कुनै पनि मानिस जन्मिएको महीनाकै आधारमा उसले कुन पद पाउँछ भनेर भविष्यवाणी गर्नु विज्ञानसम्मत त नहोला । तर, हालै गरिएको एक अध्ययनमा भने जुन र जुलाई (पूर्वीय तिथिअनुसार जेठ मध्यदेखि साउन मध्यसम्म) महीनामा जन्मिएका मानिसहरुले कम्पनीको नेतृत्वदायी पद अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सम्भावना कम रहेको दाबी गरिएको छ । क्यानडाको युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाअन्तर्गतको साउडर स्कूल अफ बिजनेशका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनअनुसार मार्च र अप्रिल (फागुन मध्यदेखि वैशाख मध्यसम्म)मा जन्मिएकाहरुले भने संस्थाहरुको नेतृत्व सम्हाल्ने सम्भावना सबैभन्दा बढी रहेको पाइएको छ ।
अनुसन्धानकर्ताहरुले यो कुनै ज्योतिषीले ग्रह–नक्षत्र हेरेर गर्ने भविष्यवाणीमा जस्तो नभई उत्तर अमेरिकी विद्यालयहरुले साना बालबालिकालाई गर्ने भर्नामा आधारित भएको बताएका छन् । अमेरिकी र क्यानडाली विद्यालयहरुले बालबालिकाहरुले किण्डरगार्टनमा भर्ना गर्नका लागि लागू गर्ने ‘कट अफ’ समयले यसमा प्रमुख भूमिका खेल्ने उनीहरुको भनाइ छ । उत्तर अमेरिकी शिक्षा नीतिअनुसार किण्डरगार्टनमा भर्ना हुन कुनै पनि बालबालिकाले ५ वर्षको उमेर पार गरेकै हुनुपर्छ । तर, एउटै सत्रमा सबै बालबालिको उमेर ५ वर्ष पूरा नहुने भएकाले विद्यालयहरुले सकेसम्म बढी विद्यार्थी भर्ना हुन पाऊन भन्ने उद्देश्यले ‘कट अफ डेट’ लागू गर्छन् । यसबाट जुन–जुलाईमा जन्मिएर त्यो समयमा भर्ना हुनेहरु आफ्नो कक्षामा सबैभन्दा कान्छो हुने भएकाले उनीहरुलाई अन्यको तुलनामा पढाउन र सिकाउन कठिन हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । उनीहरुले एस एण्ड पी ५०० शेयर सूचकाङ्कमा सूचीकृत कम्पनीहरुका सीईओहरुमध्ये ६ दशमलव १ प्रतिशत जुन र ५ दशमलव ९ प्रतिशत मात्रको जुलाईमा जन्मतिथि पाइएको उल्लेख गरेका छन् । उता, मार्च र अप्रिलमा जन्मिएका सीईओहरु क्रमशः साढे १२ प्रतिशत र १० दशमलव ७ प्रतिशत रहेका अनुसन्धानकर्ताहरुको कथन छ ।