ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खुम्चियो मुद्दती निक्षेपको वृद्धि

Jul 19, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । पछिल्लो १ वर्षमा बैङ्किङ प्रणालीमा मुद्दती निक्षेपको वृद्धिदर खुम्चिएको छ । सो अवधिमा मुद्दती निक्षेप थपिने दर ३७ प्रतिशत विन्दुले घटेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष (आव) २०७३/७४ मा ६२ दशमलव ९ प्रतिशत वा रू. ३ खर्ब ६२ अर्बले बढेको मुद्दती निक्षेप गत आव २०७४/७५ मा २५ दशमलव ९ प्रतिशतमा खुम्चिएको छ । गत आवमा बैङ्किङ प्रणालीमा रू. २ खर्ब ४३ अर्ब मात्र मुद्दती निक्षेप थपिएको छ । गत आवमा बैङ्कहरूले निक्षेप आकर्षित गर्न ब्याजदरमा बढाबढ गरे पनि निक्षेपको वृद्धिदरमा भने कमी आएको हो । २०७३ जेठ मसान्तमा रू. ५ खर्ब ७५ अर्ब रहेको मुद्दती निक्षेप २०७४ जेठमा रू. ९ खर्ब ३७ अर्ब पुगेको थियो । यस्तै २०७५ मा आइपुग्दा यस्तो निक्षेप रू. ११ खर्ब ८० अर्ब पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । यद्यपि बैङ्क तथा वित्तीय संस्थामा चल्ती, बचत तथा कल निक्षेपभन्दा आवधिक निक्षेपमा सबैभन्दा बढी रकम सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।

गतवर्ष विप्रेषणको वृद्धिदर घट्नु तथा शोधनान्तर स्थिति घाटामा जानुजस्ता कारणले निक्षेपको वृद्धिदर खुम्चिएको बैङ्करहरू बताउँछन् । एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसीका अनुसार नेपालमा विपे्रषणको वृद्धिदर घट्न थालेपछि निक्षेप सङ्कलनको वृद्धिदरमा समेत कमी आएको हो । यसरी कर्जाको माग बढेको तर निक्षेप सङ्कलन १६ प्रतिशत मात्र वृद्धि हुँदा ब्याजदर आकाशिएको बैङ्करको भनाइ छ । बजारमा निक्षेपको भन्दा कर्जाको वृद्धिदर बढेकाले लगानीयोग्य रकमको समस्या पर्ने गरेको हो । बैङ्क तथा वित्तीय संस्थामा आकर्षक ब्याजदरमा सर्वसाधारणले आफ्नो रकम मुद्दती निक्षेपमा राख्ने गर्छन् । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको सङ्कलन बढाउन प्रतिस्पर्धा नै चल्यो । यसक्रममा यस्तो प्रकृतिको निक्षेपमा १२–१३ प्रतिशतसम्मको आकर्षक ब्याजदर तोकियो । तर, ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा बढेपछि नेपाल बैङ्कर्स सङ्घले दुईपटकसम्म सीमा तोक्यो । मुलुकको अर्थतन्त्रमा आँच आउनेलगायत कारण देखाउँदै सङ्घले एकरूपता ल्याउन पछिल्लो समय ११ प्रतिशतसम्मको मुद्दती निक्षेपको ब्याजदरको सीमा तोक्यो । यस्तो ब्याजदरको उतारचढावले पनि बैङ्कमा स्थिरता नभएको र वृद्धिदरमा कमी आएको बैङ्करहरूको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)