असार ३२, काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गर्ने भनेको माइतीघर लगायतको क्षेत्रमा धर्ना, जुलुस गर्न लगाएको प्रतिबन्ध लागू नगर्न सर्वोच्च अदालतले सोमवार अन्तरिम आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलासले सो प्रतिबन्ध लागू नगर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले साउन १ गतेबाट लागू हुनेगरी माइतीघर, सिंहदरबार, बालुवाटार, शीतल निवासलगायतलाई निषेधित क्षेत्र घोषणा गर्दै ति क्षेत्रमा धर्ना, जुलुस, र्यालीलगायतका कार्य गर्न प्रतिबन्ध लगाएको थियो । त्यसरी लगाएको प्रतिबन्ध संविधान विपरित भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले लगाएको निषेधित क्षेत्रमा पनि शान्तिपूर्ण रुपमा धर्ना, जुलुस, र्यालीलगायतका कार्य गर्न पाइने भएको छ ।