ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनसँग आठ सम्झौता

Jun 21, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा बुधवार विभिन्न आठ सम्झौता भएका छन् । ओलीको उपस्थितिमा चिनियाँ लगानीमा नेपालमा ८ सय ७९ मेगावाट क्षमताका चार परियोजना निर्माण गर्नेदेखि सिमेण्ट उद्योगमा चिनियाँ लगानी भित्र्याउनेसम्मका सम्झौता भएका हुन् । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीको सहकार्यमा निर्माण हुन लागेको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना सम्झौता भएको छ । सो परियोजना अगाडि बढाउनेसम्बन्धी सम्झौतामा बुटवल पावर कम्पनीका अध्यक्ष पद्मज्योति र चिनियाँ लगानीकर्ताबीच ‘फ्रेमवर्क एग्रीमेण्ट’ भएको छ । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको त्रिशूली गल्छी जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौतासमेत भएको छ । धादिङको गल्छीमा आयोजनास्थल रहने सो आयोजना अगाडि बढाउन यसअघि नै सिद्धकाली पावरले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरेको थियो । चिनियाँ कम्पनी डोङफ्याङ इण्टरनेशनल कर्पाेरेशनले सो परियोजना निर्माण गर्ने भएको छ । डोङफ्याङ टर्वाइन तथा जेनेरेटर उत्पादक कम्पनी हो । यो आयोजना इञ्जिनीयरिङ, खरीद निर्माण र वित्तीय व्यवस्थापन (इपीसीएफ) ढाँचामा निर्माण गर्नेसम्बन्धी सम्झौता भइसकेको छ । आयोजना निर्माण साउनदेखि शुरू गर्ने तयारी छ । सम्झौतामा सिद्धकाली पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र डोङफ्याङका प्रतिनिधिले हस्ताक्षर गरे । हाइड्रो सोलुसन प्रवर्द्धक रहेको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हाइड्रो सोलुशनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र चिनियाँ लगानीकर्ताले हस्ताक्षर गरेका थिए । यो आयोजना म्याग्दी जिल्लामा पर्छ । दैनिक ३ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने हुवासिन सिमेण्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेण्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरे । हुवासिनले रू. १४ अर्ब ४० करोड लगानी गर्ने सो परियोजनाले १ हजार जनालाई रोजगारी दिनेछ । धादिङमा रहेको चुनढुङ्गा खानी प्रयोग गरेर सिमेण्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ । कम्पनीले आगामी ६ महीनाभित्र कारखाना स्थापना गर्ने बताइएको छ । सोही अवसरमा पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको विरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्ष्ट्रक्शन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनले समझदारीपत्रमा हस्ताक्षर गरे । यस्तै, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनामा ४ करोड ६० लाख डलर लगानी गरिनेछ । यस्तै, १ सय ६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुशनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेण्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इं र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीका प्रतिनिधिबीच इपीसीएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल पश्मिना उद्योग सङ्घ र ओबोर परियोजनाअन्तर्गत अन्तरराष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पश्मिना खरीदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सङ्घका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तरराष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याले समझदारीपत्रमा हस्ताक्षर गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)