हाल विश्वभरि जापानी प्रधानमन्त्री शिञ्जो आबे नेतृत्वको सरकारले लिएको आर्थिक नीति (जसलाई ‘आबेनोमिक्स’ नाम दिइएको छ) चर्चाको एक प्रमुख विषय बनेको छ । येनको अवमूल्यन गर्दै जापानमा एक दशकसम्म लम्बिएको आर्थिक मन्दी हटाउन लक्षित यो नीतिको समर्थनका साथै तीव्र विरोध पनि भइरहेको छ । तर, समर्थन र विरोधका बीच एक भित्री वस्त्र निर्माता कम्पनीले महिलाले लगाउने ‘ब्रानोमिक्स’ ब्रा बजारमा ल्याउन लागेको छ । स्वीस कम्पनी ट्रम्प इण्टरनेशनलको जापानी एकाइले यो ब्राले जापानी अर्थतन्त्रलाई मन्दीबाट उकास्ने दाबी गरेको छ । यसले जापानी केन्द्रीय बैङ्कले लिएको मुद्रास्फीति लक्ष्यभित्र रही प्रभावकारी आर्थिक वृद्धिदर रणनीति दिने कम्पनीको जिकीर छ ।
ब्रानोमिक्स ब्राले आबे सरकारले लिएको ‘तीन–तीर’ (थ्री–एरो) आर्थिक नीतिलाई पछ्याएको छ । मौद्रिक रणनीति, २ वर्षसम्म २ प्रतिशतको मुद्रास्फीति लक्ष्य र आर्थिक वृद्धिदर हासिल गर्न लक्षित सुधार कार्यक्रमकै शैलीमा यो ब्रा डिजाइन गरिएको छ । ब्रानोमिक्समा आर्थिक वृद्धिदर सूचक दर्शाउने माथितिर उक्लिएको तीर आकृति राखिएको छ । त्यस्तै, यसमा २ प्रतिशत आयतन वृद्धि र थप लचकता पनि दिइएको छ । जापानी अर्थतन्त्र उकालो लाग्दै गर्दा महिलाको वक्षस्थलको आकार पनि ठूलो र सुडौल बनाउन यसले सहयागे गर्ने विश्वास हामीले लिएका छौँ,’ ट्रम्प इण्टरनेशनलको जापानी विभागकी प्रवक्ता केइको मासुदाले भनिन् । पुराना कपडा र वस्तुको पुनःप्रयोग गरी बनाइएको यो ब्रा सौर्य ऊर्जाबाट सञ्चालित हुने भएकाले लगाउनेहरुलाई शीतलता प्रदान गर्ने उनले बताइन् । त्यसगैरी यो लगाउने महिला अत्यन्त आकर्षक देखिने र उनीहरुका श्रीमान्ले निकै मन पराउने मासुदाको भनाइ छ ।