ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सपना देख्न नि नपाउनु !

Jun 29, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
पछिल्लो चुनावपछि म त एकाएक सम्राट् (राजाहरुको पनि राजा) भएछु । जहाँ जाऊँ उतै जयजयकार, फूलमाला, अबिर । वरिपरि जीहजुरी गर्नेहरुको भीड । असीमित अधिकारले सम्पन्न । मेरा ढोके, बैठके पनि तलब भत्ता, विदेश भ्रमणका नाममा थुप्रै कमाउने । म त यसै सम्राट् । मेरा आसेपासेका भाञ्जा, साला, सालीसमेत सबै मालदार अड्डाहरुमा फिट । सेवानिवृत्त भएपछि पनि जागीरेसरह थुप्रै सुविधा । पैसा, पावर र मानसम्मानको कुनै कमी छैन । हाछ्यूँ आए पनि सिङ्गापुर, बैङ्कक, भारत, अमेरिका उपचारमा पुगिहाल्ने । शायद स्वर्ग यसैलाई भन्छन् । जब म स्वदेश वा विदेशबाट आफ्नो लिमोजिनमा दरबार गइरहेको हुन्छु, देख्छु मानिसहरुले मेरा लागि सबै सडक खाली गरिदिन्छन् र दायाँबायाँ मेरा स्वागतमा मौन हेरिरहन्छन् । जब म हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा निस्कन्छु तब माथिबाट देख्छु, मानिसहरु घण्टौं सडकमा गाडी, मोटरसाइकल रोकेर बसेका । यसलाई जाम भन्छन् शायद । बाटोमा टिपरले जथाभावी गाडी चलाएर मानिस मरिरहेको पनि देख्छु । महिलाहरु एक बाल्टी पानीका लागि घण्टौं लाइन लागेको पनि देख्छु । खेतबारीमै किसान पुरिएको पनि देख्छु । युवाहरु एयरपोर्टतिर लावालस्कर लागेको पनि देख्छु । विद्यार्थीहरुको हातमा कि मसाल देख्छु कि मोबाइल । बजारमा केही मानिसहरुले किनमेल गर्न जानेको खल्तीको पैसा यसै लुटिरहेको देख्छु । बाढीले खेतसँगै पुलपुलेसा र केही मानिससमेत बगाएको पनि देख्छु । यसरी जताततै आतङ्क र आँशुआँशु देख्छु । तर पनि म ढुक्क छु । किनकि म त सम्राट् पो हुँ । म र मेरा आफन्त र मेरो होमा हो मिलाउनेहरुको बन्दोबस्ती मैले गर्दिइसकेकै छु । मलाई बाँकी दुनियाँको सरोकार हुने कुरा पनि भएन । मानिसका दुःख एकछिन एउटा दुःखान्त नाटक हेरेको जस्तो मात्र लाग्छ । म भाषण दिन्छु । उनीहरु अब केही हुने आशामा सबै दुःख बिर्सिदिन्छन् ।
अहिले यो असार महीनालाई भने रेल र जहाज भाडमा जाऊन् । देशमा बाढीपहिरो चल्छ, चलिरहोस् । आफूलाई भने आफूले सपोर्ट गरेको टिमले विश्वकप चैं जसरी नि जित्नैपर्छ । लौ जा !
म झल्याँस्स हुन्छु । मैले त सपना पो देखेको रहेछु । म कहाँ सम्राट् हुनु ? म त एक सामान्य नागरिक, जसलाई अब आफै भात पकाएर खानु छ । भात पकाउनलाई सरदम आफै जुटाउनु छ । दिकदार लाग्छ । एकछिन सोच्छु, केही समयकै लागि भए पनि आफ्नो पीडा बिसेक पार्न सपनाले धेरै मद्दत गर्दोरहेछ । यसको मतलब सपना देख्नु त राम्रै कुरा रहेछ । ओली प्रधानमन्त्री भएपछि उनले रेल र पानीजहाज (पाजा) नेपाल भित्र्याउने सपना देखाएका छन् । यद्यपि थुप्रै मानिस उनको सुरुवाल उतार्न लागिपरेका छन् । लगानी कस्को रे ? रेल फर्किंदा के सामान लोड गरी पठाउने रे ? आदि । म भन्छु, सामानै किन पठाउनुप¥यो, मान्छे आफैं चढे भैगो नि । बसको, ट्याम्पुको छतमा समेत चढेर शहर घुम्ने आदत छ हामी नेपालीको । सामान आएको रेलमा चट्ट चढ्यो अनि चाईनाको ग्रीन सिटी, ह्वाइट सिटी, मेगा सिटी, भारतको स्मार्ट सिटी, स्याटलाइट सिटी र रेड सिटीहरु घुम्यो, आयो । आफ्नो ठाउँमा फर्केर आएपछि गफ लाउन कति काम लाग्छ । हाम्रा नेताहरुले पनि विदेश भ्रमणमा यस्तै शहरहरु घुमेर फर्किएपछि नै हो मेगा सिटी र स्मार्ट सिटी बनाउने कुरा गरेका । तर, ठेकेदारहरुले काम नगर्दिएर पो देश नबन्या त । नेताहरुले त उहिल्यै सिङ्गापुर नै बनाउन खोजेकै हुन् नि । मानिसहरु भन्छन्, रेल आए के फाइदा हुन्छ रे ! म भन्छु, किन चाहियो यो सबै विवरण ? ए बाबा ! चाहिएको त रेल र पाजा हो, आए पुगेन ? त्यसमाथि भारत र चीन दुवैले नेपालमा पाजा र रेल आउँछ भन्दिसक्या’छन् । दुई ठूला छिमेकीले नै भन्दिएपछि अब नेपालमा पाजा र रेल नआई सुख ? गुडेर नभए उडेर भए नि आउँछ । किनकि गुडेर आउनलाई भने यी पहाडहरुले अलि भिलेन खेल्लान्जस्तो छ र पो ! जे होस् ‘उत्तरबाट नि रेल दक्षिणबाट नि रेल । वाह ! कस्तो मेल । यसमा कसैले नगर है झेल’भन्न मन लाग्छ । ओलीले सपनै देख्या हुन् । यसअघि कसैले यस्ता सपना देख्या थिएनन् क्यारे । सपना देख्न नि नपाउनु भन्ने त पक्कै छैन होला । सपना देख्नुको मज्जा त अचम्मको पो हुन्छ त । सपनैमा सही अझ सम्राट् बनेर रेल र जहाज चढेर भारत र चीन घुमेको देख्नुको आनन्दै बेग्लै पो हुन्छ त ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)