सबस्टेशन समयमै नबन्ने समस्या :वैकल्पिक व्यवस्था गर्दै प्राधिकरण
Jun 10, 2018
 
समाचार
मुख्य खबर
काठमाडौं । निर्धारित समयभित्र सबस्टेशन नबन्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्था गरेर उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने रणनीति लिएको छ । चालू आर्थिक वर्ष (आव) र आगामी आवको अन्त्यसम्ममा सञ्चालनमा आउने जलविद्युत् आयोजनाका लागि प्राधिकरणले वैकल्पिक उपाय गर्न लागेको हो । चालू आवमा सञ्चालनमा आउने सातमध्ये २ र आगामी आवमा सञ्चालनमा आउने १२ मध्ये २ आयोजनाको विद्युत् प्रवाह वैकल्पिक माध्यमबाट गर्न लागिएको हो ।
चालू आवमा आउने लोअर मोदी जलविद्युत् आयोजना (२० मेवा)को विद्युत् जोडिने न्यू मोदी सबस्टेशन तयार नहुने भएको छ । यसको लागि युनाइटेड मोदीको स्वीचयार्डबाट लूप इन, लूप आउट गरी प्राधिकरणको मोदी प्रसारण लाइनमा प्रवाह गरिने भएको छ ।
त्यस्तै ठेउले खोला (१ दशमलव ५० मेवा)का लागि निर्धारित कुश्मा सबस्टेशन तयार नहुने भएपछि तत्कालका लागि कुस्मिसेरा सबस्टेशनमा जोडिने भएको छ । काबेली सबस्टेशन (अमरपुर) तथा फिदिम सबस्टेशनको निर्माण सम्पन्न नहुने हुँदा काबेली बी–१ (२५ मेवा), इवा खोला (९ दशमलव ९० मेवा) र तल्लो हेवा खोला (२१ दशमलव ६० मेवा)को भने विद्युत् प्रवाह पनि नहुने अवस्था छ । उक्त आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नजीक कुनै विकल्प नभएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । प्रसारण प्रणाली निर्माणमा ढिलाइ भएका कारण जलविद्युत् आयोजना निर्माणमा पनि सुस्त गर्नु परेको आयोजनाका प्रवद्र्धकहरू बताउँछन् ।
त्यसैगरी, आगामी आवमा सम्पन्न हुने १२ आयोजनामध्ये दुईओटाको विद्युत् प्रवाहका लागि प्राधिकरणले वैकल्पिक व्यवस्था गरेको छ । सोमध्ये एक माथिल्लो तामाकोशी (४५६ मेवा) रहेको छ । न्यू खिम्ती सबस्टेशनमा जोड्नुपर्ने उक्त आयोजनाको विद्युत् सबस्टेशन बनिनसक्ने भएकाले खिम्ती–ढल्केवर प्रसारण लाइनमा जोड्नुपर्ने छ ।
यो अवस्थाले न्यू खिम्ती सबस्टेशन नबन्दासम्म माथिल्लो तामाकोशीको विद्युत् सोझै काठमाडौं ल्याउन नसकी ढल्केवरतर्फ (२२० केभी प्रसारण लाइनबाट) पठाउनुपर्ने हुन्छ । साथै काठमाडौंका लागि आवश्यक विद्युत् त्यसैगरी, त्रिशूली ३ बी सबस्टेशनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता (पीपीए) भएको अपर मैलुङ ए (६ दशमलव ४२ मेवा) वैकल्पिक व्यवस्था गरी ग्राङ्गे सबस्टेशन ६६ केभीमा जोडिनेछ ।
तत्कालका लागि वैकल्पिक व्यवस्था गरेर भए पनि विद्युत् प्रवाह गर्नु सकारात्मक रहेको ऊर्जाविज्ञ खड्गबहादुर बिष्ट बताउँछन् । तर, यसरी गरिएको व्यवस्था कम गुणस्तरको हुने हुँदा जतिसक्दो चाँडो निर्धारित सबस्टेशन तथा प्रसारण लाइन नै सम्पन्न गरिनुपर्ने उनको भनाइ छ ।