शरीरबाट निस्कने पसिनाबाट मानिसको तनावको स्तर मापन गर्ने नयाँ प्रविधिको आविष्कार भएको छ । अमेरिकास्थित स्टयाण्डफोर्ड युनिभर्सिटिका वैज्ञानिकहरुले लगाउन मिल्ने वाटरप्रूफ प्याचको विकास गरेका हुन् जसलाई छालामा सिधै राख्दा त्यसले पसिना सोस्ने र केही सेकेण्डभित्रै मानिसको तनावको स्तर पत्ता लगाउँछ । पसिनामा निस्केको कोर्टिसोल (स्ट्रेस हर्मोन) को जाँच गरेर तनावको स्तर पत्ता लगाइने साइन्स एड्भान्स नामक जर्नलको पछिल्लो संस्करणमा छापिएको अध्ययनले बताएको हो । क्लिनकमा गएर कोर्टिसोल टेष्ट गर्दा केही दिन पर्खिएपछि मात्रै त्यसको नतिजा आउँछ, तर यो प्याचको प्रयोगले भने केही सेकेण्डमै मानिसको तनावको स्तर पत्ता लगाइदिने हुँदा थप उपचारमा पनि यसले सहयोग गर्छ ।
प्रयोगकर्ताले प्याचलाई आफ्नो छालामा राख्ने र त्यसमा पसिना सोस्न दिने । त्यसपछि यसलाई उपकरणमा जोडेर त्यसको परिक्षण गरेपछि यसले केही सेकेण्डको समयमै नतिजा दिन्छ । यसले शुरुआती अवस्थामै विभिन्न रोगहरु पहिल्याउन र खेलकुदको प्रदर्शनीको मूल्याङ्कन गर्न पनि सहयोग गर्ने वैज्ञानिक ओनार पार्लाकले बताएका छन् । हाल परिक्षणमा रहेको यो उपकरणले वास्तविक स्वरुप पायो भने घरमै आफ्नो तनावको स्तर नाप्न सकिने अनुसन्धानकर्ताको भनाइ छ । यो सानो उमेरका आफ्नो तनावको स्तरबारे बताउन नसक्ने बच्चाहरु र बोल्न नसक्नेहरुका लागि धेरै उपयोगी हुने देखिन्छ ।
अनुसन्धानकर्ताले आयत आकारको तन्किने खालको सेन्सर विकसित गरेका छन् जो कोर्टिसोलसँग मात्रै जोडिन्छ । यसलाई छालामा टाँसेपछि प्याचमा रहेको प्वालबाट यसले पसिना सोस्छ । यसमा भएको वाटरप्रूफ लेयरले यसलाई संक्रमित हुनबाट बचाउँछ । रासस/पीटीआई