ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक निर्माण दस्तुर निर्धारण : पाँचओटा ठूला बस आयातमा दस्तुर मिनाहा

Jul 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ का लागि सडक निर्माण दस्तुर निर्धारण गरिएको छ । पछिल्लो समय सीट क्षमता बढी भएका सार्वजनिक यातायात सञ्चालनलाई प्राथमिकता दिएको अवस्थामा यातायात व्यवस्था विभागले ४० सीट वा त्यसभन्दा बढी क्षमताका कम्तीमा पाँचओटा बस आयात गर्दा सडक निर्माण दस्तुर नलाग्ने व्यवस्था गरेको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । विभागका अनुसार त्यस्तो सुविधा कम्तीमा पाँचओटा बस सार्वजनिक यातायातमा सञ्चालन गर्ने गरी दर्ता भएका सहकारी संस्था तथा कम्पनीले उल्लिखित प्रयोजनका लागि आयात गर्दा पाउने छन् । त्यस्तो दस्तुर बस एवम् तिनका चेसिसमा नलाग्ने बताइएको छ । तर, त्यसरी आयात हुने बस सार्वजनिक यातायातमा सञ्चालन हुने गरी दर्ताचाहिँ भएको हुनुपर्ने छ । विभागले विद्युतीय माध्यमबाट सञ्चालन हुने दुईपाङ्ग्रे सवारीसाधनलाई पनि सडक निर्माण दस्तुरमा ५० प्रतिशत छूट दिने व्यवस्था लागू गरेको छ । सोहीअनुसार १ हजार ५ सय वाटभन्दा कम क्षमता भएकालाई १ सय ५० सीसी रह दस्तुर लाग्नेछ । १ हजार ५ सय १ वाटभन्दा माथिकालाई १ सय ५१ देखि २ सय ५० सीसीसरहको सडक निर्माण दस्तुर छूट दिने व्यवस्था गरेको छ । विद्युत्, सोलार वा ब्याट्रीबाट चल्ने सवारीसाधनमा पनि ५० प्रतिशत छूट हुनेछ । यस्तै अपाङ्ग भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका १ सय ५० सीसीसम्मका स्कूटरमा सडक निर्माण दस्तुर भने लाग्ने छैन । सवारीसाधनको किसिमअनुसार सडक निर्माण दस्तुरमा सीसीका आधारमा लागत मूल्यको क्रमशः ७, ८ र १० प्रतिशत दस्तुर तोकिएको छ । आन्तरिक खरीदको हकमा मूल्य अभिवृद्धि कर (भ्याट)सहितको बीजक मूल्यमा सडक निर्माण दस्तुर लाग्नेछ भने आयातको हकमा भन्सार विन्दुमा तिरेको सम्पूर्ण कर तथा शुल्कसहितको लागत मूल्यमा दस्तुर लाग्नेछ ।

लाइसेन्स आवेदन आइतवारदेखि खुला एक महीनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवेदन आइतवारदेखि खुला गरिने भएको छ । विभागका प्रवक्ता तुलसीराम अर्यालले साउन १३ गतेदेखि ए, के र बी वर्गका सवारीसाधनको लाइसेन्स प्राप्त गर्नका लागि आवेदन खुला गरिने तयारी गरिएको बताए । विभागका अनुसार ‘ए’मा बाइक, ‘के’मा स्कूटर र ‘बी’मा जीप र कार पर्छन् । विभागले विभिन्न कारण देखाउँदै गत असारदेखि लाइसेन्सका लागि आवेदन बन्द गरेको थियो । विभागका एक अधिकारीका अनुसार लाइसेन्सका लागि आवेदन दिए पनि लाइसेन्स नपाउनेको सङ्ख्या ४ लाखभन्दा बढी छ । उनीहरूलाई दशैंसम्ममा लाइसेन्स वितरण गरिसक्ने विभागको योजना छ । अहिले दैनिक ३ हजार ५ सयभन्दा बढी लाइसेन्सको माग छ तर विभागले अहिले दैनिक २ हजार लाइसेन्समात्र छपाइ गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)