नेपाली जनता साह्रै गनगने रैछन् । जहिले पनि सरकारले यो गरेन, त्यो गरेन, विदेशीले यो दिएन त्यो दिएन भनेर गुनासोमाथि गुनासो मात्र गरिरहन्छन् । आफ्नो घरअघिको फोहोरको थुप्रो पनि सरकारले नै उठाइदेओस् भन्ठान्छन् । आफ्ना वरिपरि बिगे्रको बाटो पनि सरकारले नै बनाइदेओस् भन्ठान्छन् । आफू तथा आफ्ना सन्तानलाई रोजगारी पनि सरकारले नै देओस् भन्ठान्छन् । नपाए सरकारलाई नानाथरी गाली गरिरहन्छन् । जे कुरा पनि सकारले नै गर्देओस् भन्छन् र सधैं पाएनौं मात्र भनिरहन्छन् । आफू भने सरकारलाई केही दिन चाहँदैनन् ।
सरकारले यसो २/४ हजार कर के बढायो भने नेता, मन्त्रीका धूँवाधार विरोध शुरु गरिहाल्छन् । कर नउठाउने हो भने सरकार कसरी चलाउने ? बारीमा तरकारी कसरी फलाउने ? मन्त्री, नेताहरुसँग त श्रीमतीका नाममा भएका त्यै २०/५० तोला सुन र केही सय बिगाहा जग्गा जमीनबाहेक आफ्नै सम्पत्ति त के छ र ? जनताले योगदान नदिने हो भने नेताजीहरु, जसले शहीदको जीवन बाजी राखेर जनतालाई स्वतन्त्रता दिलाए, दुःखबिमार पर्दा वर्षको २/४ पटक यसो विदेश गएर उपचार गर्न कसरी जाने ? अनि देश विकाश कसरी गर्ने ?
जनता आफूले अहिलेसम्म पाएका कुराहरु बिर्सन्छन् जस्तो छ । त्यसैले थप सेवासुविधा पाउनु पर्यो भनेर बारम्बार कराइरहन्छन् । त्यसो भने जनताले के पाए भनेर सोध्नुहोला । पहिलो कुरा त नेपाली जनताले नेतैनेता पाए । २/४ दशकअघि देशमा नेताको कति खडेरी थियो । अहिले त सरकारमा नेता, सडकमा नेता, देशैभरि नेतैनेता छन् । नेता नहुँदा कति गाह्रो थियो । अहिले त जनतालाई केही भन्नु पर्यो भने सीधै नेताका महलहरुमा गएर आफ्ना दुःख, पीर, मर्का सुनाउन सक्छन् । कहिलेकाहीँ नेताका पजेरोमा जनताले लिफ्ट पनि पाउँछन् । सोचौं त नेताहरु नभा भए हरेक नेपालीका यत्तिका पीरमर्का कहाँ गएर पोख्थे होला ? अहिलेसम्म दुःखको समुद्र नै बनिसक्थ्यो होला, नेतालाई जनताले आफ्ना दुःख सुनाउन नपाको भए ।
स्कुल पुगेकाहरु पनि जनताकै खातिर बीचमै पढाइ छाडेर हिँड्नु पर्यो । चप्पल पड्काएर, बन्दूक छड्काएर, जङ्गल–जङ्गल भौंतारिनु पर्यो । के मात्रै गरेनन् नेताले जनताका लागि ? तैपनि जनता गुनासो गर्न छाड्दैनन् बा ।
नेपाली जनतालाई नेताहरुले नयाँ संविधान दिए, धर्म निरपेक्षता दिए । निजीक्षेत्रका कतिपय व्यापारीलाई समानुपातिकमा सभासद्को उपहार दिए । अब नेताले जनतालाई धारामा पानी, बाटोमा रेल, खोलामा पानीजहाज, हातहातमा वृद्धभत्ता दिने भनिसकेका छन् । अझ जनतालाई सिङ्गै विकासै दिने उद्घोष गरिसकेकै छन् । आयात गरेरै भए पनि घरघरमा बिजुली पुर्याएकै छन् । त्यतिले नपुगेर गाउँगाउँमा सिंहदरबारै सारिदिएका छन् । त्योभन्दा बढी जनताका लागि के नै गर्ने हो र ?
जनताका लागि भनेर नेताहरुले रातदिन खटे । धेरै नेता स्कुलसम्म जान पाएनन् । स्कुल पुगेकाहरु पनि जनताकै खातिर बीचमै पढाइ छाडेर हिँड्नु पर्यो । चप्पल पड्काएर, बन्दूक छड्काएर, जङ्गल–जङ्गल भौंतारिनु पर्यो । के मात्रै गरेनन् नेताले जनताका लागि ? तैपनि जनता गुनासो गर्न छाड्दैनन् बा । जनताले नेताका गुन कहिल्यै देख्दैनन् जस्तो पो छ । जनताहरु कर बढाएको सानो कुरामा सरकारको विरोध गर्छन् । कर नबढाए देश विकास केले गर्ने ? सधैं विदेशीबाट पैसा लिएर मात्र कति विकास गर्ने हो र ?
त्यसैले जनता अब ज्ञानी हुनु जरुरी छ । नागरिकका प्रत्येक गतिविधिमा सङ्घीय, प्रदेश र स्थानीय सबै सरकारहरुलाई अतिरिक्त कर लगाउने छुट दिनुपर्छ । जस्तै : हाँसेको कर, नाचेको कर, रोएको, धोएको, बोकेको, खोकेको, सास फेरेकोलगायत हरेक गतिविधिमा कर लगाउन दिनुपर्छ । यसमा प्रदेश नम्बर २ को स्थानीय सरकारको कदम साह्रै सराहनीय छ । उसले साइकलको मालिक बनेबापत कर लगाउन शुरु गरेको छ । मोटरसाइकल र कार मालिकलाई मात्र कर लिनुपर्छ भनेर संविधानमा लेख्या छ र ? त्यस्तै विद्यमान कतिपय करका दरहरुमा क्रान्तिकारी छलाङ मार्न दिनुपर्छ । जस्तै : मृत्यु भएको प्रमाणपत्र लिँदा पहिले रु. ५० थियो क्यारे । अहिलेको नयाँ सरकारले त्यसलाई रु. १ हजार पुर्याएको छ । अब त्यसैगरी आयकर पनि विद्यमान ३५ प्रतिशतबाट बढाएर विकसित देशहरुमा जस्तै ६० वा ७० प्रतिशत पुर्याउनुपर्छ । अनि पो हुन्छ त देश विकास । त्यसै विकास गरेन भनेर सकारलाई गाली मात्र गरेर हुन्छ ? गालीबाट ताली त आउला, तर विकास आउँदैन । त्यसैले सरकारको गतिविधिलाई लिएर विरोध गर्न छाडौं । आजैदेखि सरकारले गर्ने हरेक कामको समर्थनमा जुलुस निकाल्न शुरु गरौं ।