धनसम्पत्तिले मानिसलाई दिने खुशीबारे हालसम्म थुप्रै अध्ययन गरिएका छन् । निश्चित सीमाभन्दा बढी आम्दानी गर्न थालेपछि पनि मानिसहरु खुशी नहुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हालै गरिएको एक अध्ययनमा भने जति बढी धनसम्पत्ति हुन्छ, मानिसहरु त्यति नै बढी खुशी हुने तथ्य पाइएको छ । युनिभर्सिटी अफ मिचिगनका अर्थशास्त्रीद्वय जष्टिन वुल्फर्स र बेट्सी स्टेभेनसनले गरेको अध्ययनअनुसार मानिसहरुसँग जति धेरै सम्पत्ति भयो, उनीहरु त्यति नै धेरै खुशी हुने र यो धनी र गरीब दुवैमा लागू हुने पाइएको छ । यद्यपि, धनाढ्यहरुलाई खुशी पार्न भने धेरै पैसा चाहिने वुल्फर्स र स्टेभेनसनको कथन छ । अनि अघिल्ला अध्ययनहरुको तुलनामा उनीहरुको अध्ययनले निश्चितभन्दा बढी सम्पत्तिले खुशी थप्न सक्तैन भन्ने भनाइलाई खण्डन गरेको छ । खुशी नभएको धनाढ्य यस अध्ययनले एउटा पनि भेट्टिएन । उनीहरुले विश्व बैङ्क, ग्यालप वोर्ल्ड लगायत विभिन्न स्रातेले गरेको सर्वेक्षणबाट सङ्कलित १ सय ५० भन्दा बढी देशका तथ्याङ्कहरु अध्ययन गरेका थिए । र, यसको प्रतिवेदन अमेरिकन इकोनोमिक रिभ्यूको मे २०१३ को अङ्कमा प्रकाशित भएको छ ।
खुशी दुई किसिमका हुन्छन् । एउटा हो– दैनिक खुशी, यो व्यक्तिको त्यो दिनको मानसिकतामा भर पर्छ । अर्को हो– ‘जीवनको मूल्याङ्कन’मा भर पर्ने खुशी । ‘जीवनको मूल्याङ्कन’ भन्नाले संसारमा आफ्नो जुन स्थान छ, त्यसबाट हुने सन्तुष्टि भनेर प्रिन्सटन युनिभर्सिटीका अर्थशास्त्री एङ्गस डीटन र मनोवैज्ञानिक डानियल काहनेम्यानले अर्थ लगाएका छन् । वुल्फर्स र बेट्सी स्टेभेनसनको अध्ययन भने दोस्रो प्रकारको खुशीमा केन्द्रित रहेको उनीहरुले बताएका छन् । डीटन र काहेनम्यानका अनुसार मानिसको आवश्यकता आयमा भएको वृद्धिसँगै बढ्दै जान्छ । धेरै पैसा भयो भने अझ राम्रो फ्रिज वा कार किन्न सकिन्छ । अथवा अझ बढी दान पनि दिन सकिन्छ । त्यसैकारण जति धेरै आय बढ्छ, उति नै जीवनबाट बढी सन्तुष्टि प्राप्त हुन्छ । अर्थात् पैसाले सबै खाले खुशी किन्न नसके पनि यो उच्चस्तरीय जीवन जिउन महत्वपूर्ण साधन भएको उनीहरु बताउँछन् ।