति पनि फेरिन्छ । मन्त्री, प्रधानमन्त्री हुनेबित्तिकै टुकुचा समुद्रजस्तो देखिन थाल्छ, अनि समुद्रमा पानीजहाज कुदाउने सपना पनि शुरु हुन्छ ।
सरकारमा पुग्नेबित्तिकै पुग्ने व्यक्तिको मनोदशा नै यस्तो बन्छ कि जताततै विकासै विकास देखिन्छ । त्यसैले यो सरकारले पनि सय दिनको उपलब्धि भनेर निकै लामो लिष्ट प्रस्तुत गरेको थियो । मोदीसँगै हाच्छ्यूँ गरेको कुरादेखि पाकिस्तानीसँग हात मिलाएकोसम्म । जीवनमा सानासाना कुराको निकै महत्व हुन्छ, जुन कुरा सबैले हत्तपत्त बुझ्दैनन् वा याद गर्दैनन् । त्यसैले मान्छे मन्त्री हुनेबित्तिकै आफू खुशी हुन्छ । आफू खुशी हुनेबित्तिकै उसले चारैतिर समाजमा खुशी नै खुशी देख्छ । उसमा स्वतः दिव्य ज्ञान फुर्छ र ऊ आफू जहाँजहाँ पुग्छ, त्यहाँ धाराप्रवाह प्रवचन शृङ्खला शुरु गर्छ । शास्त्रीय सङ्गीत कसरी गाउने भन्नेदेखि पूँजीबजारको ‘प’ र मार्केटिङको ७ ‘पी’ सम्मका ज्ञान स्वतः आउन थाल्छन् । उद्योग कसरी चलाउने भन्नेदेखि विनापानी तरकारी कसरी फलाउने भन्नेसम्मका ज्ञान र शीप एकैचोटि भटाभट फुर्छन् मन्त्रीका दिमागमा । हाम्रो देशका सामान्य मनुवाले यी कुरा बुझ्दैनन् । यी कुरा नबुझेकाले सर्वसाधारणहरु मन्त्री, नेताहरुले विज्ञका कुरै सुन्दैनन् भनेर गुनासो गर्छन् ।
वास्तवमा मन्त्री, नेताहरुलाई आफू सर्वज्ञ भएका कारण विज्ञसिज्ञका कुरा सुन्नुपर्ने आवश्यकता नै रहँदैन । त्यसैले जनताले जति चाँडो यो कुरा बुझ्यो, उति आफ्नो कल्याण हुन्छ । जनता र नेताको सम्बन्ध भनेको सधैं भक्त र भगवान्को जस्तो हुनुपर्छ । त्यसैले यस्ता युगगायक, युगनायक, क्रान्तिकारी, युगान्तकारी, जनताका दुःखपीरहारी नेता, मन्त्रीहरुमा नमन छ । जय होस् !