कुनै स्थान विशेषलाई आकर्षण केन्द्रका रुपमा स्थापित गर्न बनाइएका ठूला संरचना सञ्चालन असफल हुने सम्भावना पनि त्यत्तिकै हुने सिङ्गापुरको एक घटनाक्रमले दर्शाएको छ । सिङ्गापुरको दृश्यावलोकनका लागि ५ वर्षअघि बनाइएको ‘द सिङ्गापुर फ्लायर’ नामक एक रोटेपिङको सञ्चालन गर्न नसकिएपछि नयाँ संरक्षकको जिम्मा लगाइएको छ । शहरलाई एक प्रमुख पर्यटकीय आकर्षक स्थल बनाउने उद्देश्यले निर्मित १ सय ६५ मिटर उचाइको उक्त रोटेपिङ निकै तामझामका साथ सञ्चालन गरिएको थियो । सिङ्गापुर फ्लायर प्रालिको स्वामित्वमा रहेको उक्त रोटेपिङको फेरिएर हड्सन नामक एक कम्पनी संरक्षक बनेको छ ।
फेरिएर हड्सनको मङ्गलवार जारी विज्ञप्तिमा सिङ्गापुर फ्लायर ‘सदाझैं राम्ररी सञ्चालन भइरहेको’ बताइएको छ । ‘हामीहरु यसको राम्रोसँग सञ्चालन गर्न व्यापारिक साझेदार र टुर अपरेटरहरुसँग मिलेर काम गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ । त्यसैगरी सिङ्गापुर फ्लायरलाई अझै व्यवस्थित गर्न लगानीकर्ताको पहिचान गर्न आफूहरु सक्षम हुने दाबी पनि कम्पनीको छ । ‘हामीले चाँडै नै यो प्रक्रिया पूरा गर्न आशयपत्र जारी गर्दै छौं,’ विज्ञप्तिमा उल्लेख छ ।