ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैङ्क र मर्चेण्ट बैङ्करलाई ब्रोकर लाइसेन्स दिनुपर्छ

Jun 24, 2018  
अन्तरवार्ता लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
३५ वर्ष गार्मेण्ट उद्योग सञ्चालनपछि पूँजीबजारमा प्रवेश गरेका छोटेलाल रौनियार हाल नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छन् । विगत ८ वर्षदेखि यो क्षेत्रमा क्रियाशील उनी जीवनभर यही क्षेत्रमा रहने बताउँछन् । नकारात्मक विचारधाराबाट पछि हटेर पूँजीबजारको विकास र विस्तारका लागि सम्बद्ध निकायले बोलेका कुरा यथाशीघ्र कार्यान्वयनमा ल्याउन उनी सुझाउँछन् । वाणिज्य बैङ्क र मर्चेण्ट बैङ्करहरूलाई पनि ब्रोकर लाइसेन्स दिएर ७७ ओटै जिल्लामा पूँजीबजारको पहुँच पुर्‍याउनुपर्ने उनको माग छ । प्रस्तुत छ, समग्र लगानीकर्ताको चासोका विषयमा केन्द्रित रही उनीसँग आर्थिक अभियान राष्ट्रिय दैनिकका प्रजिता बुढाथोकीले गरेको कुराकानीको सार : पछिल्लो समय शेयर बजार सुधारिन नसक्नुको मुख्य कारण के जस्तो लाग्छ ? लामो अवधिदेखि शेयर बजार घट्नुमा धेरै कारण छन् । यसमा मुख्य कारण शेयरको आपूर्ति बढी हुनु हो । आपूर्ति कसरी बढी भयो भने ३ वर्षअघि राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत बैङ्क तथा वित्तीय संस्थाहरूको पूँजीवृद्धिलाई जोड दियो । यसमा राष्ट्र बैङ्कको एकदमै राम्रो आशय थियो । त्यो हो, बैङ्कहरू कम होऊन् तर चुक्तापूँजी र जगेडा कोषमा बलिया होऊन् । तर, त्यो समय राष्ट्र बैङ्कले हकप्रद शेयरमा अङ्कुश लगाएन । त्यसले गर्दा धेरै बैङ्क, जसलाई खराब बैङ्कभन्दा पनि फरक नपर्ने अवस्थाका थिए, ती सबैले मर्जरमा नगई जबर्जस्ती तरीकाले हकप्रदको माध्यमबाट पूँजी पु¥याए । सँगसँगै बीमा समितिले पनि त्यही नीति अघि सार्‍यो । यसले गर्दा शेयर आपूर्ति बढ्यो तर माग बढाउने खालको वातावरण बनाउनेतर्फ कसैको ध्यान गएन । बैङ्कहरूले ब्याजदर बढाएका कारण पनि बजार प्रत्यक्ष रूपमा प्रभावित भएको छ । अनि हाम्रो बजारमा नकारात्मक विषयको बढी प्रचारप्रसार हुन्छ । अहिले अनलाइन प्रणाली आउने तयारी अन्तिम चरणमा छ । कतिपय मिडियाले यो समयमै आउँदैन, विभिन्न कठिनाइ छन् भन्दै नकारात्मक टिकाटिप्पणी गर्ने गरेका छन् । हाल ५० जना ब्रोकरले मात्र लाइसेन्स लिएर बसिरहेका छन् । यिनीहरूले काठमाडौंका लगानीकर्ता मात्र समेटेर बसेकाले पनि नेप्सेले गति लिन नसकेको मेरो धारणा छ । पूँजीबजार सुधारका लागि भइरहेको पहललाई लगानीकर्ताले कसरी हेरेका छन् ? पूँजीबजारमा ३/४ वर्षअघि राम्रो नाफा देखियो । यसको सकारात्मक सन्देश लगानीकर्तामा पनि गयो । त्यतिबेला धेरै लगानीकर्ताले नाफा पनि कमाएका थिए । हामी नेपालीको बानी के छ भने केमा राम्रो हुन्छ, त्यसमा ह्वात्तै लगानी गर्ने । अहिले गृहिणी महिलादेखि विद्यार्थी, सरकारी कर्मचारी, प्राइभेट सेक्टरका कर्मचारीलगायत हरेक क्षेत्रका मानिस पूँजीबजारमा आएका छन् । आफ्नो थोरै तलबबाट पनि बचाएर शेयरमा लगानी गर्नेहरू धेरै देखिन्छन् । पछिल्लो समय पूँजीबजारमा भएको पहलका कारण नै लगानीकर्ताको आकर्षण बढेको जस्तो लाग्छ, जसले गर्दा यस क्षेत्रका प्राविधिक विषयबारे स्पष्ट नभएमा हामीसँग सोध्न पनि आउने गरेका छन् । म सकेसम्म सबैलाई बुझाउने गर्छु । सधैं एउटै नारा लिएर लगानीकर्ता साथीहरूलाई बुझाउँदै आएको छु । त्यो नारा भनेको ‘उचित ब्याजदरका लागि दीर्घकालीन लगानी’ हो । आफूसँग भएको पैसामध्ये ७० प्रतिशत दीर्घकालका लागि र ३० प्रतिशत अल्पकालका लागि लगानी गर्न सुझाव दिने गरेको छु । यसो गर्दा जोखीम कम हुने मेरो अनुभव छ । तपाईंहरूको संस्था लगानीकर्ताको हितमा काम गर्न सङ्गठित छ, पू“जीबजारसम्बन्धी चेतना जगाउने खालका के कस्ता काम गर्नुभएको छ ? हाल पूँजीबजारको विकास, विस्तार र लगानीकर्ताको हकहितका लागि तीनओटा सङ्गठन मिलेर काम गरिरहेका छौं । उद्देश्य एउटै भएकाले तीनओटा सङ्गठन एक हुने कि भन्नेमा पनि हामी गएका छौं । लगानीकर्तालाई पूँजीबजारमा भित्रिएका प्रविधिका बारेमा जानकारी गराउने खालका कार्यक्रम पनि गर्दै आएका छौं । पछिल्लो समय सी–आस्बा प्रणालीका बारेमा धेरै लगानीकर्तालाई बुझाएका छौं । समयसमयमा अन्य निकायले गरेको कार्यक्रममा पनि गएर पूँजीबजारसम्बन्धी जनचेतना फैलाउने काम गरिरहेका छौं । सामाजिक सञ्जालको सहायताबाट व्यक्तिगत रूपमा पनि लगानीकर्ताको गुनासो मेटाउने गरेका छौं । लगानीकर्ताहरूलाई सकेसम्म कम्पनीको प्राविधिक तथा आधारभूत विश्लेषण गरेर मात्र लगानी गर्न भन्ने गरेका छौं । पूँजीबजारमा मेरो अनुमानमा ३० लाख लगानीकर्ता पत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी छन् । धेरैजसो लगानीकर्ता अझै पनि पूँजीबजारको विषयमा अनभिज्ञ नै छन् वा विस्तारै चेतनाको स्तर पनि बढ्दै छ । यो क्षेत्रमा बुझेर लगानी गर्नेहरूको अनुभव सुन्नुभयो भने कोही निराश हुनुपरेको छैन । राम्रो कम्पनीमा लामो समयका लागि लगानी गर्नेहरूले लाखबाट करोडौं कमाएका उदाहरण पनि छन् । बजार घट्नु–बढ्नु आफ्नो ठाउँमा छ । बजारमा उतारचढाव आउनैपर्छ । यस्तै बेला हो लगानीकर्ताले कमाउने । बजार एकनाशको भयो भने त कमाउन सकिने अवस्था नै हुँदैन नि ! घट्ने–बढ्ने त बजारको सुन्दरता हो । यसमा बरु प्राकृतिक कारणले घट्यो कि अप्राकृतिक रूपमा घट्यो, त्यसमा ध्यान दिनुपर्‍यो । हामी लगानीकर्तालाई हल्लाको भरमा नलागी बुझेर मात्र लगानी गर्न बारम्बार सुझाव दिइरहेका हुन्छौं । अनलाइन ट्रेडिङ साउन १ देखि नै सञ्चालनका लागि दबाब दिइरहेको अवस्थामा सोही मितिमा आउ“छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? जबदेखि नेपाल स्टक एक्सचेञ्जमा प्रमुख कार्यकारीको रूपमा चन्द्रसिंह साउद नियुक्त हुनुभयो, सोही समयदेखि हामीले अनलाइन ट्रेडिङ लगानीकर्ताका लागि सञ्जीवनी बुटी हो, अन्य काम गर्दै जानुहोला, अनलाइन चाहिँ जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउनुप¥यो भनेर जोड दिएका थियौं । उहाँ पहिलादेखि नै अनलाइनको विषयमा सकारात्मक हुनुहुन्छ । उहाँ पहिलो दिनदेखि नै यसको कुनै विरोध नगरी मेरो कार्यकालमा मुख्य प्राथमिकता अनलाइन ल्याउने भनेर लागिपर्नुभएको छ । हामीले पछिल्लो समय पनि नेप्सेमा गएर उहाँसँग अनलाइनको विषयमा जानकारी लिएका थियौं । उहाँले साउन १ गतेदेखि अनलाइन आउँछ भनेर हामीलाई विश्वस्त पार्नुभएको छ । ब्रोकर कम्पनीहरूले पनि सफ्टवेयर जडानमा जुन करोडौं लगानी गर्नुपर्ने विषय बाहिर आएको छ, यसमा पनि उहाँले कारोबार कतिको गर्ने भन्ने हिसाबमा थोरै लागतमा पनि सफ्टवेयर जोड्न सकिने बताउनुभएको छ । सँगसँगै अनलाइन प्रणाली निर्माणको जिम्मा लिएको वाइको कम्पनीसँग र नेप्सेका प्राविधिकसँग पनि गएर धेरैपटक जानकारी लियौं । उहाँहरूले पनि समयमै अनलाइन आउने भन्नुभएको छ । उहाँहरूले दिएको आश्वासनअनुसार समयमै अनलाइन आउनेमा ढुक्क छौं । अनलाइनपछि पू“जीबजार सुधारिएला भन्ने लाग्छ ? अनलाइनपछि बजारमा चलखेल कम हुन्छ । यसले बजारमा माग सृजना गर्न पनि ठूलो भूमिका राख्छ । देशविदेशमा बसेर काम गर्ने नेपालीले पनि लगानीको अवसर पाउँछन् । अरब देशहरूमा ४० देखि ५० लाख नेपाली काम गर्छन् । उनीहरू मलाई हामीले लगानी गर्ने वातावरण कहिले हुन्छ भनेर प्रश्न गरिरहन्छन् । शेयर बजारमा देखिएको मागको समस्यालाई अनलाइनले हटाउन सक्छ । अहिले नेप्सेले ल्याउन लागेको अनलाइन सिष्टम अन्तरराष्ट्रियस्तरको हुने हुनाले पनि केही प्रभाव पार्छ भन्ने लाग्छ । बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर परिवर्तन गर्दा पूँजीबजारमा उतारचढाव आउँछ भन्ने पनि सुनिन्छ, ब्याजदर र पूँजीबजारबीच के सम्बन्ध छ ? ब्याजदर परिवर्तन र शेयर बजारबीच उल्टो सम्बन्ध छ । ब्याजदर बढ्यो भने शेयर बजार घट्छ, ब्याजदर घट्यो भने शेयरबजार बढ्छ । तर, यसमा मेरो के सुझाव छ भने बैङ्कबाट कर्जा लिएर शेयरमा लगानी नगरी आफ्नो कमाइबाट लगानी गरेमा ब्याजदरबारे चिन्तित हुनु पर्दैन । बैङ्कमा बचत गर्दा उसले १५ प्रतिशत ब्याज दिए पनि टीडीएस काटिहाल्छ । बरु शेयरबाट १० प्रतिशत रिटर्न पाएको राम्रो हो । यसको अर्थ बैङ्कमा पैसा राख्दै नराख्नू भन्न खोजेको होइन । लगानीलाई छरेर व्यवस्थापन गर्न सके एउटा क्षेत्रमा जोखीम आए पनि अर्को क्षेत्रले सुरक्षा दिन सक्छ । लगानी थोरै थोरै सबै क्षेत्रमा गर्नु उपयुक्त हुन्छ । अबको मौद्रिक नीतिले पूँजीबजार सुधारका लागि के कस्ता विषय समेट्नुपर्ने देख्नुहुन्छ ? अबको मौद्रिक नीति चुक्तापूँजीसँगै जगेडा कोष पनि बलियो भएका बैङ्क मात्र रहने खालको हुनुपर्छ । यस्ता बैङ्कले पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्ने खालको नीति आउनुपर्छ । ठूला आयोजना भएका जलविद्युत् कम्पनी, ठूला सडक आयोजनामा एउटा बैङ्कले एक्लै पनि लगानी गर्न सकोस् । हाम्रो छिमेकी देश भारतमा पनि बैङ्कहरूले यस्तै काम गर्छन् । भारतमा एउटै बैङ्कले रू. ५ अर्बसम्म लगानी गर्ने गरेका छन् । राष्ट्र बैङ्कको चाहना पनि बैङ्कहरूको पूँजीसँगै जगेडा पनि बलियो होस् भन्ने थियो । अहिले बैङ्कहरूको अवस्था त्यो छैन । अबको मौद्रिक नीतिले बैङ्कहरूमा मेगा मर्जरसँगै फोर्स मर्जरलाई समेट्न आवश्यक छ । जस्तै, एभरेष्ट र लक्ष्मी बैङ्कको मर्जर भयो भने मेगा मर्जर हुन्छ । यो देशको हितमा पनि छ । अर्को कुरा, पहिले बैङ्कहरूले आफ्नो इच्छाले कर्जा उपलब्ध गराउँथे । पछि राष्ट्र बैङ्कले पूँजी र निक्षेपको ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने भन्ने नीति ल्याइदियो । मार्जिन लेण्डिङको सीमा ५० प्रतिशतमा झारिदियो । मार्जिन लेण्डिङले ८० प्रतिशतसम्म गर्न पनि अबको मौद्रिक नीतिले सहयोग गरोस् । मार्जिन लेण्डिङमा ‘रिस्क वेटेज’ १ सय ५० प्रतिशत छ । यसले सबैभन्दा धेरै जोखीम शेयर बजारमा छ भन्ने बुझियो । रिस्क वेटेज बढी भयो भने बैङ्कहरूले ऋण दिन पनि गाह्रो मान्छन् र ब्याजदर पनि महँगो लिन्छन् । यसलाई घटाएर १ सय प्रतिशत बनाउन पनि माग गर्छु । त्यस्तै, वाणिज्य बैङ्क र मर्चेण्ट बैङ्करहरूलाई पनि ब्रोकर लाइसेन्स दिने वातावरण अबको मौद्रिक नीतिले मिलाओस् । यसले गर्दा ७७ जिल्लाका २५ सयभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट नेपालभरिका जनताले लगानी गर्ने अवस्था हुन्छ । आपूर्ति बढी भएको अवस्थामा मागको सृजना भई नेप्सेले गति लिने सम्भावना बढी हुन्छ । यी व्यवस्थाको निर्णयका लागि नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जले एउटै ढोका बनाएर अघि बढ्नुपर्ने पनि सुझाव छ । यस वर्ष सरकारले पूँजीगत लाभकर पनि बढाएको छ । साथै, लाभकरको गणनाका विषयमा पनि अन्योल छ । यसलाई लगानीकर्ताले कसरी लिएका छन् ? सरकाले पूँजीगत लाभकर ५ बाट बढाएर ७ दशमलव ५ प्रतिशत गरेको छ । लगानीकर्ताहरूमाथि ठूलो वज्रपात गरेको छ सरकारले । तर पनि हामीले त्यसलाई स्वीकारेका थियौं । के कारणले स्वीकार ग¥यौं भने देश सङ्घीयतामा गयो, बजेटको आकार बढ्यो, विकासका लागि पैसा चाहियो । देशको नागरिकको हिसाबमा हामीले स्वीकार ग¥यौं । त्यसपछि अर्को वज्रपात बोनस र हकप्रद शेयरमा लाभकर गणना गर्दा अङ्कित मूल्यका आधारमा गर्ने भन्ने आयो । घाटामा पनि कर तिर्नुपर्ने निर्णय त हामी स्वीकार्न सक्दैनौं । हामीले चर्को विरोध गरेपछि अहिले यो विचाराधीन अवस्थामा छ । हाम्रो बुझाइमा यो निर्णय गृहकार्यविना र हचुवाको भरमा गरिएको हो । अहिले अर्थ मन्त्रालयलाई नै गलत निर्णय गरेको महसूस भएको छ । हामी रू. ५ सयमा शेयर किनेर रू. १ हजारमा बेच्छौं भने रू. ५ सयको कर तिर्छौं । त्यो हाम्रो दायित्व हो । यदि सरकारलाई बढी कर चाहिएको छ भने हामीसँग समन्वय गर्नुहोस्, ७ दशमलव ५ प्रतिशतभन्दा बढी कर उठ्ने उपाय देखाइदिन्छौं । तर, घाटामा कर तिर्नुपर्ने अवस्था अबचाहिँ नआऊला भन्ने लाग्छ । बोर्डले गतवर्षदेखि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका लागू गरेको छ । केही बुदा संशोधन पनि गर्दै लगेको छ । यस निर्देशिकामा संशोधन गर्नुपर्ने अन्य विषय पनि छन् कि ! बोर्डले पूँजीबजार विकासका लागि धेरै पहल गरेको छ । समय परिस्थितिअनुसार बोर्डले निर्देशिकालाई पनि परिमार्जन गर्दै जानुपर्ने हुन्छ, गरेको पनि छ । धेरै वर्षअघिदेखि गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउने योजना सफल हुन सकेको छैन । एनआरएनलाई भिœयाउने त भन्छन् तर झ्याल बनाएर । ढोका बनाएर भित्र्याउने वातावरण अबका दिनमा हुनुपर्छ । एनआरएनलाई भिœयाउन के गर्नुपर्छ, यसका लागि स्पष्ट नियम बनाई लागू गर्नुपर्‍यो । पूँजीबजार उत्पादनमूलक क्षेत्र हो । यस क्षेत्रमा भएको लगानीले देशको अर्थतन्त्र चलायमान भएको छ । यसलाई असर गर्ने खालका क्रियाकलाप भएमा त्यस्ता क्रियाकलाप गर्ने व्यक्ति वा संस्थालाई कडाभन्दा कडा काराबाहीको नीति पनि ल्याउन आवश्यक छ । त्यसैले, नकारात्मक विचारधाराबाट पछि हटेर पूँजीबजारको विकास विस्तारका लागि सम्बद्ध निकायले बोलेका काम यथाशीघ्र कार्यान्वयनमा आउन पनि जरुरी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)