अभाव पनि उत्पे्ररणादायी तत्व हो भन्ने कुरा हालै पेरुको एक विश्वविद्यालयका अनुसन्धानकर्ताले खानेपानी उत्पादन गर्ने प्रविधि बनाएर पुष्टि गरेका छन् । खानेपानी सधंैजसो अभाव भइरहने राजधानी लिमाको दयनीय अवस्थालाई ध्यान दिँदै उनीहरुले विज्ञापनका लागि प्रयोग हुने बिलबोर्ड (जसलाई हामी सामान्यतया होर्डिङबोर्ड भन्छौं)लाई नयाँ ढङ्गले विकास गरेर यो प्रविधिको निर्माण गरेका हुन् । युनिभर्सिटी अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी र मायो ड्राप्mट एफसीबी नामक एक विज्ञापन एजेन्सीले सहकार्य गर्दै निर्माण गरेको उक्त बिलबोर्डले हावामा रहेका पानीका कणहरुलाई सोस्दै स्वच्छ खानेपानी उत्पादन गर्छ ।
यसमा राखिएका विशेष जेनेरेटरहरुले हावामा रहेका पानीका कण सोस्ने गर्दछन् । त्यसरी सोसिएका कणलाई स्वच्छ पार्दै (फिल्टर गरेर) खानेपानीमा परिणत गरिन्छ । फिल्टर गरिएका पानीलाई बिलबोर्डसँगै बनाइएका २० लिटरका ट्याङ्कीमा जम्मा गरिन्छ । त्यसरी जम्मा गरिएको पानीलाई बिलबोर्डको मुनि राखिएको धाराबाट लिएर पिउन सकिन्छ ।
औसतमा प्रतिवर्ष एक इञ्चमात्र पानी पर्ने लिमा शहरमा चल्ने हावामा आर्द्रता भने ९८ प्रतिशत हुने तथ्य फेला परेपछि अनुसन्धानकर्ताहरु हौसिएका हुन् । विश्वविद्यालयका अनुसार उक्त बिलबोर्डबाट ३ महीनाको अवधिमा ९ हजार ४ सय ५० लिटर खानेपानी उत्पादन भएको छ । यो हावाबाट खानेपानी उत्पादन गर्ने विश्वकै पहिलो बिलबोर्ड भएको विश्वविद्यालयको दाबी छ । आगामी दिनमा यो प्रविधिलाई देशभरि नै फैलाउने योजनासमेत विश्वविद्यालय र एजेन्सीले बनाएका छन् । स्वच्छ खानेपानीको अभावले पेरुको लिमाजस्तै ग्रसित हाम्रो देशमा पनि हावाको आर्द्रतालाई मापन गरेर यस्तै सृजनशील प्रविधिको विकास गर्ने कि ?