ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सम्पत्ति बीमा निर्देशिका : प्रारम्भिक मस्यौदा तयार

Jul 13, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा कम्पनीहरूले अब अग्नि, ज्वेलरी ब्लक र गार्हस्थ्य बीमालेख जारी गर्न नपाउने भएका छन् । बीमा समितिले तयार पारेको ‘सम्पत्ति बीमा निर्देशिका–२०७५’ को प्रारम्भिक मस्यौदाले यस्तो व्यवस्था गरेको हो । समितिले उक्त निर्देशिका प्रारम्भ भएपछि कम्पनीहरूले अग्नि, ज्वेलरी ब्लक र गार्हस्थ्य बीमालेख जारी गर्न नपाउने बताएको छ । यो निर्देशिका प्रारम्भ भएपछि अग्नि बीमादरसम्बन्धी सामान्य नियमहरू, २०५८ पनि खारेज हुने समितिको भनाइ छ । समितिले निर्जीवन बीमा व्यवसायअन्तर्गत सम्पत्ति बीमालेख स्वीकृत गरेको छ । समितिले उक्त बीमालेखका लागि आवश्यक पर्ने बीमादर निर्धारण गर्न र व्यवस्थित बनाउन बीमा ऐन, २०४९ को दफा ८ अनुसार यो निर्देशिका बनाएको हो । सम्पत्ति बीमालेखले उक्त तीन बीमालेखलाई एकै ठाउँमा प्रतिस्थापन गरेको समितिको भनाइ छ । हाल कम्पनीहरूले विविध सम्पत्तिको बीमा गर्दा छुट्टाछुट्टै बीमालेख जारी गर्दै आएका छन् । सम्पत्ति बीमालेखमार्फत बीमा गर्दा बीमितले सस्तो मूल्यमा धेरै जोखीमको रक्षावरण गर्न सक्ने समितिले बताएको छ । समितिका उपनिर्देशक सुशीलदेव सुवेदीले भने, ‘पहिला कुनै पनि सम्पत्तिको छुट्टाछुट्टै बीमा गर्दा बढी प्रिमियम लाग्थ्यो, अब सस्तोमा धेरै सम्पत्तिको बीमा गर्न सकिन्छ ।’ एउटै बीमालेखमार्फत धेरै सम्पत्तिको बीमा गर्दा कम्पनीको बीमाशुल्क आर्जनमा वृद्धि हुने उनको भनाइ छ । यस्तै, बीमालेखमा जोखीम सङ्केत, दरसङ्केत, बीमाशुल्क दर र बीमाशुल्क स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । निर्देशिकाले बीमालेखमा कुनै पनि प्रकारको छूट, कटौती तथा सहुलियत दिन नपाइने व्यवस्था पनि गरेको छ । यस व्यवस्थाले कम्पनीबीचको प्रतिस्पर्धालाई स्वच्छ र पारदर्शी बनाउने बीमा समितिको अपेक्षा रहेको छ । यसले गर्दा यस व्यवस्थाले आम कम्पनीबीच समधुर सम्बन्ध हुने समितिको भनाइ छ । निर्माणाधीन भवनको बीमा निर्देशिकाले निर्माणाधीन भवनको बीमा गर्ने व्यवस्थालाई थप बलियो बनाएको छ । भवन निर्माणमा प्रयोग गरिने यन्त्र तथा उपकरणको बीमा बीमितको इच्छाअनुसार भवनको बीमासँगै गर्न सकिनेछ । निर्देशिकामा निर्माण प्रारम्भ गर्दाको बीमाङ्क रकमलाई निर्माणको प्रगतिअनुसार वृद्धि गर्दै लैजान सकिने व्यवस्था गरिएको छ । औद्योगिक क्षेत्रमा यस्तो व्यवस्था निर्देशिकाले एउटै उद्योग परिसरभित्र रहेका सम्पूर्ण सम्पत्तिको एउटै बीमादरमा बीमा गर्न मिल्ने व्यवस्था गरिएको छ । साथै, एउटै उद्योग परिसरमा बीमितले एकभन्दा बढी वस्तुहरू उत्पादन गर्छ भने तीमध्ये सबैभन्दा उच्च बीमादर भएको वस्तुको आधारमा बीमालेख जारी गर्न सकिनेछ । उद्योग परिसरभन्दा बाहिर भण्डारण गरिएको वस्तु र सो वस्तु रहेको भवन परिसरसहितको सम्पत्तिको बीमा गर्दा एउटै बीमादर लागू हुने निर्देशिकामा उल्लेख छ । जारी भइसकेको बीमालेख निरन्तर निर्देशिका लागू भएपछि अग्नि बीमालगायत तीन बीमालेख नहुने भए पनि जारी भइसकेको बीमालेखले निरन्तरता पाउने छ । बीमा समितिले जारी भइसकेका बीमालेखलाई बीमा अवधिसम्म मान्यता दिइने बताएको छ । बीमा समितिले आवश्यक प्रक्रिया पु¥याएर शीघ्ररूपमा उक्त निर्देशिका लागू गर्ने बताएको छ । अहिले उक्त निर्देशिका सम्बन्धित निकायसँग छलफलको चरणमा रहेको छ । निर्देेशिका लागू भएपछि निर्जीवन बीमा बजारको विकासका लागि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समितिको विश्वास छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)