बेलायतको युनिभर्सिटी अफ ससेक्सका प्रध्यापकद्वय जेमी वार्ड र शुआ अलराजीले मानिसको मुहारको चौडाइ, उचाइको अनुपात (एफडब्ल्यूएच) र नेतृत्वदायी प्रवृत्तिबीच सहसम्बन्ध पत्ता लगाउन एक अनुसन्धान गरेका छन् । अनुहारको बायाँ छेउदेखि दायाँ छेउसम्मलाई चौडाइ र माथिल्लो ओठदेखि परेलाको माथिल्लो बिन्दुसम्मलाई उचाइ मानेर चौडाइले उचाइलाई भाग गर्दै एफडब्ल्यूएच मापन गरिन्छ । अध्ययनको निष्कर्षअनुसार संस्थाको नेतृत्व तहमा पुगेका पुरूषको एफडब्ल्यूएचको मान बढी हुन्छ ।
अध्ययनमासहभागीहरुलाई लण्डनको शेयरमूल्य परिसूचक १०० फुटसीमा सूचीकृत कम्पनीका ९३ प्रमुख कार्यकारी अधिकृत (सीईओको फोटो देखाएर उनीहरुका विभिन्न पक्षको मूल्याङ्कन गर्न भनेका थिए । फुट्सी १०० कम्पनीका टप सातओटामा महिला प्रमुख भएकाले ९३ को मात्र मूल्याङ्कन गरिएको थियो ।
सहभागीले पहिले चिनेको व्यक्तिको फोटो पनि हटाइएको थियो । अध्ययनमा ३० जना सहभागीलाई ती सीईओहरुको नेतृत्वदायी गुण, विश्वसनीयता, आक्रामकता, आकर्षण र सफलताको मूल्याङ्कन गर्न लगाइएको थियो । अध्ययनमा कण्ट्रोल ग्रूपका रुपमा वेबसाइटहरुबाट लिएका ९३ ओटै अरु फोटोसमेत प्रयोग गरिएको थियो । उक्त अध्ययनको नतीजामा सीईओको एफडब्ल्यूएच अनुपातको मान कण्ट्रोल ग्रूपको तुलनामा धेरै भएको पाइयो । सो अध्ययनको प्रतिवेदन ‘ब्रिटिश जर्नल अफ साइकोलोजी’को जुन ७ को अङ्कमा प्रकाशित छ ।
प्रध्यापक वार्डले अध्ययनको निष्कर्षका दुईओटा सम्भावित व्याख्या भएको बताएका छन् । एक, एफडब्ल्यूएच कुनै पनि व्यक्तिको नेतृत्वदायी चरित्र झल्काउने विश्वसनीय सङ्केत हो । दुई, संस्थाको नेतृत्व तहमा यस्तै विशेषता बढी भएका मानिसहरु छानिन्छन् । अध्ययनको तथ्यलाई प्रमाणसँग दाँजेर हेर्दा पहिलो सम्भाव्यता बढी रहेको जिकीर उनको छ ।