सम्पन्न देशका नागरिकको जीवनस्तर राम्रो हुन्छ नै, त्यसका साथै प्रहरीले पनि निकै आरामदायी ढङ्गले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् । यसको उदाहरण बनेको छ– संयुक्त अरब इमिरेट्सको दुबई शहर,जहाँका प्रहरीले थालेका छन् मर्सिडिज र बेण्टली कारमा गस्ती । प्राप्त समाचारअनुसार बेलायतमा निर्मित बेण्टली कण्टिनेण्टल कुपे, एष्टन मार्टिन वान ७७ र जर्मनीमा बनेको मर्सिडिज एसएलएसलाई दुबई प्रहरीले गस्ती कारका रुपमा दौडाउन थालेका छन् ।
निकै महँगो मूल्य पर्ने यी लक्जरी स्पोर्ट्स कारहरु विश्वका धनाढ्यहरुले मात्र किन्ने र चढ्ने आँट गर्न सक्छन् । त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले यी कारका अलावा दुबई प्रहरीले केही महीना अघिमात्र फरारी कारलाई पनि आफ्नो गस्ती टोलीमा समावेश गरेको बताएका छन् । मर्सिडिज, बेण्टली, एष्टन मार्टिन र फरारीका यी कारहरुको औसत प्रतिएकाइ मूल्य ५ लाख ४५ हजार अमेरिकी डलर पर्ने बताइएको छ । गतवर्ष मात्रै दुबई प्रहरीले इटलीमा निर्मित ल्याम्बोर्जिनी लक्जरी स्पोर्टस कारलाई आफ्नो गस्ती बेडामा समावेश गरेको थियो ।
‘यो निकै अनौठो शहर हो,यहाँभित्रका सबै वस्तुले शहरको अनौठोपनालाई प्रतिविम्बित गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामीले यी लक्जरी स्पोर्टस कारलाई दौडाउन लागेका हौं,’ दुबईका प्रहरी प्रमुख लेफ्टिनेण्ट जनरल दाही खलफानले भने । उनका अनुसार यी कारको माध्यमबाट प्रहरीले विश्वको सबैभन्दा अग्लो गगनचुम्बी भवन बुर्ज खलिफालगायत केही उच्च महत्वका बिन्दु वरिपरि गस्ती गर्दै सुरक्षा दिनेछन् । खलफानले तीव्र आर्थिक र प्राविधिक विकास भइरहेको दुबईमा यस्ता गाडीहरुको प्रयोगबाट प्रभावकारी सुरक्षा प्रदान गर्न सकिने दाबी गरे ।