ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकीकृत गुरुयोजना नहुँदा सडक जलमग्न

Jul 5, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । वर्षायाम शुरू भएसँगै काठमाडौं उपत्यकाका अधिकांश मुख्य र भित्री सडक जलमग्न हुने समस्या अभैm वर्षाैंसम्म कायमै रहने देखिएको छ । सर्वसाधारणको प्रत्यक्ष दैनिकीसँग जोडिएको सडक पूर्वाधार गुणस्तरीय र ढल निकासको सही व्यवस्थापन नहुँदा यो समस्या अभैm भोग्नुपर्ने देखिएको हो । सडक, ढल व्यवस्थापन, मर्मतसम्भारलगायतका काम गर्ने निकाय बग्रेल्ती हुँदासमेत वर्षाैंदेखि दोहोरिँदै आएको समस्या निराकरणका लागि पहलसमेत हुन सकेको छैन । उपत्यकाका सडक, ढलको मर्मतसम्भार, सफाइ गर्न सडक विभागअन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना, दुईओटा सडक डिभिजन कार्यालय काठमाडौं, ललितपुर, भक्तपुरका छुट्टै डिभिजन कार्यालय र ढल निकासका लागि खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल निकास विभाग नै रहेको छ । यसका साथै महानगरपालिका तथा नगरपालिकाहरू पनि रहेका छन् । यी कार्यका लागि धेरै निकाय भए पनि काम भने प्रभावकारी हुन सकेको छैन । वार्षिक रूपमा दोहोरिने समस्याको अहिलेसम्म कुनै पनि निकायले दीर्घकालीन समाधानका उपाय, पुराना संरचनालाई बनाउने विषयमा कार्ययोजना बनाएको पाइँदैन । सडक विभागले सडकको मर्मतसम्भार गर्न र नालीको पीँधमा जम्ने फोहोर सफाइका लागि जनशक्ति नै खटाउँदै आएको छ । काठमाडौंका दुईओटा डिभिजन सडक कार्यालयमार्फत यसका लागि करीब १ सयभन्दा बढी कामदार परिचालन हुँदै आएका छन् । डिभिजन सडक कार्यालय १ काठमाडौंका सूचना अधिकारी सुरेन्द्रप्रसाद राजभण्डारीले जथाभावी फोहोर र निर्माण सामग्री बाटोमा राख्दा सधै ढल जाम हुने समस्या आएको बताउँछन् । ह्युम पाइपसँगै कतिपय स्थानमा नेपाल टेलिकमको अण्डरग्राउण्ड चेम्बर हुँदा सडकको पानी पास हुन नसकेको उनको तर्क छ । मेलम्ची खानेपानी, सडक विस्तारको काममा भएको ढिलाइका कारण पनि सडकमा पर्ने खाल्डाखुल्डीका कारण सडक जलमग्न हुने गरेको छ । डिभिजन सडक कार्यालय काठमाडौं (१)ले मनसुनका कारण हुने सडक अवरोधलाई हटाएर यातायात आवागमन सुचारु बनाउन टोली गठन गरेको छ । कार्यालयका अनुसार यो टोलीले कुनै स्थान जलमग्न हुनासाथ सडकको पानी पास गराउने कार्य गर्नेछ । अहिले जमल, तीनकुने, माइतीघर, चाबहिल–बौद्ध सडक खण्डका केही भाग र भित्री सडकहरू पानी पर्नासाथ जलमग्न हुने गरेका छन् । ‘गुरु योजना नबनाई दीर्घकालीन समाधान हुँदैन’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता इञ्जिनीयर विश्व विजयलाल श्रेष्ठले विनाडिजाइन सडक, ढल, बिजुलीका पोल र खानेपानीका पाइपको काम गर्दा समस्या थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । योजनाविना बस्ती विकास, ढल र सडकको पानी निकासका लागि उपयुक्त प्रणाली नहुँदा सडक जलमग्न हुनु स्वाभाविक भएको जानकार बताउँछन् । ढलको क्षमता कम हुनु मुख्य समस्या हो । सडक जलमग्न हुने अवस्था तत्कालका लागि समाधान गरिए पनि दीर्घकालीन समाधानका लागि गुरु योजना नै बनाउनुपर्छ । अहिलेसम्म यसमा गृहकार्य भएको छैन । मनसुनअघि नै मर्मत गरे केही कमी हुन्छ : विज्ञ थापा सडक निर्माण गर्दा न्यूनतम गुणस्तरलाई पनि हामीले ध्यान दिएका हुँदैनौं । कम मात्रामा पानी पर्दा पनि कालोपत्र उप्किएर सडक भत्कने र खाल्डाखुल्डी पर्ने गरेको इञ्जिनीयर पूर्वसचिव किशोर थापा बताउँछन् । यसबाट सडकमा पानी जम्न थाल्छ । नियमित ढलको सफाइ नगर्दा ढलको क्षमताअनुसार पानी पास हुन सकेको छैन । ढलको नियमित सरसफाइ तथा मर्मतसम्भारको काम गरिँदैन । यसले गर्दा उपत्यकाका सडक पानी पर्दा जलमग्न हुने गरेका हुन् । यस्तो समस्यो ४ महीनाको हो । यसको समाधानका लागि मनसुन शुरू हुनुपूर्व नै सडकका खाल्डाखुल्डी पुर्ने, ढलको सफाइ गर्ने पद्धतिको विकास हुनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)