राजविराज औद्योगिक क्षेत्र : उच्च विद्युत् अवरोध झेल्दै
Jun 29, 2018
 
समाचार
मुख्य खबर
काठमाडौं । औद्योगिक क्षेत्रसहित देशभरि नै लोडशेडिङ मुक्त भने पनि गजेन्द्रनारायण सिंह (राजविराज) औद्योगिक क्षेत्र भने नियमित विद्युत् आपूर्तिको समस्या झेलिरहेको छ । डेडिकेटेड फिडरमा समस्या आएका कारण आपूर्ति असहज बनेको औद्योगिक क्षेत्र कार्यालयले जानकारी दिएको छ ।
फिडरमा आएको प्राविधिक समस्या समाधान नगरेकाले स्थिति झनै कमजोर बनेको औद्योगिक क्षेत्र कार्यालय प्रमुख दीपकराज आचार्यले जानकारी दिए । ‘डेडिकेटेड फिडर भनिए पनि गाउँमा वितरण हुँदै आउने विद्युत् भएकाले ट्रिपिङको समस्या त थियो नै,’ उनले भने, ‘त्यसमाथि प्राधिकरणले डेढ लाख पर्ने एउटा उपकरण पनि नफेरिदिएका कारण विगत १२ दिनदेखि आपूर्ति रोकिएको छ ।’
हाल वैकल्पिक व्यवस्थाद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ । तर पनि लो भोल्टेज तथा उच्च ट्रिपिङले यहाँका उद्योगहरू राम्ररी सञ्चालन हुन नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए ।
२ सय केभीए मात्रै विद्युत् खपत गरिरहेको भए पनि यस औद्योगिक क्षेत्रका लागि ट्रिपिङ लामो समयदेखिको समस्या हो, जसले गर्दा औद्योगिक क्षेत्रभित्र रहेका प्लाष्टिक उद्योगहरू सबैभन्दा बढी मर्कामा परेका छन् । यस औद्योगिक क्षेत्रमा १० ओटा उद्योग सञ्चालित छन् ।
औद्योगिक क्षेत्रमा ३० किलोमिटर टाढाको लहानबाट ३३ केभीको वितरण लाइन लगिएको छ । लामो दूरीबाट कम भोल्टेज क्षमताको लाइन लगिएका कारण ट्रिपिङको समस्या बढी भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि स्वीकार्छन् । यही समस्या कम गर्ने उद्देश्यले प्राधिकरणले सप्तरीको रूपनीमा रहेको सबस्टेशन स्तरोन्नतिको काम गरिरहेको छ । सो काम आगामी ३ महीनाभित्र सकिने घिसिङ बताउँछन् । तर, ठेकेदारको कामको गति हेर्दा ६ महीनामा पनि बनिनसक्ने अवस्था रहेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख आचार्यको दाबी छ ।
सन् १९८६ मा स्थापना भएको सो औद्योगिक क्षेत्र स्थापना कालदेखि नै विद्युत् आपूर्तिको समस्या झेल्दै आएको छ । केही समय अघिसम्म भारत र नेपाल दुवैतिरबाट विद्युत् आपूर्ति गरिरहेकोमा औद्योगिक क्षेत्रले हाल नेपालतर्पmको मात्रै विद्युत् लिइरहेको छ । औद्योगिक क्षेत्रभित्र उद्योग खोल्न धेरैले चाहना व्यक्त गरेको भए पनि विद्युत्को समस्याले थप उद्योग आउन नसकेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख आचार्य बताउँछन् । औद्योगिक क्षेत्रले थप ३ सय केभीए विद्युत् प्राप्तिका लागि प्राधिकरणमा प्रक्रिया अघि बढाइसकेको छ ।