ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा चर्कियो

Jun 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल बैङ्कर्स सङ्घले निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा नबढाउन गराएको भद्र सहमति पालना गर्न बैङ्क तथा वित्तीय संस्था बाध्य नहुने बताएको १ हप्ता नबित्दै निक्षेपको ब्याजदर वृद्धिमा प्रतिस्पर्धा चर्किएको छ । ५ महीनाअघि ब्याजदर बढाबढले अस्थिरता बढाउने भन्दै सङ्घले भद्र सहमतिका नाममा ब्याजदर नियन्त्रणको प्रयास गरेको थियो । पछिल्लो समय बजार तथा बैङ्कहरूबाटै आएको दबाब थेग्न नसकेर सङ्घले सो सहमति पालना गर्न बैङ्कहरू बाध्य नहुने बताएको थियो । योसँगै बजारमा निक्षेपको ब्याजदर बढाउन बैङ्कहरूबीच प्रतिस्पर्धा शुरू भएको हो । मुद्दती निक्षेपमा ११ प्रतिशत र बचतमा ८ प्रतिशत ब्याजदरको सीमा कायम नरहेपछि बैङ्कहरूले त्यस्ता निक्षेपमा क्रमशः साढे १२ प्रतिशत र १० प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरिसकेका छन् । पछिल्लो समय ब्याजदर बढाउनेमा सेञ्चुरी, एनआईसी एशिया, प्राइम, सिद्धार्थ, सानिमा र माछापुच्छ्रे बैङ्क रहेका छन् । यस्तै लक्ष्मी बैङ्कले ठूला निक्षेपकर्तालाई लक्षित गर्दै ब्याजदर बढाए पनि सार्वजनिक गरेको छैन । लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ थप निक्षेप आकर्षण गर्न र ठूला निक्षेपकर्तालाई टिकाइराख्न ब्याजदर बढाउनु जरुरी भएको बताउ“छन् । रू. ५ करोडदेखि माथिका निक्षेपकर्ता लक्षित गरी ब्याजदर बढाएको उनले बताए । नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजारको स्थिति हेरेर ब्याजदर निर्धारण गर्न बैङ्कहरू स्वतन्त्र रहेको बताउँछन् । ‘ब्याजदर बजारले निर्धारण गर्ने कुरा भएकाले सङ्घले सीमा तोक्नु हुँदैन भनेर खुला गरिएको हो,’ उनले भने, ‘यसमा अर्थ मन्त्रालय, राष्ट्र बैङ्कले अनुगमन गर्न सक्छन् ।’ बैङ्कहरूले ब्याजदर बढाएको सन्दर्भमा नेपाल बैङ्कर्स सङ्घले राष्ट्र बैङ्क र अर्थ मन्त्रालयमा समेत जानकारी दिएको बताइएको छ । सङ्घका केही पदाधिकारीले गभर्नर डा. चिरञ्जीवी नेपालसँग भेटेर निक्षेपको ब्याजदर धेरै बढ्न थाले कर्जामा प्रभाव पर्ने भन्दै ब्याजदरतर्फ केन्द्रित गरी ध्यानाकर्षण गरिएको स्रोतको भनाइ छ । उक्त विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनीहरूको आशय थियो । उद्योगी व्यवसायीहरूको भने ब्याजदर वृद्धिको प्रतिस्पर्धाले कर्जाको ब्याजदरमा असर पर्ने गुनासो छ । खुलाबजार अर्थतन्त्रमा ब्याज निर्धारणको अधिकार बैङ्कलाई भए पनि अर्थतन्त्रले धान्न सक्ने हदसम्म मात्र हुनुपर्ने उनीहरूको तर्क छ । यस्तै पूँजीबजारका लगानीकर्ताहरू यसको प्रभाव पूँजीबजारमा पर्ने आशङ्का गर्छन् । बजारले ब्याजदर कायम गर्ने र बैङ्कहरूमा तरलता स्थिर रह्यो भने ब्याजदर पनि स्थिर रहने सङ्घको भनाइ थियो । नेपाल राष्ट्र बैङ्कको एकीकृत निर्देशनमा ३/३ महीनाको अन्तरालमा २ प्रतिशतभन्दा घटबढ हुने गरी ब्याजदर परिवर्तन गर्न नपाउने उल्लेख छ । ‘पर्ख र हेर’मा विकास बैङ्कर्स सङ्घ वाणिज्य बैङ्कहरूले मुद्दती निक्षेपको ब्याजदर बढाउन थालेपछि विकास बैङ्कहरूको ध्यान पनि ब्याजदरमा केन्द्रित भएको छ । वाणिज्य बैङ्कहरूले पनि विकास बैङ्कसरह नै ब्याज दिन थालेपछि उनीहरू अन्योलमा परेका हुन् । हाल केहीबाहेक सबै विकास बैङ्कले मुद्दती निक्षेपमा करीब १२ प्रतिशत ब्याज दिइरहेका छन् । वाणिज्य बैङ्कले समेत सोही दरमा ब्याजदर दिन थालेपछि विकास बैङ्कर्स सङ्घको बैठकमा चर्चा भएको सङ्घका महासचिव प्रद्युम्न पोखरेलले जानकारी दिए । ब्याजदर बढाउने वा नबढाउनेबारे निर्णय भने नगरेको उनले बताए । ‘विकास बैङ्कहरू ‘पर्ख र हेर’को अवस्थामा छन्,’ उनले भने, ‘मौद्रिक नीति सार्वजनिक हुने दिन नजीकै भएकाले त्यसमा केही सम्बोधन हुने अपेक्षा छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)