ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि बीमा तालीम केन्द्र सञ्चालनमा

Jul 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समितिले बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आइतवारदेखि बीमा तालीम केन्द्र सञ्चालन गर्ने भएको छ । समितिले बजारमा सञ्चालित बीमा कम्पनीसँगको सहकार्यमा रू. १ करोडको लगानीमा बीमा तालीम केन्द्र सञ्चालनमा गर्ने भएको हो । समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनाले आइतवारदेखि औपचारिक रूपमा तालीम केन्द्र सञ्चालनमा आउने बताए । उनले भने, ‘समितिमा आएका नयाँ कर्मचारीलाई सेवा प्रवेश तालीम दिएर तालीम केन्द्रको प्रारम्भ गरिने छ ।’ त्यसपछिका दिनमा कम्पनीका कर्मचारी, अभिकर्ता र सर्भेयरलाई क्षमता अभिवृद्धिको तालीम प्रदान गरिने उनको भनाइ छ । उनीहरूलाई बीमाविज्ञ तथा समितिका उच्च पदस्थ व्यक्तिहरूबाट तालीम प्रदान गरिने बताइएको छ । समितिले जेठदेखि नै बीमा तालीम केन्द्र सञ्चालनमा ल्याउने बताएको थियो । तर, प्राविधिक समस्याले तालीम केन्द्र सञ्चालन गर्न केही ढिलाइ भएको समितिले बताएको छ । तालीम केन्द्र सञ्चालन गर्न समितिबाट रू. २२ लाख र ३९ बीमकबाट संयुक्त रूपमा रू. ७८ लाख सङ्कलन गरी रू. १ करोडको बीउ रकम खडा गरिएको छ । समितिले हाल कुपण्डोलस्थित आफ्नै भवनमा तालीम कक्षा सञ्चालन गर्ने बताएको छ । निकट भविष्यमा चावहिलस्थित समितिको भवनमा तालीम केन्द्र सञ्चालन गर्ने तयारी भएको उपनिर्देशक तिमिल्सिनाले बताए । समितिका अनुसार कम्पनीहरूले दिने गरेको तालीम प्रभावकारी नभएपछि विकल्पको रूपमा बीमा तालीम केन्द्रको स्थापना गरिएको हो । कम्पनीले अभिकर्तालाई आकर्षण गर्न तालीममा गलत कुराको प्रचार गर्ने गरेको समितिको भनाइ छ । यस्ता प्रवृत्तिलाई उन्मूलन गर्न केन्द्रबाट गुणस्तरीय तालीम प्रदान गर्ने समितिको योजना रहेको छ । यस तालीमबाट बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन हुने समितिको विश्वास रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)