ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हतार नगरौं

Jul 13, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
देश जलमग्न छ । ट्रिपर आतङ्क, बाढी, पहिरो, यातायातमा सिण्डिकेटले जन्माएको पीडा आदिले देश शोकमग्न छ । तर, सरकार पनि त्यत्तिकै बसेको छैन । सरकारी कर्मचारीेहरु काममा ब्यस्त छन् । प्रधानमन्त्रीले सबै मन्त्रीलाई बेलाबेलामा काम गर्न आदेश पनि दिइरहन्छन् । मन्त्रीहरुलाई मात्र होइन, विगतमा छरिएर रहेका अहिले प्रम कार्यालयमातहतमा ल्याइएका सम्पत्ति शुद्धीकरण, सुशासन प्रवद्र्धनलगायत दर्जनौं कार्यालयका सबै हाकिमलाई पनि प्रमले राम्रो काम गर्न निर्देशन दिइसकेका छन् । सिण्डिकेटलाई कच्याककुचुक पारेर पूरै तोड्न भनेका छन् । बाटाका खाल्डाखुल्डी पुर्न भनेका छन् । विकास गर्नु र देशको ढुकुटी भर्नु भनेका छन् । मन्त्री र विभागीय हाकिमहरुले पनि ‘हस्’ भनिसकेका छन् । सोअनुरूप मन्त्रीहरुले सचिवहरुलाई काम गर्न निर्देशन दिइसकेका छन् । यसरी मुख्य सचिव, सचिव हुँदै केन्द्रबाट प्रदेश र स्थानीय निकायसम्म काम गर्न निर्देशन पुगिसकेको छ । तर, गनगने जनताले भने कामै भएन भनेर सामाजिक सञ्जालमा गुनासो मात्र गर्छन् बा ! जनता कराएपछि प्रम पनि बाध्य भएर बेलाबेलामा ‘काम गर’ भनेर दोहोर्‍याई–तेहेर्‍याई कुर्लन्छन्, कहिले संसद्बाट, कहिले टीभीबाट, कहिले म्याक बूकबाट इमेलमार्फत । हुन पनि बाटो बनाउनै मात्र पनि थुप्रै निकाय जिम्मेवार छन् । सडक विभाग छ । त्यत्रा महानिर्देशक, निर्देशक, इञ्जिनीयर, सब– इञ्जिनीयर कार्यरत छन् । अहिले त विभिन्न तहमा निर्वाचित जनप्रतिनिधि पनि छन् । तर, अचम्म, देशभरिका सडकका एउटा सानो खाल्डो पनि समयमा पुरिँदैन । किन, के भएर होला भनेर बुझ्दै जाँदा यस्तो रहस्य पो फेला पर्‍यो त । प्रधानमन्त्री, मन्त्री, डीजी आफैं बाटोको खाल्डो पुर्न जाने वा बाटो बनाउन जाने होइन । उनीहरुको काम त आदेश ठोक्ने हो । त्यो ठोकेकै पनि हो । यसरी एवम् रीतले प्रमदेखि आदेश ठोक्दै ठोक्दै तल गाविस सचिवसम्म कुरो पुगेकै पनि हो । तर, खाल्डो पुर्ने काम गर्ने मान्छे जति सबै खाडी र मलेशियाजस्ता मुलुकका खाल्डो पुरेर पहिले उता बनाउने, अलिकति नूनतेल, स्कूल फी आदिको जोहो गर्ने, त्यसपछि मात्र नेपालको बाटो बनाउने र विकास गर्ने भनेर उता लाग्या हुनाले यता कामदारकै समस्याका कारण देशभरिका खाल्डा पुर्ने काम हुन नसकेको रहेछ ।
सडकहरुमा भएका खाल्डाखुल्डी यो सरकारले बनाएको होइन । पहिलेदेखि नै थिए । त्यसैले यो कुरा यो सरकारको चिन्ताको विषय होइन । त्यस्तै, बाढी भन्ने कुरा त नेपालमा मात्र नभई भारतदेखि जापान र संसारका सबै ठाउँमा आइरहन्छ । बाढी वर्षामै आउने कुरा हो ।
हुन त काम गरिहाल्नुपर्ने त्यति हतार पनि देखिँदैन । किनकि यो सरकार पहिलेका सरकारहरुजस्तो ९ महीने पनि होइन । यो त ५ वर्षे हो । अर्थात् ५ वर्षसम्म, त्यसपछि पनि २०औं वर्षसम्म काम गरिरहने हो । त्यसैले अहिल्यै हतारिएर गरिहाल्नुपर्ने कुरो पनि छैन । हतारको काम लतरपतर हुन सक्छ । यो वर्षा सकिन्छ अनि काम शुरु गर्नुपर्छ भन्ने पवित्र सोच सरकारी मान्छेहरुमा देखिन्छ, जुन सोह्रै आना जायज छ । हुन त केही ठाउँमा हिलोमा अलकत्रा छर्ने नवीन प्रयोग भएका पनि छन् । सफल पो भइहाल्छ कि ? त्यस्तै सडक रोपाइँ महोत्सव पनि सम्पन्न भएकै छन् । यी क्रान्तिकारी प्रयोगहरुलाई सँगसँगै लानुपर्ने पनि देखिन्छ । सडकहरुमा भएका खाल्डाखुल्डी यो सरकारले बनाएको होइन । पहिलेदेखि नै थिए । त्यसैले यो कुरा यो सरकारको चिन्ताको विषय होइन । त्यस्तै, बाढी भन्ने कुरा त नेपालमा मात्र नभई भारतदेखि जापान र संसारका सबै ठाउँमा आइरहन्छ । बाढी वर्षामै आउने कुरा हो । अरु बेला खासै आउँदैन । दोस्रो कुरा, मन्त्री, प्रधानमन्त्रीको काम सडक बनाई हिँडने, पानी, बिजुली बाँड्दै हिँडने पनि होइन । त्यो त कर्मचारीले गरिहाल्छन् । अथवा ती आफैं भइरहने काम हुन् । मन्त्री, प्रधानमन्त्रीको काम त सपना देख्ने हो । जस्तै, उद्योगमन्त्रीले उहिल्यै मरेका सरकारी उद्योगहरु जस्तैः जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा आदि ब्यूँताउने सपना देखेका छन् । पर्यटनमन्त्रीले एयरपोर्ट चौबीसै घण्टा चलाउने सपना सुनाएका छन् । तर, यति सपनाले पुगेन । प्रमले देखेजति सपना मन्त्रीहरुले पनि देख्नुपर्‍यो । मन्त्रीले देख्या सपना सचिवले पनि देख्नुपर्‍यो । त्यसो नभएको हुनाले नै देशमा धेरै समस्या आइरहेको हुन सक्छ । सपना देखीदेखीकन देशमा समृद्धि र विकास ल्याउनु परेन ? त्यत्रा ठूला जिम्मेवारी छोडेर सानातिना कुरामा प्रम वा मन्त्रीहरु अल्झिने कुरा पनि हुन्न । अर्को कुरा, योजना बनाएर काम गर्ने हाम्रो परम्परा र संस्कृति पनि होइन । यद्यपि योजना नबनेका भने होइनन् । हाम्रो परम्परा नभएको हुनाले योजना बने पनि ती कार्यान्वयनमा नल्याइएका मात्र हुन् । हाम्रो दक्षता भनेको सङ्कट परेपछि व्यवस्थापन गर्न सक्ने आँट र कुशलता हो । वास्तवमा नेपाली साँच्चै कुशल व्यवस्थापक हुन् । उदाहरणका लागि जब वर्षा लाग्छ, तब मात्र देशभरि डोजर कुद्न थाल्छन् र रातारात सडक पिच बन्छ । जब जाडो शुरु हुन्छ, तब कम्बल र ज्याकेट वितरण शुरु हुन्छ । विदेशीहरु अलिक बढी गर्छन् । उनीहरु ‘बच्चा जन्मिने कहिले, थाङ्ना जुटाउने अहिले’ भनेजसरी हतार गरेर १/२ वर्ष वा त्योभन्दा धेरै पछि गरे हुने काम पहिल्यै सिध्याएर बस्छन् । अनि फुर्सद लिएर घुम्न निस्कन्छन् । तर, हामी नेपाली पहिले घुम्न निस्कन्छौं, अनि अन्तिम अवस्थामा आएर काम सक्छौं । त्यसैले नेपालीलाई उत्कृष्ट बिपत् वा सङ्कट व्यवस्थापकको पुरस्कार कसैले दिए हुने हो । विदेशीहरु नियन्त्रणमुखी पनि छन् । त्यसैले उनीहरु प्राकृतिक बिपत्तिजस्तै भूकम्प, बाढीपहिरोलाई कसरी नियन्त्रण गर्ने भनेर हुनुभन्दा धेरै पहिल्यै योजना बनाउन बेकारमा समय खर्च गर्छन् । तर, हामी चैं निर्वाहमुखी छौं । कम से कम काम गरेर, कम सोचेर हुने कुरामा लाग्छौं । हुन पनि कम खर्च गरेर हुने कुरामा बढी किन गर्नु ? यस्ता कुरा पश्चिमीहरु बुझ्दैनन् क्या ! फेरि वर्षा लागेर पानीमा रुझेर काम गर्नुको मजै बेग्लै हुन्छ । असारे भाका र साउने झरीका गीतहरु त सुन्नुभएकै होला, ती कति मीठा हुन्छन् ? त्यसैले सरकारी कर्मचारी, ठेकेदार, कामदार, सबैका लागि यो मौसम साह्रै प्यारो हुन्छ । किनकि यो असारे मौसममा बालुवा, गिट्टी, ढुङ्गा, छड, सिमेण्टका बोराहरु गन्न साह्रै मजा आउँछ । नम्बरको खेल त रमाइलो पो हुन्छ त । त्यसैले बरु कतार घुम्न जाउँ, तर काममा हतार नगरौं । भनाइ छ नि, हतार गरे भन्न सकिन्न, ढिलो गरे अवश्य पुगिन्छ । हो, त्यही भनेजस्तै बरु आआफ्नो ठाउँबाट सङ्कट परेपछि व्यवस्थापन गर्न सक्ने यो कलाको सम्वर्द्धन गरौं । यो हामी सबैको कर्तव्य पनि हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)