ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिले ओलम्पिक शुरू गरौं

Jul 20, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
जब जब आर्थिक वर्षको अन्त्य हुन्छ, तब तब सरकारले अबौं अर्ब रुपैयाँ बालुवामा खन्याउँछ । केही अर्थात् मार्सी चामलका भात खानेहरु ‘गुड फिल’ गर्छन् । मार्सी खान नपाउनेहरु जिल पर्छन् । सामान्यजन के बुझ्दैनन् भने बालुवामा तरलता नहाल्ने हो भने असार साउनमा जमीन भिज्छ कसरी ? जमीन नभिजे रोपाइँ हुन्छ कसरी ? असार साउनतिर केही मानिस हिलोमा रोपाइँ गर्छन् । उनीहरुलाई त्यसो गर्न नेता र कर्मचारीहरुले सघाउँछन् । त्यस सहयोगबापत उनीहरुले धान र धन्यवाद प्राप्त गर्छन् । अनि मिलेर मार्सी चामलको भात खान्छन् । यसरी नेताहरु हिलोमा धान वा धन रोप्ने यी खेतालाहरुलाई टेवा दिइरहन्छन् र मेवा लिइरहन्छन् । सर्वसाधारण भने यति एउटा सामान्य अर्थराजनीति पनि बुझ्दैनन् । सारभूत रुपमा देश विकास गर्न असारमा नेता र अधिकारवाला सरकारी कर्मचारीले कत्ति मेहनत गरेका हुन्छन्, त्यो सामान्यजन बुझ्दैनन् । आर्थिक वर्षको अन्त्यतिर कुन बजेट शीर्षकमा खर्च नभएको पैसा बाँकी छ भनेर रातभरि टर्चलाइट लिएर हेरेर, अध्ययन गरेर रातारात रकमान्तर गराउन भ्याउनुपर्छ । के यो सजिलो काम हो र ? त्यसपछि झरीमा रुझ्दै सडकहरु खन्ने, पानीका पाइप वा ढलका पाइप बिछ्याउने, शहर गल्लीमा पुराना इँटाहरु भत्काएर नयाँ इँटा ओछ्याउनेजस्ता काम सम्पन्न गर्नुपर्ने हुन्छ । अझ सबैभन्दा कष्टकर त हिलोमा कालोपत्रे गर्नुपर्ने कार्य हुन्छ । संसारका सडक इञ्जिनीयरहरु छक्क पर्दा हुन् कि नेपालीहरु कला, संस्कृतिमा मात्रै धनी नभई हिलोमा विकासको मूल फुटाउन सक्ने क्षमतावान् पो रहेछन् भनेर । यही असारे विकासको नेपाली मोडल हेर्ने भनेर नै हुनुपर्छ विगतका वर्षमा भन्दा यस वर्ष वर्षामा पनि नेपाल भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्या बढेको छ ।
विगतमा केन्द्रबाट सरकारका मन्त्री, कर्मचारीहरुले गर्ने असारे विकास अब हरेक प्रान्त र खासगरी प्रत्येक स्थानीय निकायका मेयर, उपमेयर, वडाध्यक्ष आदिले पनि गर्न पाउने भएका छन् र धेरैले डोजर किनेरै शुरु पनि गरिसकेका छन् ।
वास्तवमा असारे विकासकै कारणले अहिले नेपालका लागि पर्यटनलाई थप प्रवर्द्धन गर्ने ठूलो मौका आएको छ । संसारमा विभिन्न खाले ओलम्पिक खेलहरु हुन्छन् । जस्तै, हिउँदमा विण्टर ओलम्पिक, गर्मीमा समर ओलम्पिक, शारीरिक रूपमा समस्यामा परेकाहरुका लागि पारा ओलम्पिक । अब नेपालले आफ्नै अर्को ओलम्पिक खेल शुरु गर्न सक्छ र त्यो हो हिले ओलम्पिक, जसमा सबै खेल हिलोमा खेलिनेछ । हिलोमा हिले मोटर रेस वा कार र्‍याली गराउन सकिन्छ । हिले ओलम्पिक आयोजनामा खासै खर्च पनि लाग्दैन । किनकि स्टेडियम बनाइरहन परेन । नेपालभरि जुनसुकै सडकमा यो खेल आयोजना गर्न सकिन्छ । काठमाडौंको त झन् कुरै गर्नु परेन । यो खेलमा दर्शकदीर्घा पनि राख्नपर्दैन । किनकि फुटपाथमै उभिएर यो खेल हेर्न मिल्छ । झन् हालसालै अदालतले सडक विस्तार गर्दा मुआब्जा दिएर मात्र गराउनु भनिसकेकाले अब २/४ वर्ष हिले सडक चिल्ले बनिहाल्ने छाँटकाँट पनि देखिँदैन । कार निर्माता र विक्रेताहरुका लागि हिले मोटर रेस आफ्नो व्यापार प्रवर्द्धन गर्ने एउटा ठूलै मौका हुनसक्छ । प्रायः कार निर्माताहरु नयाँ कार बनाएपछि अहिले मरुभूमिमा लगेर टेष्ट ड्राइभ गराउनुपर्ने बाध्यतामा छन् । किनकि उनीहरुसँग हिला सडकहरु छैनन् । तर, उनीहरुका लागि नेपालमा अब हिलोमा पनि टेष्ट ड्राइभ गराउने, हिले रेसमा भाग लिन लगाउने र आफ्नो कारको क्षमता जाँच्ने र ब्राण्ड प्रमोशन गर्ने अवसर आएको छ । उनीहरुलाई त्यो लाभ सित्तैमा लिन किन दिने ? शुल्क ठटाउनु पर्छ । तिर्छन् । खुशीको कुरा यो छ कि सङ्घीयताको कार्यान्वयनसँगै सिंहदरबार गाउँगाउँमा पुगिसकेको छ । विगतमा केन्द्रबाट सरकारका मन्त्री, कर्मचारीहरुले गर्ने असारे विकास अब हरेक प्रान्त र खासगरी प्रत्येक स्थानीय निकायका मेयर, उपमेयर, वडाध्यक्ष आदिले पनि गर्न पाउने भएका छन् र धेरैले डोजर किनेरै शुरु पनि गरिसकेका छन् । यो वर्ष कर्मचारी र बजेट निकासको अन्योलले हिले सडक खन्ने नामको विकास धेरै गर्न नपाए पनि आगामी वर्षदेखि काठमाडौंमा जस्तै वा त्योभन्दा पनि हिले सडक विकास देशका गाउँगाउँ, शहरशहरमा बढ्ने ठोकुवा गर्न सकिन्छ । विकास अझै बढाउने हो भने अबउप्रान्त सरकारले एउटा काम तुरुन्त गर्नुपर्ने देखिन्छ । त्यो भनेको के भने निर्माण कम्पनीहरुलाई मोबिलाइजेशनको रकम २० प्रतिशत बाट बढाएर ८० प्रतिशत बनाई आर्थिक वर्षको शुरुमै वितरण गर्दिनुपर्छ । त्यसो भएमा ठेकेदारहरुले त्यो पैसा समयमै अहिलेझैं अरु क्षेत्र जस्तै : घरजग्गा, सुनचाँदी आदिमा लगानी गर्न सक्छन् । यसले गर्दा अन्य क्षेत्रको पनि विकास साथसाथै हुन थाल्छ । दोस्रो, निर्माण कम्पनीले बुझाउनुपर्ने पार्टी लेबी, कमिशन आदि पनि समयमै बुझाउन सक्छन्, जसले गर्दा काठमाडौंमा थप शिक्षण अस्पताललगायत पूर्वाधारको निर्माण कार्यले गति लिन सक्छ । यति मात्र गर्ने हो भने नेपालले यसै वर्षदेखि काठमाडौं लाजधानी सरी राजधानीमै हिले ओलम्पिक शुरु गर्न सक्छ । आफ्नै जीवनकालमा आफ्नै देशमा ओलम्पिक हेर्न पाउने यो पंक्तिकारलगायत भाग्यमानी सबै नेपाली जनतालाई अग्रिम शुभकामना र बधाई छ है !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)