ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानयोग्य सुन आयात गर्न पाइने

Jul 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । उद्योगले औद्योगिक प्रयोजनका लागि खानयोग्य सुन आयात गर्न पाउने भएका छन् । यसअघि गरगहना विक्री गर्ने प्रयोजनका लागि मात्र वाणिज्य बैङ्कहरूमार्फत सुन आयात हुँदै आएकोमा अब रक्सीजस्ता पेयपदार्थ उत्पादनमा उपयोग हुने खानयोग्य सुनको आयात गर्न राष्ट्र बैङ्कले अनुमति दिएको छ । नेपालमा पनि यस्तो उत्पादनको लागि माग आएपछि केन्द्रीय बैङ्कले सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ मा थप व्यवस्था गरेको हो । यसअघि खानयोग्य सुनको आयात प्रतिबन्धित थियो । उद्योगले वर्षमा अधिकतम १ हजार ५ सय ग्रामसम्म मात्र खानयोग्य सुन बैङ्कमार्पmत आयात गर्न सक्नेछन् । तर औद्योगिक प्रयोजनका लागि यस्तो सुन आयात गर्न उद्योग विभागको स्वीकृति भने लिनुपर्ने छ । यस्तो सुनको मिश्रण गरी तयार गरिने उत्पादनमा सम्बन्धित अन्तःशुल्क कार्यालयको प्रत्यक्ष अनुगमन रहने छ । सो अनुगमन गर्ने शर्तमा परीक्षणको रूपमा त्यस्ता उद्योगले सोझै बैङ्कमार्फत आयात गर्नसक्ने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैङ्कका विदेशी विनिमय व्यवस्थापन विभागका उपनिर्देशक वासु भट्टराईका अनुसार उद्योगहरूले खान मिल्ने सुन मिसावट गर्नैपर्ने कुनै वस्तुमा प्रयोग गरी उत्पादन गर्न पाउनेछन् । खानयोग्य सुन ससाना झिलझिले कागजजस्ता चिप्स हुने उनले जानकारी दिए । ‘यसअघि यस्तो मिसावट भएको पेयपदार्थलगायतका तयारी उत्पादन विदेशबाट आयात गरिन्थ्यो, नेपालमा उत्पादन हुँदैनथ्यो,’ उनले भने, ‘अहिले यस्तो प्रकृतिका उत्पादन गर्न माग गरिएकाले यो व्यवस्था गरिएको हो ।’ यसको लागि आयात गर्ने उद्योगले स्वीकृत स्कीमभित्र परेको बेहोरा खुलेको कागजात पेश गर्नुपर्ने छ । साथैे उत्पादनमा खानयोग्य सुन मिश्रण कार्यमा प्रत्यक्ष अनुगमन हुने सुनिश्चिततासहितको सम्बन्धित अन्तःशुल्क कार्यालयको पत्र पनि हुनुपर्ने छ । सुन आयात, विक्री वितरण एवम् आपूर्तिको अनुगमन तथा समीक्षा गर्न र आवश्यकताअनुसार सो कार्यविधि संशोधनको सिफारिश गर्न अनुगमन संयन्त्र गठन पनि गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा राष्ट्र बैङ्कका निर्देशकसहित सदस्य रहेको अनुगमन संयन्त्र गठन गरिने व्यवस्था भएको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)