दक्षिणपूर्वी चीनको हाइनान द्विपस्थित यो क्यासिनोमा पहिलोपटक पुग्नुभयो भने त्यहाँ जुवाडेहरुले अन्य जुवाघरहरुमा झैं सामान्य ढङ्गले नै बाजी थाप्दै जुवा खेलिरहेको देख्नुहुनेछ । तर, विश्वको सबैभन्दा ठूलो जुवा केन्द्र मकाउबाट १ घण्टामा हवाईजहाजबाट पुगिने हाइनानको यो क्यासिनो अन्य कुनै पनि ठाउँको भन्दा निकै भिन्न छ । किनभने त्यहाँ नगद नभई अङ्क प्रयोग गरिन्छ । जेष्टर क्यासिनो बार भर्खरैमात्र सञ्चालनमा ल्याइएको म्यानग्रोभ ट्री रिसोर्ट वल्र्डको एक भागका रुपमा रहेको छ । यो क्यासिनोमा जुवा खेलेर अङ्क जित्नेहरुले ती अङ्कलाई रिसोर्टमै बस्न, खानपिन गर्न, गहना, कलाकृतिलगायत विविध विलासी वस्तुहरु किन्न खर्च गर्न सक्ने छन् । त्यस्ता अङ्कलाई ‘म्यानग्रोभ प्वाइण्ट्स’ नाम दिइएको छ ।
त्यहाँ गएर जुवा खेलेर अङ्क हात पार्न भने शुरुमा नगद तिर्नुपर्ने नियम छ । जुवाडेहरुले कुनै पनि खेल खेल्नुभन्दा अघि एउटाको ५ सय युआन (८० अमेरिकी डलर) पर्ने टिकटहरु किन्नुपर्छ । क्यासिनोमा क्षेत्रअनुसार बाजीको न्यूनतम र अधिकतम सीमा पनि तोकिएको छ । जसअनुसार साधारण क्षेत्रमा खेल्ने जुवाडेहरुले न्यूनतम २० देखि अधिकतम २ हजार युआनसम्म खेल्न सक्छन् । उता, विशेष क्षेत्रमा खेल्ने जुवाडेहरुले भने २ हजार युआनदेखि १ लाख युआनसम्मको बाजी थाप्न सक्छन् । त्यसरी बाजी थापेर जित्नेहरुले रिसोर्टभित्रै रहेका स्टोरबाट म्यानग्रोभ अङ्कबाट आईप्याड थ्री, रिमोवा लक्जरी सुटकेश र महँगा कलाकृति खरीद गर्न सक्ने छन् । रिसोर्टको निर्माण सम्पन्न भइसकेपछि आगामी वर्षदेखि प्राडा र लुइस भुइट्टोनजस्ता लक्जरी क्लोथिङ स्टोर पनि सञ्चालनमा ल्याइने बताइएको छ ।
कला, फिल्म तथा रियल इस्टेट व्यापारी झाङ बाओक्वानको स्वामित्वमा रहेको यो क्यासिनो मकाउबाहिर सरकारले खोल्ने अनुमति दिएको पहिलो क्यासिनो हो । झाङका अनुसार चाइना डेभलपमेण्ट बैङ्कको लगानीमा निर्माण भइरहेको छ । ‘स्थानीय सरकारलाई यो परियोजनाप्रति अत्यन्त सकारात्मक पाएको छु,’ उनले भने । परम्परागत मान्यताअनुसार चीनमा जुवा खेल्नुलाई नराम्रो मान्ने गरिए पनि वर्तमानमा परिस्थिति भिन्न बनेको उनको कथन थियो । ‘अहिले जुवा वित्तीय साधन बन्न पुगेको छ,’ झाङको दाबी थियो । उत्तर कोरियाजस्तो कडा नीतिनियम भएको साम्यवादी राष्ट्रमा समेत दुईओटा क्यासिनो रहेका उदाहरण उनले प्रस्तुत गरे ।