ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाहिरी चक्रपथ कार्यान्वयनमा ढिलाइ : जग्गा प्राप्तिका लागि ‘फाइल’ पुनः मन्त्रिपरिषदमा

Jun 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । सरकारी निर्णय नै अस्पष्ट हुँदा बाहिरी चक्रपथ विकास तथा विस्तार कार्यान्वयनमा ढिलाइ भएको छ । झण्डै ७२ किलोमिटर (७१.९३ किमी)को बाहिरी चक्रपथको पहिलो चरणमा निर्माण गरिने चोभार–गम्चा–सतुङ्गलको ६ दशमलव ६ किमी खण्डको जग्गा प्राप्तिका लागि स्पष्ट व्यवस्था नहुँदा चक्रपथ विस्तारको कार्यमा ढिलाइ भएको हो । १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणको कार्यलाई अघि बढाउन मन्त्रिपरिषद् बैठकले गत वैशाख ४ गते स्वीकृति दिएको थियो । तर, मन्त्रिपरिषद्को बैठकले उक्त खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरे पनि जग्गा अधिग्रहण र हस्तान्तरणका विषयमा स्पष्ट व्यवस्था नगरेपछि अहिले जग्गा प्राप्ति र हस्तान्तरणको विषयलाई स्पष्ट पार्न ‘जग्गा प्राप्तिको फाइल’ पुनः मन्त्रिपरिषद्मा पेश गर्न लागिएको बाहिरी चक्रपथ विकास आयोजनाका अधिकृत धु्रव सापकोटाले बताए । उनले भने, ‘सो फाइल आगामी सोमवार÷मङ्गलवार नै मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरिएको छ ।’ मन्त्रिपरिषद्को आगामी बैठकले जग्गा प्राप्ति गर्दा विकसित घडेरी जग्गाधनी, मोहीलाई नै फिर्ता दिने गरी जग्गा प्राप्ति ऐनअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने विषय थप गर्नुपर्ने उनले बताए । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अहिले जग्गा अधिग्रहण गर्न कुनै समस्या छैन । तर, अधिग्रहण गरिएको जग्गा सरकारको नाममा जाने भएको हुँदा अहिले प्राधिकरणअन्तर्गतको आयोजनाले काम अघि बढाउन सकेको छैन । प्राधिकरणका शहरी योजनाकार भागवतभक्त खोखालीले मन्त्रिपरिषद्को बैठकले अब निर्णय गर्दा जग्गा अधिग्रहण गरेर प्राधिकरणअन्तर्गतको आयोजनालाई हस्तान्तरण गर्नुपर्छ भन्ने उल्लेख हुनुपर्ने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार जग्गा अधिग्रहण गरी काठमाडौं उपत्यका प्राधिकरणलाई हस्तान्तरण गरिने भनी अब स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको १ सय दिन पुगेको दिन नै बाहिरी चक्रपथ विस्तारको उक्त खण्डको औपचारिक शिलान्यास गर्ने तयारी गरिएको थियो । तर, पछि जग्गा प्राप्ति तथा जग्गा अधिग्रहण कार्यमा स्पष्ट व्यवस्था नहुँदा यो प्रक्रिया थप लम्बिएको छ । आयोजनाले उक्त क्षेत्रमा जग्गा अधिग्रहण गरी ल्याण्ड पुलिङ (जग्गा विकास) गरी स्वयम् जग्गाधनीलाई नै हस्तान्तरण गर्नेछ । चालू आर्थिक वर्षदेखि नै औपचारिक निर्माणको काम शुरू गरिने भनिए पनि यी प्रक्रियाका कारण बाहिरी चक्रपथको काम तत्काल शुरू नहुने देखिएको छ । अहिले तत्काल उक्त खण्डको काम शुरू नहुँदा त्यस क्षेत्रमा घरहरू तथा अन्य संरचनाको निर्माण बढ्ने सम्भावना देखिएको छ । उक्त खण्डको चक्रपथ निर्माण र जग्गा विकासका लागि साढे ६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)