मन्त्रीहरुले जनता र देशका खातिर यतिविघ्न काम गरिरहेका छन्, तर जनताले भने कताकता त्यो अनुभूत गर्न पाएनन्जस्तो छ । फुर्सद धेरै भएर होला मान्छेहरु काम गरेन भन्दै सरकारकोे विरोध मात्र गरिरहन्छन् । अरुको विरोध गरे हुन्छ, तर दुई तिहाइ बहुमतको सरकारको विरोध गर्न त पाइँदैन नि । अनशन गर्ने, विरोधका कार्यक्रम गर्ने भए कि जुम्ला जानु, कि ओलाङ्चुङगोला जानु, कि सरकारले तोकिदिएको ठाउँमा बसेर गर्नु । किनकि यो त समाजवादउन्मुख सरकार पो हो त । यस्तो सरकारसँग मुखमुखै लाग्न पाइन्छ ? रेल र जहाजबाट समृद्धिको सपना देखिरा’बेला कसैले नब्यूँझाओस् र कसैले कुनै कुरामा पनि प्रश्न नउठाओस् भन्ने सरकारको चाहना देखिन्छ । तर, जनताले यो बुझिरहेकै छैनन् ।
सरकारले अहिलेसम्म जनताका लागि थुप्रै कामहरु सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ‘हेल्लो सरकार’ नामक टीभी कार्यक्रम शुरु गरेको छ । पहिले यो रेडियोमा मात्र सीमित थियो । त्यस्तै, पूर्वमाओवादी एक नेता, जसलाई अन्यायपूर्वक जेल हालिएको थियो, लाई सरकारले जेलमुक्त गरेको छ । पानीजहाज र रेल ल्याउने कुरा गरेको छ । सरकार गठन हुनेबित्तिकै यातायातमन्त्रीले यातायातका सिण्डिकेट प्रथा नै खारेज गरिदिएका छन् । समयमा काम नगर्ने ठेकेदारलाई गृहमन्त्रीले पक्राउ गर्ने उर्दी जारी गरेका छन् । यता, श्रममन्त्रीले विदेश जाने श्रमिकको शोषण हुने प्रथा हटाउने भनेका छन् । उता, कृषि तथा सहकारीमन्त्रीले बजार अनुगमनलाई तीव्र पारेका छन् । व्यापारी नसुध्रिए तरकारी बजार, दूध, पानी सबै उद्योग बन्द गर्दिने चेतावनी मन्त्रीले दिएका छन् । यसरी मन्त्रीहरुले जनताका लागि भनेर काम गर्ने, तर जनताले चैं थाहा नपाउने स्थिति बनेजस्तो छ । यो कसरी भएछ भनेर भन्दा कुरो यस्तो पो रै’छ त ।
प्रधानमन्त्री भने गम्भीर नभई हँसिला, रसिला र जोकिला छन् । मन्त्रीहरुलाई असफल बनाइए पनि सरकार सफल छ र असल प्रम पनि सफल छन् । बाढी, पहिरो, दुःखमा परेका जनतालाई हँसाउनकै खातिर भए पनि उनी जोक गरिरहन्छन् ।
एक त पहिला यो ‘हेल्लो सरकार’ भन्ने कार्यक्रम त्यति प्रभावकारी हुन सकेको रहेनछ । तर, अब त्यो निकै सफलतापूर्वक चलाउने सरकारको योजना रहेछ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा सरकारका मन्त्रीहरु काम गर्न खोज्दारहेछन् । तर, कताकताबाट सरकारभित्र र बाहिरबाट एकसे एक प्रभावशाली मान्छेहरु आएर काममा प्रभावित पारेर मन्त्रीहरुलाई कामै गर्न दिँदारैन्छन् । जस्तै, पहिले के सुरमा हो आएर एउटा सहसचिवको लहैलहैमा लागेर मन्त्रीले सिण्डिकेट प्रथा खारेज त गर्दिएका थिए । तर यातायात समितिहरुले सरकारलाई टेर्दै टेरेनछन् । सिण्डिकेट केही दिनपछि नै ब्यूँतिएछ । ल हेर्नुस् त ? यता अर्थमन्त्रीले अर्थतन्त्र सुधार्ने बजेट ल्याएका थिए । तर, अर्थमन्त्रीलाई अर्थतन्त्रले टेरेको देखिएन । शेयरबजारले त अर्थमन्त्रीलाई पटक्कै विश्वास गरेको देखिन्न ।
त्यस्तै, समयमा काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्ने भनेर गृहमन्त्रीले भनेका थिए । तर, त्यस्तो भन्न पाउने अधिकार भौतिक योजनामन्त्रीको पो रहेछ । अर्काको अधिकार क्षेत्र मिचिएकाले गृहमन्त्रीको ठेकेदारलाई पक्रने योजना पनि तुहिएछ । यता, वैदेशिक रोजगार तथा श्रममन्त्रीले विदेशमा काम गर्न जाने श्रमिकको श्रम शोषण हुन नदिने प्रयास के शुरु गरेका थिए, त्यत्तिकै निहुँमा कामदार मलेशिया जानेबाटै रोकिएछ । अब अरु देश जान पनि रोकिने सम्भावना बढेछ । कृषि तथा सहकारीमन्त्रीले दूध, पानी तथा तरकारी व्यापारीलाई सुध्रन चेतावनी दिए पनि उनीहरुले पनि टेरेको देखिएन । त्यै रिसले हो वा छुट्टी चाहिएर हो, किसानले त बेलाबेलामा दूध बाटोमा फ्याँकेर ‘मिल्क होलिडे’ पो मनाउन थालेछन् । दूधमा आत्मनिर्भर हुन खोज्ने मन्त्रीको चाहनालाई किसानहरुले दूधसँगै बाटैमा बगाइदिएछन् ।
यसरी ‘आफू ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तो भएको छ मन्त्रीहरुलाई । एक त आफ्ना निर्णयहरुमा अड्न मन्त्रीहरुलाई सकस परेको देखिन्छ । त्यसैले आफू अड्नकै लागि पनि मन्त्रीहरुलाई कुनै बलियो डोरी वा अडेस लाउन मिल्ने वस्तु चाहिने देखिन्छ । कति राम्रो काम गरौंला, नाम र दाम खल्तीमा भरौंला भन्ठानेको, मन्त्रीहरुलाई असफल गराउन कतैबाट ग्य्राण्ड डिजाइन भएजस्तो छ । वास्तवमा मन्त्रीहरु सबै ठाउँका जनताकहाँ पुग्न चाहन्छन् भन्ने नै देखिन्छ । तर, कि त वर्षा वा बाढी, पहिरोले छेक्छ कि बाहिरका कुनै न कुनै प्रभावशाली मान्छेले मन्त्रीलाई काम गर्नबाट रोक्छन् । मन्त्रीहरु जनताका लागि काम गर्न चाहन्छन् । बेलाबेलामा जिल्ला भ्रमणमा निस्कन चाहन्छन् । तर, सबै मन्त्रीहरुलाई पुग्ने हेलिकोप्टरको व्यवस्था पनि गर्न सकेको छैन सरकारले । नत्र मन्त्रीहरुले धेरै काम पो गर्न सक्थे त । नत्र कहीँ जान नपाएपछि मन्त्रालयमा बसेर सामान्य प्रशासनमन्त्रीले जस्तै दिनभरि कर्मचारीहरुलाई गाली गरेर मात्र बसिरहने बाध्यता हुँदैनथ्यो नि मन्त्रीहरुलाई ।
त्यसैले मन्त्रीहरुलाई जनताका घरदैलो पुग्नका लागि जनताले थप ऋण गरेरै भए पनि एक/एकओटा हेलिकोप्टरको व्यवस्था गरिदिन ढिलो भइसकेको छ । जनताका घरदैलोमा पुग्न पाए मन्त्रीहरुलाई अरु धेरै गरिरहन पर्ने आवश्यकता पनि छैन । किनकि रेल चीन र भारतले नै बनाइदिने भनिसकेकै छन् । पानीजहाज भारतले ल्याइदिने वचन दिइसकेकै छ । युवालाई जागीर अरबलगायतका देशले दिइरहेकै छन् । अब हेलिकोप्टर मात्र हुने हो भने मन्त्रीहरुको काम तुरुन्त प्रभावकारी देखिन शुरु भइहाल्छ । किनकि मन्त्रीहरु देश र जनताप्रति गम्भीर पो छन् त ।
भलै सबै गम्भीर भएर पनि काम चल्दैन । त्यसैले प्रधानमन्त्री भने गम्भीर नभई हँसिला, रसिला र जोकिला छन् । मन्त्रीहरुलाई असफल बनाइए पनि सरकार सफल छ र असल प्रम पनि सफल छन् । बाढी, पहिरो, दुःखमा परेका जनतालाई हँसाउनकै खातिर भए पनि उनी जोक गरिरहन्छन् । अझ प्रतिपक्षी नेताका क्यारिकेचर पनि गर्न भ्याउँछन् । नेपाली जनताप्रति प्रधानमन्त्रीको कत्रो कृपा छ । वास्तवमा यो देशमा जनताप्रति समर्पित केवल दुई जना कमेडियन मात्र छन् । बोलेरै कमेडी गर्ने स्वयम् प्रम ओली र लेखेरै कमेडी गर्ने यो पङ्क्तिकार । बाँकी त सबै जोकर फाल्तु हुन् ।