ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वकपको ज्वरोमा खरो सीडीओ

Jun 15, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
विश्वकप फूटबलको ज्वरोले विश्वका मानिसलाई हिजोदेखि राम्रै समातेको छ । नेपाल यसबाट अछूतो रहने कुरै भएन । गत १ हप्तादेखि नै के शहर के गाउँ, सबैतिर फूटबल जर्सीमय देखिन थालेका छन् । शहरका कपडा पसल विभिन्न देशका जर्सीले भरिएका छन् । अझ निजीक्षेत्रका कार्यालयमा कर्मचारीहरु अर्जेण्टिना, स्पेन, जर्मनी, ब्राजिल, फ्रान्सलगायतका देशका जर्सीमा आउन थालेका छन् । हरेक अफिस खेल मैदानभन्दा कम नदेखिने भइसकेका छन् । कुनै कर्मचारी कुनै खेलाडीका फ्यान कुनै कर्मचारी कुनै अर्कै देशका । घरघरमा समेत श्रीमान् एकातिर, श्रीमती अर्कोतिर । छोरा एउटाको फ्यान, छोरी अर्कैको । फ्यान फरक पर्दा कतिपय घर र अफिसमा बोलचालै बन्द भएको समेत सुनिन थालेको छ । सामाजिक सञ्जालमा धेरै त अर्जेण्टिनाका समर्थक वा विरोधीहरु बढी देखिन्छन् । कोही मेसीको चित्र टाउको र छातीमा टाँसेर हिँडेका छन्, कोही नेमारको वा कोही क्रिष्टियानो रोनाल्डोको त कोही कसको । यस्तो लाग्छ, मानिसले बल्ल केही उचित काम पाएका छन् । खेलाडीहरु विभिन्न कीर्तिमान तोड्न लागेका बेला यता विभिन्न देशका समर्थक नेपालीहरु एकअर्काका खुट्टा र दाँत पो तोड्छन् कि जस्तो देखिएको छ । ३२ राष्ट्रले खेल्ने यो विश्वकप फूटबलमा नेपालीहरु पनि बत्तीसै देशमा विभाजितजस्ता छन् । विश्वकपले ल्याएको यो ज्वरो हेर्दा यसपटक कत्तिको जागीर र कत्तिको घरबारै टुट्नसमेत बेर छैन । कत्तिका प्रेमीप्रेमिका छुट्न बेर छैन । किनकि द्वन्द्व बढ्ने देखिन्छ । श्रीमान्–श्रीमतीबीच वा छोराछोरीबीच वा अफिसमा कर्मचारी–कर्मचारीबीच ठूलै असमझदारी र अविश्वास बढ्ने पनि देखिन्छ । विश्वकप शुरु हुँदा नहुँदै देखिएको ठाकठुक महीना दिनभरि ठूलै द्वन्द्वको रुप नलेला भन्न सकिन्न ।
भलै समृद्धि र विकासका एउटै नारा सुन्दासुन्दा दिक्क भएका जनतालाई विश्वकपले केही दिन भने पनि हाईसञ्चो होला ।
भलै समृद्धि र विकासका एउटै नारा सुन्दासुन्दा दिक्क भएका जनतालाई विश्वकपले केही दिन भने पनि हाईसञ्चो होला । त्यस्तै भाषण फुक्दाफुक्दा थाकेका नेताहरुका गलाहरुलाई केही दिन भने पनि यो विश्वकपले केही आराम देला । किनकि यो महिना फूटबलप्रेमी दुनियाँलाई दुनियाँका दुनियाँ थरी रुमानी सपनाका गफ सुन्ने धैर्य र फुर्सद दुवै छैन । उनीहरुलाई त ‘इडियट बक्स’मा आँखा टिकाउनु छ, आफ्नो प्रिय देश वा खेलाडीलाई मनको बल दिएर जिताउनु छ । शायद यै भावना बुझेर होला सत्तामा रहेको नेकपा (स्पेशेज)का सांसद विरोध खतिवडाले विश्वकपमा नेपाललाई पनि सहभागी गराउन ठूलै जुक्ति निकालेका छन् । उनले नयाँ बानेश्वरस्थित संसद्भवनमाथि रहेको गोलाकार पानी ट्याङ्कीलाई डिजिटल प्रविधिको प्रयोग गरेर पूmटबलको रुप दिएर विश्वकप स्वागत गर्दछ भनेर लेख्नसमेत संसद्मै माग गरेछन् । वाह् ! क्या आइडिया । कुनै गोलो चिज देख्नै नहुने, फूटबल बनाउने जोश आइहाल्ने । जे होस्, नेपाली सांसदहरु जाँगरिला नै छन् । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले होसमा हो कि बेहोसमा हो, फूटबलप्रेमीको यो जोशलाई अलि मत्थर पार्ने गरी सूचना जारी गरेका छन् है ! जस्तै, खेलहरु आफ्नो कम्पाउण्डभित्र मात्रै देखाउन पाइने रे । देखाउनै परे पनि पुलिसको स्वीकृति लिएर मात्र पाइने रे । तर, पहिलेपहिले जस्तो कुनै टिकट बेच्न नपाइने रे । मदिरा पिउँदै फूटबल हेर्न पनि नपाइने रे । के मजा आउँछ र विनादारु फूटबल हेर्दा ? यसै पनि बजेटमा ह्वात्तै कर बढाइदिएर मदिरा किन्नै नसक्ने बनाएकै थियो सरकारले । अब पिउन पनि नपाउने रे लौ । अझ सीसीटीभी राख्नुपर्ने रे । गोल हान् भनेर खेलाडीलाई प्रोत्साहन दिन कराउन पनि नपाइने रे । आफूलाई मनपर्ने खेलाडीले गोल हान्यो भनेर आफ्नो वा अर्काको तिघ्रा ठटाउन पनि नपाइने रे । अनि पुरस्कार लिन पनि नपाइने रे । पहिलेपहिले डाबर नेपाललगायतले ‘स्पट द बल’ भनेर पुरस्कारको व्यवस्था गरेका हुन्थे । अब त्यो पनि लिन नपाइने भो । भनेसी देशमा साम्यवाद आइसकेकै हो कि क्या हो, हँ ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)