विश्वमा बाँकी खाना फाल्ने समस्या विकराल रहेको हालैका विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । केही अघि मात्रै एक अध्ययनमा त अमेरिकीहरुले झण्डै आफूले पकाएकोमध्ये आधाभन्दा बढी खाना खेर फालिरहेको पाइएको थियो । त्यसैगरी अर्को एक अध्ययनमा विश्वभरि कुल पकाइएकोमध्ये एक तिहाइ हिस्सा नखाइकनै खेर फालिने गरेको तथ्य सार्वजनिक गरेको थियो । यसबाट भोकमरीले ग्रस्त अफ्रिकी देशहरुका मानिसहरुले प्राप्त गर्न सक्ने खाद्यान्न त्यसै नष्ट भइरहेको ती अध्ययनले जिकीर गरेका थिए ।
तर, अब एक जापानी रेष्टुराँले विकराल बनेको यो समस्या घटाउन अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ । जापानको सापोरो शहरस्थित हाचीको नामक उक्त रेष्टुराँले आफूकहाँ आएर खाना अर्डर गर्ने तर पूरै नखाइकनै खेर फाल्ने ग्राहकलाई दण्डित गर्ने कडा नीति अख्तियार गरेको छ । विशेषगरी समुद्री खानाहरु बढी पाइने उक्त रेष्टुराँमा आउने प्रत्येक ग्राहकले आफूले अर्डर गरेका खानाहरु प्लेटमा अन्तिम टुक्रा पनि खेर फाल्न पाउँदैनन् ।
यदि कसैले त्यसो गरेको भेटिएमा उनीहरुले मेनुमा तोकिएकोभन्दा बढी बिल तिर्नुपर्नेछ । रेष्टुराँले खाना खेर फाल्ने ग्राहकलाई लक्षित गरिएको दण्डलाई आर्थिक जरीवानाका रुपमा नभई ‘चन्दा’का रुपमा परिभाषित गरेको छ । हाचीको रेष्टुराँमा आउने ग्राहकलाई त्यहाँ कार्यरत कर्मचारीहरुले खाना ‘सर्भ’ गर्नुसँगै जरीवानाको चेतावनी दिँदै अर्डरहरु खेर नफाल्न चेतावनी दिने गर्दछन् । यसले गर्दा त्यहाँ आउने ग्राहक पनि सचेत बनेका छन् । रेष्टुराँकी एक परिचारिकाले कडा नीति अख्तियार गरिएपछि आफूले खाना खेर फाल्ने ग्राहक नदेखेको बताइन् ।