ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोनस र हकप्रद शेयरमा लाभकर : भारित औसत लागतको आधार लिन सुझाव

Jun 19, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड र सीडीएससी तीनओटै निकायले हकप्रद र बोनस शेयरमा पूँजीगत लाभकर गणना गर्दा भारित औसत लागतलाई आधार बनाउनुपर्ने सुझाव दिएका छन् । ती तीन निकायले पूँजीगत लाभकरसम्बन्धमा उठेको विवाद समाधानका लागि गठित समितिलाई सोमवार बुझाएको सुझावमा यस्तो उल्लेख भएको स्रोतले बताएको छ । आन्तरिक राजस्व विभागले जेठ २० गतेदेखि नै बोनस र हकप्रद शेयरमा अङ्कित मूल्यको आधारमा अग्रिम पूँजीगत लाभकर असुल गर्न ती निकायलाई निर्देशन दिएपछि विवाद शुरू भएको थियो । विवाद टुङ्ग्याउन जेठ २२ गते अर्थ मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको थियो । समितिले १५ दिनभित्र अर्थ मन्त्रालयलाई सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्ने समयावधि दिइएको छ । समितिमा तीनओटै निकायको प्रतिनिधित्व रहेको छ । स्रोतका अनुसार भारतमा जस्तै अल्पकालीन र दीर्घकालीन लगानीको आधारमा लाभकर गणनाको विधि अपनाउनसमेत सुझाव दिइएको छ । आन्तरिक राजस्व विभागले यसअघिको हकप्रद र बोनस शेयरको औसत आधार मूल्यको आधारमा लाभकर गणना गर्ने विधि परिमार्जन गर्दै अङ्कित मूल्यको आधारमा लाभकर गणना गर्न निर्देशन दिएपछि लगानीकर्ता असन्तुष्ट थिए । यसअघि लगानीकर्ताले हकप्रद र बोनस शेयर नेप्सेमा समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औसत आधार मूल्यभन्दा बढीमा शेयर विक्री गर्दाको अवस्थामा भएको आम्दानीको आधारमा पूँजीगत लाभकर तिर्दै आएका थिए । अहिलेको सुझाव कार्यान्वयन भएमा औसत आधार मूल्यकै आधारमा लागत हिसाब गरिनेछ । तर त्यस्तो औसत शेयर सङ्ख्याको भारका आधारमा हिसाब गरिने छ । यसबाट लगानीकर्ताले घाटा बेहोर्नु नपर्ने सम्बद्ध निकायहरूको भनाइ छ । घाटामा कर नतिर्ने भन्ने लगानीकर्ताको मागलाई सम्बोेधन गर्दै सुझाव पेश गरेको जानकारी सम्बन्धित निकायहरूले दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)