ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रान्सनको नयाँ रुप !

May 13, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बेलायती अर्बपति रिचर्ड ब्रान्सन विभिन्न रुप धारण गर्न प्रख्यात छन् । कहिले झकिझकाउ हलिउड सेलिब्रेटीजस्तो त कहिले नौका चलाएर अथवा र बेलुनमा सवार भएर आन्ध्र महासागर पार गर्ने साहसी चालक बन्नेजस्ता कार्यका लागि उनले ख्याति कमाएका छन् । तर, आइतवार भने उनी बिल्कुलै नयाँ रुप धारण गर्दै विमान परिचारिका बने । उनी मलेशियाली विमानसेवा एयर एशियाको एक उडानमा परिचारिकाको पोशाकमा यात्रुहरुको सेवामा तल्लीन भए । अष्ट्रेलियाको पर्थदेखि मलेशियाको क्वालालम्पुरसम्म गरिएको ६ घण्टाको उक्त विशेष उडानका क्रममा ब्रान्सनले यात्रुहरुलाई खानेकुरा र पेय पदार्थ मात्र सर्भ गरेनन्, विमानभित्रको शौचालयसमेत सफा गरे । परिचारिका बन्नका लागि उनले विशेष शृङ्गार गरे अनि आफ्नो हातखुट्टाका रौं समेत खौरिए । ब्रान्सनको विमानसेवा भर्जिन एटलाण्टिकले दिएको जानकारीअनुसार ब्रान्सनले मलेशियाली विमानसेवा एयर एशियाका प्रमुख टोनी फर्नाण्डेजसँग लगाएको बाजी हारेपछि विमान परिचारिकको रुप धारण गरेका हुन् ।

फर्नाण्डेज र ब्रान्सनले सन् २०१० मा फर्मुला वान कार रेसमा सर्वाधिक अङ्क बटुल्दै जित्ने टीमबारे बाजी थापेका थिए । ब्रान्सनले आफ्नो टीम भर्जिन सबैभन्दा उत्कृष्ट भएकाले रेस जित्ने दाबी गरेका थिए भने फर्नाण्डेजले लोटस टीमको पक्ष लिएका थिए । बाजी हार्नेले एकअर्काको विमानसेवामा विशेष उडान गर्दै परिचारिका बन्नुपर्ने शर्त राखिएको थियो । यसक्रममा ब्रान्सनको टीमले बाजी हार्‍यो अनि उनी यात्रुको सेवा गर्ने सहयोगी हुन पुगे । उक्त उडानमा फर्नाण्डेज पनि सामेल थिए, जसले विमानभित्रैबाट ‘रातो पोशाक लगाएर खुट्टाका रौं खौरिएका ब्रान्सनको सेवा पाइरहेको’ व्यङ्ग्यात्मक ट्वीट गरेका थिए । ‘क्वालालम्पुरसम्म जाने कसैलाई यदि सर रिचार्ड ब्रान्सनबाट सर्भ हुन मनलागेको छ भने यो एक उत्तम मौका हो,’ विमानमा चढ्नुअघि उनले ट्वीट गरेका थिए । बाजी हारेर विमान परिचारिका बनेका ब्रान्सनले भने यस्तो रुप धारण गर्न आफूलाई अलिकति पनि अप्ठ्यारो नभएको बताए । ‘यसअघि केही साहसी र आश्चर्यजनक कार्य गरिसकेको मेरा लागि यो काम तीमध्ये सबैभन्दा राम्रो र सम्झनलायक हुनेछ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)