ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुल कर्जाको ५७% प्रदेश ३ मा

Jun 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले सबैभन्दा बढी कर्जा प्रवाह प्रदेश नं. ३ मा गरेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालको जनसाङ्ख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थितिबारे गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार बैङ्कहरूमार्फत प्रवाह भएको कुल कर्जाको ५६ दशमलव ८६ प्रतिशत उक्त प्रदेशको कृषि, उद्योग, निर्माण, विद्युत्, पर्यटनलगायत क्षेत्रमा भएको छ । २०७४ असार मसान्तसम्म कुल प्रवाह भएको कर्जा रू. १९ खर्ब ६७ अर्ब रहेको छ । त्यसमध्ये रू. ११ खर्ब १९ अर्ब प्रदेश नं. ३ मा प्रवाह भएको छ । देशको राजधानीका साथै यस आसपासका क्षेत्रमा जनघनत्व बढी भएकाले पनि कर्जा प्रवाह बढी भएको केन्द्रीय बैङ्कको भनाइ छ । त्यसमा पनि काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, चितवन लगायतका उद्योग व्यवसाय धेरै भएका क्षेत्र यही प्रदेशमा रहेकाले लगानीको बढि देखिएको बैङ्क बताउँछ । यो प्रदेश निक्षेप सङ्कलनमा समेत अग्रणी छ । बैङ्कहरूले सङ्कलन गरेको कुल निक्षेप रू. २२ खर्ब ८५ अर्बमध्ये रू. १६ खर्ब ३८ अर्ब यसै प्रदेशबाट सङ्कलन भएको छ । प्रतिवेदनअनुसार प्रदेश नं. ३ मा प्रवाह भएको कर्जामध्ये उद्योगमा सबैभन्दा बढी रू. १ खर्ब ८२ अर्ब रहेको छ । यस अतिरिक्त निर्माणमा रू. १ खर्ब १८ अर्ब, विद्युत्मा रू. ५५ अर्ब, पर्यटनमा रू. ४२ अर्ब, कृषिमा रू. ३६ अर्ब ७६ करोड र अन्यमा रू. ६ खर्ब ८२ अर्ब कर्जा प्रवाह भएको छ । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा निक्षेप र कर्जा प्रवाहको स्थिति कम छ । आव २०७३/७४ असार मसान्तसम्म उक्त प्रदेशबाट रू. २६ अर्ब ९ करोड निक्षेप सङ्कलन भएर रू. २३ अर्ब ५० करोड कर्जा प्रवाह भएको छ । कर्णाली प्रदेशमा विद्युत्मा सबैभन्दा न्यून रू. ५ करोड २० लाखमात्र कर्जा प्रवाह भएको छ भने कृषि र उद्योगमा बराबर १ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै निर्माणमा रू. २ अर्ब ८४ करोड र पर्यटनमा रू. ७५ करोड कर्जा प्रवाह भएको छ । बैङ्क शाखामा पनि प्रदेश ३ अगाडि २०७४ चैत मसान्तसम्मको तथ्याङ्कअनुसार वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्त कम्पनीका गरी कुल ३ हजार ६ सय ७३ शाखा सञ्चालनमा छन् । त्यसमध्ये सबैभन्दा बढी १ हजार २ सय ६३ शाखा प्रदेश नं. ३ मा रहेका छन् भने सबैभन्दा कम १ सय १३ कर्णाली प्रदेशमा छन् । अध्ययनले बैङ्क तथा वित्तीय संस्थाको एउटा शाखाले प्रदेश नं. २ मा सबैभन्दा बढी १७ हजार ९ सय ७३ जनालाई र प्रदेश नं. ४ मा सबैभन्दा कम ४ हजार ६ सय ४० जनालाई सेवा दिने देखाएको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७५ वैशाख मसान्तसम्ममा ५ सय १० तहमा वाणिज्य बैङ्कको उपस्थिति भइसकेको छ । शाखा विस्तार गर्न बाँकी स्थानीय तहमा २०७५ असारभित्रै शाखा विस्तार गरी सक्नुपर्ने नीतिगत व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)