ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग

Jul 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको ७० वर्ष बितिसक्दा पनि अझै बीमाङ्की जनशक्तिको उत्पादन हुन सकेको छैन । बीमाबजारमा बीमाङ्कीको भूमिका अनिवार्य र अति महत्त्वपूर्ण हुन्छ । व्यावसायिक सम्भावना हुदाँहुँदै पनि बीमाङ्की जनशक्ति उत्पादन हुन नसक्नु दुःखद पक्ष भएको बीमा विज्ञ भोजराज शर्माले बताए । बीमाङ्कीले प्रिमियम निर्धारण, वित्तीय विवरणको परीक्षण र जोखीम मूल्याङ्कन गरेर बीमालेख विकास गर्ने काम गर्छ । नेपालीमा सञ्चालित जीवन बीमा कम्पनीले भारतलगायत विदेशी बीमाङ्कीमार्फत यस्तो सेवा लिर्दै आएका छन् । त्यसबाट वर्षेनि लाखौं रकम विदेशिने गरेको छ । बीमा समितिले यस्ता विषयलाई दृष्टिगत गर्दै बीमाङ्की जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बीमाविज्ञ रवीन्द्र घिमिरेको भनाइ छ । हालसम्म समितिले बीमाङ्की जनशक्ति उत्पादनका लागि प्रभावकारी कार्यक्रम ल्याएको पाइँदैन । यद्यपि, समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अबका दिनमा बीमाङ्की जनशक्ति उत्पादनमा समितिबाट आवश्यक सहयोग हुने बताउँछन् । बीमाङ्की जनशक्ति उत्पादन गर्न समिति सकारात्मक रहेको बताउँदै उनले यस विषयमा छलफल भइरहेको बताए । समितिले केही वर्षअगाडि बीमाङ्की विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने विषय उठाएको थियो । तर, अध्ययनपश्चात् विद्यार्थीले नेपालमा नै आएर सेवासुविधा प्रदान गर्ने ग्यारेण्टी नभएपछि उक्त प्रस्तावलाई निर्णायक तहमा पुर्‍याइएन । यद्यपि, बीमाविज्ञ रवीन्द्र घिमिरेले बीमाङ्की अध्ययन गर्ने विद्यार्थीलाई समितिले छात्रावृत्तिको व्यवस्था गर्नुपर्ने बताए । साथै, बीमाङ्की अध्यापन गराउने कलेजलाई पनि समितिले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘समितिले अध्ययनपश्चात् नेपालमा नै निश्चित समय काम गर्नुपर्ने मापदण्ड तोकेर विद्यार्थीलाई छात्रावृत्ति दिनुपर्छ । विदेशीने डरमा बीमाङ्की उत्पादमा समितिले ध्यान नदिए बीमाबजारले दक्ष जनशक्ति पाउन सक्दैन । अन्तरराष्ट्रिय बजारमा बीमाङ्की सबैभन्दा बढी पारिश्रमिक प्राप्त हुने पेशाका रूपमा स्थापित छ । यसकारण विदेश पढ्न गएका विद्यार्थी स्वदेश फर्कनै नखोज्ने समितिको भनाइ छ । समितिका अनुसार हाल नेपालमा बीमाङ्की जनशक्तिको अवस्था शून्य रहेको छ । यद्यपि, केही नेपाली विद्यार्थीले बीमाङ्की विज्ञान उत्तीर्ण गरेको अनौपचारिक जानकारी आएको समितिले बताएको छ । बीमा ऐन, २०४९ अनुसार जीवन बीमा कम्पनीहरूले अनिवार्य रूपमा बीमाङ्की जनशक्तिमार्फत बीमाङ्की मूल्याङ्कन गराउनुपर्ने हुन्छ । ऐनको दफा २६ अनुसार जीवन बीमा कम्पनीले प्रत्येक ३ वर्षमा एकपटक आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन बीमाङ्कीद्वारा गराउनु पर्नेछ । यस्तै, प्रस्तावित नयाँ बीमा ऐनमा निर्जीवन बीमा कम्पनीले पनि अनिवार्य रूपमा बीमाङ्की मूल्याङ्कन गराउनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले नेपालमा बीमाङ्कीको थप अवसर र व्यावसायिक सम्भावनाको वृद्धि हुने स्पष्ट छ । विज्ञ भोजराज शर्माले नेपालमा बीमाङ्कीको आवश्यकता उच्च भएको बताए । बीमाक्षेत्रलाई समृद्धिको आधार बनाउन बीमाङ्कीको महŒवपूर्ण भूमिका हुने भएकाले यसको उत्पादनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘बीमा बजारमा अत्याधुनिक प्रविधिको विकास भइसकेको छ, अब बीमाङ्की उत्पादन गर्नु हो ।’ बीमाङ्कीका लागि नेपालमा आवश्यक मात्रामा बजारको विकास भइसकेको उनको भनाइ छ । त्रिविमा अध्यापन शुरू बीमाङ्कीको आवश्यकतालाई दृष्टिगत गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा बीमाङ्की विज्ञानको अध्यापन शुरू गरेको छ । हालसम्म ३ समूहले यो विषय अध्ययन गरिरहेको छ । अहिले बीमाङ्कीको आधारभूत विषयवस्तुमा अध्यापन भइरहेको त्रिभुवन विश्वविद्यालयले बताएको छ । प्रक्रियाअनुसार पाँचौं सेमेष्टरपछि यसको विस्तृत रूपमा अध्यापन हुने विश्वविद्यालयको भनाइ छ । अहिले तेस्रो सेमेष्टरसम्म अध्ययन भइरहेको छ । गणित विज्ञान स्कूलका प्राध्यापक डा. प्रकाशमुनि वज्राचार्यले यो कदम नेपालको शैक्षिक र बीमाक्षेत्रका लागि सकारात्मक भएको बताए । अबको केही वर्षमा नै नेपालमा बीमाङ्की जनशक्तिको उत्पादन हुने उनको भनाइ छ । बीमाङ्की पाल्न सक्ने व्यवसाय छैन रवीन्द्र घिमिरे अहिलेको बीमा व्यवसायले पूर्णकालीन बीमाङ्की पाल्न नसक्ने रवीन्द्र घिमिरे बताउँछन् । उनले भने, ‘विदेशमा बीमाङ्की जनशक्तिलाई उच्च तलब तथा सेवासुविधा दिइन्छ, नेपालमा भने सोअनुसार बीमा व्यवसाय छैन ।’ व्यवसाय विस्तार र बीमाङ्की जनशक्ति उत्पादनमा समिति र कम्पनीबीच सहकार्य आवश्यक भएको उनको तर्क छ । विदेशबाट बीमाङ्की अध्ययन गरेर आए पनि यहाँ काम गरे लगानी अनुसारको आम्दानी गर्न सकिँदैन । स्वदेशमा पढाइ नहुँदा अभाव भोजराज शर्मा नेपालमा बीमाङ्की पढ्ने व्यवस्था नहुँदा त्यस्तो जनशक्तिको उत्पादन हुन नसकेको भोजराज शर्मा बताउँछन् । उनले भने, ‘बीमाङ्कीको भविष्यबारे पनि विद्यार्थीहरू जानकार छैनन् । यसमा गर्ने मेहनतले डाक्टर, इञ्जिनीयर बनिने भन्दै विद्यार्थीले यस विषयलाई बेवास्ता गरेका छन् ।’ उनले नेपालमा पनि यस विषयमा अध्यापन शुरू भइसकेकाले अब बीमाङ्की जनशक्ति उत्पादनमा चुनौती नभएको बताए । शिक्षाको गुणस्तर वृद्धि र व्यवसायको विकास गरेर विद्यार्थीलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)