पहिलो एयरबसबाट निगमले दोहा, बैङ्कक र बैङ्लोरमा उडान गर्छ
Jul 8, 2018
 
अन्तरवार्ता
मुख्य खबर
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ६०औं वार्षिकोत्सव तथा हीरक जयन्ती मनाइरहँदा गतहप्ता नै उसले नयाँ एयरबस ३३०–२२० भित्र्याएको छ । अबको केही दिनभित्रै अर्को एयरबस पनि भित्रिँदै छ । यी दुई विमानबाट निगमले लामो दूरीको अन्तरराष्ट्रिय उडान गर्नका लागि तयारी गरिरहेको छ । अर्कोतर्फ निगमले न्यारो बडी विमान ल्याउने प्रक्रियासमेत शुरू गरिसकेको छ । दुईओटा न्यारो बडी विमान र एउटा बोइङ गरी तीनओटा विमानबाट भारतसहित मध्यम दूरीका विभिन्न आठओटा अन्तरराष्ट्रिय गन्तव्यमा उडान गरिरहेको निगममा वाइड बडी विमान आएपछि उत्साह थपिएको छ । एयरबस सञ्चालन, निगमको ६०औं वर्षको उतार चढाव र भावी योजनाका विषयमा केन्द्रित रहेर निगमका महाप्रबन्धक सुगतरत्न कङ्साकारसँग आर्थिक अभियान राष्ट्रिय दैनिकका टीपी भुसालले गरेको कुराकानीको सार :लामो समयको प्रतीक्षापछि निगमले एयर बस ३३०–२२० ल्याएको छ । अब यो विमान उडाउने विषयमा निगमको योजना के छ ?
पहिलो कुरा त नेपाल वायुसेवा निगमले लामो समयपछि नै वाइड बडी विमान भित्र्याउन सफल भएको छ । यसले निगमकै रणनीति परिवर्तन भएको हो भन्न सकिन्छ । यो कुन मानेमा भने अहिलेसम्म हाम्रो प्राथमिकता मिडल इष्टका देशहरूमा थियो, जहाँ नेपाली श्रमिकहरू बढी जान्थे । कतार, मलेशिया दुबईलगायतका देश छाडेर अहिलेको रणनीति भनेको पर्यटन प्रवद्र्धन हो । अब हामीसँग एयर बस थपिएपछि यसबाट हामीले आफूलाई अन्तरराष्ट्रिय पर्यटन क्षेत्रमा लैजाने अवसर मिलेको छ । अब निगमले विदेशी पर्यटक भित्र्याउनेतर्फ आफ्नो रणनीति केन्द्रित गर्नेछ । तत्कालका लागि दुईओटा मुलुककोरिया र जापान निगमको प्राथमिकतामा छन् । पहिले त्यहाँ उडान गर्छौं । त्यसबाहेक अहिले उडान गरिररहेका आठओटा गन्तव्यमा पनि हामीले उडानहरू थप्छौं । अलि पछि यूरोप र अष्ट्रेलियासम्म पुग्ने हाम्रो लक्ष्य हो । निगम अब त्यो दिशामा अघि बढ्दै छ ।
एउटा विमान आएको एक महीनाभित्र अर्को पनि आउने भन्ने कुरा थियो । अर्को वाइड बडी कहिलेसम्म नेपाल आइपुग्छ ?
अर्को विमान पनि सम्झौतामा उल्लेख भएबमोजिम नै अबको ३ हप्ता अर्थात् २७ जुलाईका दिन नेपाल आइपुग्छ । पहिले आएको विमानका लागि आवश्यकीय काम भइरहेको छ । अर्को आए पनि नियमित रूपमा हामीले अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्नेछौं ।
अहिले आएको र अब केही दिनमा आउने वाइड बडीका लागि पाइलटलगायत अन्य जनशक्तिको कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
पाइलटको विषयमा कुनै समस्या छैन । यी विमान आउने भएपछि निगम २/४ महीनाअघिबाटै सबै प्रक्रिया पूरा गरेर बसेको थियो । पाइलट र इञ्जिनीयर नभएर एयर बस नचल्ने भन्ने अवस्था छैन । यसको हामीले व्यवस्थापन गरिसकेका छौं । विदेशी पाइलटको हकमा नेपाल नागरिक उड्डययन प्राधिकरणसँग अनुमति लिनेदेखि श्रम कार्यालयसँग श्रम अनुमति लिनेसम्मका सबै काम गरिसकेका छौं ।
कुनै पनि मुलुकले नयाँ विमान थप्ने समयमा सबै आफैंसँग भएका पाइलटबाट काम लिन्छु भन्ने कुरा सम्भव नै हुँदैन । केही समयका लागि विदेशी पाइलटको आवश्यकता हुन्छ । हामीकहाँ पनि त्यही हो । विस्तारैविस्तारै आफ्नो क्षमता विस्तार गर्दै आफ्नै पाइलटले चलाउने अवस्था ल्याउने हो । अहिले निगमका न्यारो बडीका एयरबस नेपाली पाइलटहरूले नै उडाइरहेका छन् । यसमा पनि डेढ दुई वर्षमा हामीले आफ्नै पाइलट तयार गरेर उडाउँछौं । यो क्रमिक रूपमा बढाउँदै लैजाने हो । पाइलटको अभावमा विमान चल्दैन कि भने जुन कुरा बाहिर आइरहेको छ, यो सरासर गलत कुरा हो ।
यी सबै प्रक्रिया पूरा गरेर निगमले कहिलेदेखि व्यावसायिक उडान शुरू गर्छ त ?
सम्बन्धित निकायबाट लिनुपर्ने अनुमतिलगायतका सबै काम सकेर यही अगष्ट १ तारीखबाट निगमले आफ्नो व्यावसायिक उडान शुरू गर्छ । पहिलो एयरबसबाट निगमले कतारको दोहा, थाइल्याण्डको बैङ्कक र भारतको बैङ्लोरमा उडान गर्छ । त्यसपछि क्रमशः अन्य गन्तव्यमा पनि जाने हो । तर,अन्तरराष्ट्रिय प्रचलनअनुसार कुनै पनि नयाँ उपकरण आएपछि नयाँ गन्तव्यमा जानुभन्दा पहिले केही समय पुरानै गन्तव्यमा चलाउने गर्दा रहेछन् । यसको कारण ती रूटमा त पहिलेदेखि नै पाइलटहरू गएको हुन्छ । रूटको कुरादेखि आवश्यकीय सबै कुरा थाहा पाइसकेको हुन्छ । अलि अभ्यस्त भएपछि मात्रै नयाँ रूटमा जाँदा सजिलो पनि हुने भयो । पाइलटले नयाँ विमानको ककपिटमा ध्यान दिन पाउने भयो । हामी पनि त्यही अन्तरराष्ट्रिय मान्यतालाई अनुसरण गर्दै शुरूमा पुरानै गन्तव्यमा उडान गर्छौं । अर्को एयरबस आएपछि पनि केही सयम अहिलेका आठओटा गन्तव्यमै उडान गर्छ । त्यसपछि मात्र निगमले कोरिया, जापान र साउदी अरेबियामा उडान गर्ने लक्ष्य लिएको छ ।
निगमले पर्यटक आउने क्षेत्र भनेर यूरोपमा पनि उडान गर्ने योजना त बनायो तर नेपाल अझै यूरोपियन यूनियनको कालो सूचीबाट हट्न सकेको छैन । रूटको विषयमा त समस्या आउला नि ?
अन्य गन्तव्यमा त समस्या नहोला । अहिलेलाई यूरोपको हकमा समस्या नै छ । किनकि उसले नेपाललाई कालो सूचीबाट अझै हटाएको छैन । तर पनि अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाएको र अहिले नेपालले कालो सूचीबाट हटाउने विषयमा पहल गरिरहेकाले सम्भवतः नेपाल चाँडै कालो सूचीबाट हट्ला भन्ने विश्वास हो । त्यसपछि मात्र हामी यूरोप सोच्ने हो ।
अर्को एयरबस आएपछि पनि लामो दूरी उडान गर्नका लागि निगमसँग जम्मा दुईओटा मात्र विमान हुनेछन् । यति धेरै गन्तव्यमा उडान कसरी सम्भव छ ?
यी दुईओटा विमानले मात्र त निगमलाई अष्ट्रेलियासम्म पुग्न पनि गाह्रो पर्छ । अरू थप विमानहरू चाहिन्छ नै । अष्टे«लिया थप्ने हो भने पनि अर्को वाइड बडी र यूरोप जाने हो भने चौथो, पाँचौं विमान चाहिन्छ । अब हामीले यी दुईओटा वाइड बडी उडाएर देखाएपछि क्रमशः थप्दै जान जरुरी छ । जहाँजहाँबाट नेपालमा पर्यटक भित्र्याउन सकिन्छ, ती गन्तव्यमाउडान थप्दै जानुपर्छ । चीन र भारतलाई लक्षित गरी सन् २०१९ को अन्त्यसम्ममा दुईओटा न्यारो बडी ल्याउने निगमको योजना पनि छ । समग्रमा भन्दा हामीसँग भएका विमानको सङ्ख्याले चाहेका सबै गन्तव्यमा उडान गर्न सम्भव छैन, विमान थप्दै जानुपर्छ ।
विमान थप्ने त कुरा त ठीक होला तर यी दुईओटा विमान पनि सरकार जमानी बसेर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट ऋण लिएर ल्याइएको छ । अब सरकारले सधैं सहयोग गर्ला त ?
पहिलो कुरा त सरकारले अहिले बल्ल राष्ट्रिय ध्वजाबाहकको महत्त्व के हुँदो रहेछ भन्ने कुरा बुझेको छ । नेपाल वायुसेवा निगम माथि नआएसम्म, निगमले आफ्ना हाँगाबिँगा नफैलाएसम्म नेपालको पर्यटन क्षेत्र कुनै पनि हालतमा माथि आउँदैन भन्ने कुरा सरकारले बुझेको छ । ५ लाखबाट ६/७ लाख पर्यटक आउने भनेको त प्राकृतिक रूपमै भएको वृद्धि हो । यसले त पुग्दैन । सरकारले सन् २०२० मा २० लाख पर्यटक ल्याउने भनेर पर्यटन वर्ष घोषणा गरिसकेको छ । पर्यटक ल्याउनका लागि त विमान चाहियो । राष्ट्रिय ध्वजाबाहक नभएसम्म पर्यटक आउने कुरा त्यस्तै हो । नेपाल अहिले संसारकै सबैभन्दा महँगो हवाई गन्तव्यका रूपमा परिचित छ । महँगो रकम तिरेर मानिस नेपाल किन आउँछ ? त्यसकारण विमान थप्ने कुरा नेपालको अर्थतन्त्रका साथसाथै ३ करोड नेपालीसँग जोडिएको कुरा हो । अर्को कुरा, संसारभर सबैभन्दा बढी रोजगारी सृजना गर्ने क्षेत्रमा पर्यटन पर्छ । त्यस कारण पर्यटनको विकासका लागि विमान सङ्ख्या थप गर्नुको विकल्प नै छैन । अर्को कुरा, निगमले आफ्नो व्यवस्थापकीय कुशलता देखाउने समय आएको छ । त्यो कुशलता देखाएरै हामी अघि बढ्ने हो । त्यसको विकल्प छैन ।
व्यवस्थापकीय कुशलता रातारात आउने पनि होइन । निगमका कर्मचारीहरूको क्षमताले अन्य विदेशी विमान कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्न चुनौती देख्नु हुन्न ?
अवश्य छ । हाम्रो मुख्य चुनौती भनेकै कर्मचारीको क्षमता अभिवृद्धि गर्दै विदेशी विमान कम्पनीसँग प्रतिस्पर्धा गर्नु हो । त्यो पनि पर्याप्त पूँजी र पर्याप्त विमान भएका कम्पनीहरूसँग । सरकारका ३७ ओटा संस्थानमध्ये निगम मात्र त्यस्तो संस्था हो, जसले अर्बौं डलरको पूँजी र पर्याप्त विमान भएका विभिन्न २६ ओटा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ । यो ठूलो चुनौती नै हो । तर, निगममा कार्यरत १ हजार ४ सय कर्मचारी उच्च आत्मबल र आत्मविश्वासका साथ वाइड बडी चलाउने र आफ्नो कामलाई अन्य कम्पनीको तुलनामा राम्रो बनाउने विषयमा सजग छन् । आत्मबल बलियो हुँदै गएपछि भनेका कामहरू पनि सफल हुँदै जान्छन् । अहिले पनि हामीले उडान गरिरहेका आठओटा अन्तरराष्ट्रिय गन्तव्यमा भारतको बैङ्लोरबाहेक अन्य सबै ठाँउमा प्रतिस्पर्धा गरेकै छौं । हाम्रो अवस्था कतिपयमा केही कम होला तर उनीहरूकै हाराहारीमा सेवा दिइरहेका छौं । वाइड बडी आएपछि पनि हामी त्यसैअनुसार नै काम गर्छौं । जापान, साउदी अरेबियामा हाम्रो एकाधिकार हुन्छ । कोरियामा एउटासँग हामीले प्रतिस्पर्धा गर्नुपर्छ । नयाँ जहाज र सिट सङ्ख्या बढेपछि हामी हरेक चुनौतीलाई चिर्दै अघि बढ्नेछौं ।
छिमेकी मुलुक भारत र चीन सबैभन्दा बढी पर्यटक आउने मुलुकमा पर्दछन् । भारतमा उडानको समस्या नहोला तर चीनमा नेपाली विमानहरूको उडान नै छैन । चीनको हकमा रुटको समस्या हो ?
छिमेकी मुलुकबाट त झन् बढी आउनुपर्छ । त्यसलाई बिर्सने कुरा त भएन नै । जहाँसम्म चीनमा रुटको कुरा छ, ३ वर्षपहिले निगमले ग्वाङ्जाउमा उडान अनुमति माग गरेको थियो । तर, ग्वाङ्जाउ विश्वकै ब्यस्त विमानस्थलमध्ये पर्दो रहेछ । उनीहरूले हामीलाई अनुमति (स्लट) दिन सकेनन् । अहिले साङ्घाई, कुनमिङलगायतका शहरमा पनि चल्न सक्छ भन्ने छ । विमान नभएकै कारण थप पहल भएन । चीनले हाम्रो आकाशमा उडान गर्ने हामीले उसकोमा नपाउने भन्ने नहोला । पहिले विमान र ती रूटमा व्यावसायिक फाइदा हेर्न जरुरी छ । चीनको हकमा चार्टर उडानसम्म गर्न सकिए पनि तत्काल अरू नहोला । भारतमा मुम्बई र बैङ्लोर थपेर तीनओटामा गएका छौं । यसका साथै निगमले अहमदावाद, अमृतसर र कलकत्ता पनि हाम्रो लक्ष्य छ । तर अहिले विमान पुग्दैन ।
अहिले नेपाल सरकारले जापानसँग पनि हवाई सम्झौता गरेको छ । निगमले पनि जापानलाई प्राथमिकतामा राखेको छ । यो सम्झौताबाट निगमले कस्तो फाइदा लिन सक्छ ?
निश्चय पनि जापान र कोरियाबाट नेपालले फाइदा लिन सक्छ । त्यसमा निगमले पनि उडान गन्तव्यका रूपमा रूपमा जापानलाई प्राथमिकतामै राखेको छ । जापान र कोरियामा ठूलो सङ्ख्यामा बौद्धधर्मावलम्बीहरू रहेकाले उनीहरू नेपाल आउन चाहन्छन् । निगमको सीधा उडान हुनेहँुदा त्यसलाई अवसरकै रूपमा लिनुपर्छ । अर्को कुरा, यी दुवै देश नेपाललाई माया गर्ने देश पनि हुन् । जापानमा पहिले ओशाकामा बाहेक अन्यत्र जान नपाउने सम्झौता थियो । तर, अहिले हानिडा विमानस्थलबाहेक अन्य जुनसकै विमानस्थलमा पनि जान सक्ने सम्झौता भएकाले निगमले अहिले टोकियोकै नारिता विमानस्थलमा जाने सोच बनाइरहेको छ ।
निगमको अहिले अन्तरराष्ट्रिय बजार हिस्सा कति छ र अब यी विमान आएपछि हाम्रो बजार हिस्सा कति पुग्छ ?
निगमको आन्तरिक बजार हिस्सा ३ प्रतिशतको हाराहारीमा छ भने अन्तरराष्ट्रिय क्षेत्रमा १० प्रतिशतको हाराहारीमै छौं । दुईओटा एयरबस थपिएपछि निगमको अन्तरराष्ट्रिय बजार हिस्सा १७ देखि १८ प्रतिशतसम्म पुग्छ भन्ने विश्वास हो । वाइड बडी आएपछि निश्चय नै निगमले आफ्नो बजार हिस्सा बढाउँदै जान्छ ।
यो त अन्तरराष्ट्रिय उडानको कुरा भयो, आन्तरिक उडानमा निगम कसरी अगाडि बढ्दै छ । चिनियाँ जहाजका कारण समस्या देखिएको छ ?
चिनियाँ विमान दुई देशका सरकारबीच सम्झौता भएर आएका हुन् । खासगरी भाषा र कतिपय अवस्थामा विमानको पार्टपुर्जाका कारण समस्या आइरहेकै छ । अहिले चारओटै वाई १२ सञ्चालनमा आए पनि दुईओटा एम १६ जहाज पार्टपुर्जाका कारण ग्राउण्डेड भएका छन् । यसको मर्मत गरेर सञ्चालन गर्ने तयारीमा निगम छ । पार्टपुर्जा छिटोछरितो रूपमा उपलब्ध गराउन चिनियाँ पक्षसँग कुरा भएको छ ।
आन्तरिक उडानको हकमा अरू निजी कम्पनीभन्दा निगमको अवस्था कमजोर नै छ । यसलाई विस्तारै बढाउँदै लैजाने रणनीति निगमको छ । निगम सरकारी स्वामित्वको संस्था भएकाले नाफा मात्र नहेरी नागरिको सुविधालाई पनि ध्यान दिनुपर्ने आवश्यकता छ । अहिले आठओटा विमान थप्ने विषय सञ्चालक समितिमा छलफल भइरहेको छ । यसपछि हामीले क्षेत्रीय हबलाई आधार मानेर सेवा दिने सोचमा छौं ।
निगमको सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने कुरा सधैं चर्चामा आइरहन्छ, यस विषयमा किन निर्णय हुन नसकेको हो ?
रणनीतिक साझेदार भित्र्याउने कुरा नेपालको इतिहासमा पहिलो पटक आएको कुरा हो । यो कुनै विशेषज्ञ ल्याएजस्तो नहुने भयो । त्यसैले यसका मोडालिटी र यसका फाइदा बेफाइदा अध्ययन विश्लेषण गर्न जरुरी नै छ । निगम कुनै कम्पनी नभएर संस्थान भएकाले साझेदार भन्नासाथ शेयर दिने कुरा होला । हाम्रो ऐन कानूनले कहाँकहाँ अवरोध गर्छ, त्यसको अध्ययन जरुरी होला ।
निगमसँग भएको बोइङ पनि विक्री गर्ने योजना निगमको थियो, के हुँदै छ त्यसबारेमा ?
बोइङलाई विक्री गर्न आवश्यक प्रक्रिया पूरा गरेर सिङ्गापुरको कम्पनीले अहिले त्यसको मूल्याङ्कन गरिरहेको छ । उसले मूल्याङ्कन गरे पछि हामीले बेच्ने प्रक्रिया अगाडि बढाउँछौं । त्यसका आधारमा हामी लिलाम बढाबढ गर्छौं । जसले बढी मूल्य दिन्छ, उसैलाई दिन्छौं । किनभने निगम एयरबसमा गएकाले एकै खालको विमान भएमा त्यसको व्यवस्थापन र सञ्चालन सजिलो पनि हुन्छ । यो अन्तरराष्ट्रिय प्रचलन पनि हो ।
निगमले भर्खरै मात्र ६०औ वार्षिकोत्सव तथा हीरक जयन्ती मनायो । ६० वर्षको लामो इतिहासलाई यति बेला कसरी स्मरण गर्न सकिन्छ ? निगमका भावी दिन कस्ता होलान् ?
निगम विभिन्न खालका उतारचढाव ब्यहोर्दै यो अवस्थासम्म आइपुगेको छ । तर कुनै बेला निगम दक्षिण एशियाकै उत्कृष्ट एयरलाइन्सको रूपमा गनिन्थ्यो । कुनै समय निगमले आन्तरिक र अन्तरराष्ट्रिय गरी २१ ओटासम्म विमान चलाएको थियो । हिजो यस्तो थियो भन्ने हीनताबोध बोकेर संस्था अगाडि बढ्न सक्दैन । यो नेपालको अर्थतन्त्रसँग जोडिएको विषय पनि हो । यसकै माध्यमबाट मात्र हामीले डलर कमाउँछौं । निगमले अहिले पनि पुरानो दायित्वलाई छोड्ने हो भने सञ्चालन नाफामै छ । यसको भविष्य उज्ज्वल छ भन्ने लाग्छ । नेपाल वायुसेवा निगमलाई माथि ल्याउनैपर्छ ।